सेयर बजारमा परिसूचक, कारोबार रकम र बजार पुँजीकरणमा एतिहासिक कीर्तिमान

काठमाडौं । रेकर्ड नै रेकर्ड कायम गरिरहेको सेयर बजारले साताको पहिलो दिन एकैसाथ सेयर बजारमा परिसूचक, कारोबार रकम र बजार पुँजीकरणमा ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।

शेयर बजार परिसूचक मापक नेप्से बढेर ऐतिहासिक उचाइमा पुगेर कारोबार रकममा समेत रेकर्ड तोडिँदा आइतबार एकैदिन एक दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

२४२४ सयको विन्दुमाथि लागेको साताको पहिलो कारोबार दिनको नेप्से परिसूचकसँगै कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको हो । अहिलेसम्मकै उच्च भोल्यूम सहित अलटाइम हाइ विन्दुमा पुगेको आइतबार नेप्से परिसूचक ५०.२० अर्थात २.११ प्रतिशत बढेर २४२४.८४ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बन्द विन्दु  हो ।

हालसम्मकै उच्च रकमको कारोबार भएको पहिलो कारोबारी दिन २०७ कम्पनीको ७९ हजार ४९८ पटकको कारोबारमा नौ अर्ब ३७ करोड ६० लाख ५३ हजार रुपियाँ बराबरको एक करोड ९३ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस अघि गत मङ्सिर १४ गते नेप्सेमा सर्वाधिक नौ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

पहिलो दिन सेन्सेटिभ इण्डेक्स ६.४७ अंक बढेर ४५२.०६ विन्दुमा पुगेको छ भने फ्लोट इण्डेक्स २.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३ अंक बढेको छ ।

आइतबार कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको ६६ करोड ८२ लाख रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

पहिलो दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.६९ प्रतिशत बढेको हो । गत साता सर्वाधिक बढेको व्यापार उपसमूहको परिसूचक भने यस दिन २.४७ प्रतिशत घटेको छ ।

नेप्सेले नयाँ उचाई कायम गरेसँगै एक दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा आएको पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, मिथिला लघुवित्त र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ । त्यसैगरी, गुराँस लघुवित्त, नागरिक लगानी कोष लगायतका कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यता नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।


SHARE THIS