५६ औं वर्षमा राष्ट्रिय वाणिज्य बैंक, आधुनिक डिजिटल प्रविधिलाई प्रभावकारी बनाउन आग्रह

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५५ औं वर्ष पुरा गरी ५६ औं वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवका अवसरमा शनिबार भर्चुअल माध्यमबाट आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विश्वसनीय र ग्राहकमैत्री सेवा प्रवाह महत्वपूर्ण हुने भन्दै आधुनिक डिजिटल प्रविधिलाई अझ प्रभावकारी बनाउन जोड दिनुभयो ।

राष्ट्रिय वाणिज्य बैंकप्रति आम नागरिकको भरोसा, विश्वास रहेको भन्दै उहाँले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ सेवाले आम नागरिकमा लाभ पुग्ने गरी ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बैंकले सञ्चालनमा ल्याएका पाँचवटा शाखा कार्यालय र पाँचवटा एक्टेन्सन काउन्टरहरुको एकसाथ भर्चुअल माध्यमबाटै समुद्घाटन गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा धेरै कदमहरु चालिएकाले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको बताउनुभयो ।

बैंक सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले निक्षेपकर्ता र आम नागरिकको हितमा रही सामाजिक बैंकिङ सहितको ग्राहकमैत्री सेवामा बैंकले जोड दिइरहेको बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै बैंकले डिजिटल सेवालाई जोड दिइरहेको बताउनुभयो । उहाँले २०७७ पुस मसान्तसम्म बैंकले दुई खर्ब ४२ अर्ब रुपियाँ निक्षेप संकलन गरी एक खर्ब ७५ अर्ब रुपियाँ कर्जा लगानी गरेको बताउनुभयो ।

आज भन्दा ५६ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु-याउने उद्देश्यका साथ स्थापना भएको रावा बैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक हो ।

हाल देशभर बैंकका २४५ वटा शाखा कार्यालय, २०५ वटा एटीएम, ३८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।

कार्यक्रममा बैंकको ५६ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क उपहार–२०७७ तथा अनलाइन बैंकिङ खाताको भर्चुअल माध्यमबाट विमोचन तथा शुभारम्भ गरिएको थियो ।

सो अवसरमा बैंकको सर्वोत्कृष्ट उत्कुष्ट कार्य सम्पादन गर्ने शाखा कार्यालयहरुको नाम घोषणा, सर्वोत्कृष्ट उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी घोषणा, बैंकका २० वर्ष सेवा पुरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक घोषणा गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमका १७१ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । भर्चुलअ माध्यमबाट सञ्चालन गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक सञ्चालक समितिका सदस्यहरु, रा.वा.बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीे, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, बैंककी ब्राण्ड एम्बासडर एवं मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ, बैंकका प्रादेशिक प्रबन्धक, सम्पूर्ण शाखा कार्यालयका प्रबन्धकलगायत बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


SHARE THIS