अन्तरबैंक एटीएम माघदेखि शुल्क लाग्ने, मासिक दुई कारोबार निःशुल्क

काठमाडौं । अब एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । मासिक दुई वटा अन्तरबैंक एटीएम कारोबारको शुल्क नलाग्ने भएको छ भने सो भन्दा बढीको कारोबारमा शुल्क लिन पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

कोरोना महामारीयता निःशुल्क गरिएको अन्तर बैंक एटीएम कारोबार माघदेखि सशुल्क हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानी प्रणाली सम्बन्धी निर्देशन जारी गर्दै आगामी माघ १ गतेदेखि एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेको एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंकको एटीएममा न्यूनतम दुुई वटा कारोबार निशुुल्क गर्ने गर्न सकिने व्यवस्था गरेको छ ।

भुक्तानी प्रणाली विभागका अनुसार दुई वटाभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रतिकारोबार बढीमा २० रुपियाँसम्म शुल्क लिन सक्ने भएका छन् ।

कोरोना संक्रमण शुरु भएयता बैंक तथा वित्तीय संस्थाहरुले अन्तर बैंक एटीएम सेवा निशुल्क प्रदान गर्दै आएका थिए ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धीत ग्राहकको पूर्व जानकारी गराएर मात्र विद्युतीय बैंकिङ सेवा वापतको शुल्क लिन सक्ने भएका छन् ।

भुक्तानी प्रणाली विभागका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धीत ग्राहकको पूर्व जानकारी गराएर मात्र इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्क लिन पाउने भएका हुुन ।

बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय कारोबारको सुुरक्षाको पर्याप्त प्रबन्ध मिलाई ग्राहकहरुलाई मोबाइल, इन्टरनेट, एसएमएस, बैंकिङ सेवाको युजरनेम र पासवर्ड हराएमा आफै प्राप्त गरी सेवा पुनः सुचारु गर्न निर्देशनमा उल्लेख छ ।


SHARE THIS