नयाँ नयाँ रेकर्ड ब्रेक गर्दै सेयर बजार, १८ सयको विन्दु नजिक पुग्यो परिसूचक

काठमाडौं । नयाँ नयाँ रेकर्ड ब्रेक गर्दै उकालो लागेको सेयर बजारले आइतबार कारोबार रकम र कित्तामा पनि नयाँ रेकर्ड कायम गरेको छ । पहिलो कारोबारी दिन एक करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर कारोबार भएको हो । बिहीबार एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर कारोबार भएकोमा सो रेकर्डलाई समेत आइतबारको बजारले तोडेर नयाँ रेकर्ड बनाएको हो ।

शेयर बजारमा आइतबार नेप्सेमा हालसम्मकै उच्च कारोबार भएको छ । कारोबार रकममा मात्र होइन कारोबार कित्ता र बजार पूँजीकरणमा पनि आज नयाँ रेकर्ड कायम भएको छ ।

सेयर बजारले कारोबार रकममा दोस्रो पटक रेकर्ड ब्रेक गरेको हो । अघिल्लो साताको अन्तिम दिन छ अर्ब रुपियाँ माथि कारोबार भएको सेयर बजारमा यो साताको पहिलो दिनमै नयाँ रेकर्ड कायम भएको छ । पहिलो दिनको सेयर बजारमा कारोबार रकम झण्डै सात अर्ब रुपियाँ पुगेको हो ।

सेयर बजारमा आइतबार दिनभर कारोबारमा आएका कुल २०१ कम्पनीहरुको एक करोड ६० लाख ३४ हजार ७१७  कित्ता सेयर ६३ हजार ५७० पटक खरिदबिक्री हुँदा छ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ रुपियाँ बराबरको कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ७९ अर्बले बढी हो ।

अन्तिम कारोबार दिन बिहीबारको बजारमा १९८ वटा कम्पनीको एक करोड ४० लाख कित्ता सेयर छ अर्ब ११ करोड ६७ लाख रुपियाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

निरन्तर सुधारोन्मुख रहेको सेयर बजार मापक नेप्से परिसूचकले पनि १८ सयको विन्दु पछ्याएको छ । आइतबार नेप्से परिसूचक ४.६९ अंकले उकालो लाग्दा नेप्से १७८२.८१ को विन्दुमा पुगेर अडिएको छ भने सेन्सेटिभ इन्डेक्स पनि २ अंकले उकालो लाग्दा ३४५.०७ को विन्दुमा पुगेर अडिएको छ । समग्रमा पहिलो दिनकोे नेप्से ०.२६ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.५८ प्रतिशतले उकालो लागेको छ । अघिल्लो दिन नेप्से सूचक २.०८ प्रतिशत अर्थात ३६.३२ अंकले उकालो लागेर १७७८.१२ विन्दुमा पुगेर अडिएको थियो ।



पछिल्लो समय सेयर बजारमा कारोबार रकम र परिसूचक दुबै उकालो लाग्ने क्रममा पनि लगानीकर्तालाई तान्न नसकेको बैंकिङ समूहमा आइतबार भने बढोत्तरी भएको छ । पहिलो कारोबार दिन आइतबार बैंकिङ समुहमा लगानीकर्ताको आकर्षण बढेको छ । कुल १२ उपसमुहको कारोबार भएकोमा बैंक, विकास बैंक र अन्य समूहको सूचक उकालो लागेकोमा अन्य सबै सूचक ओरालो लागेका छन् । आइतबार बैंकिङ समूह सर्वाधिक २९.४४ अंकले उकालो लागेको छ भने विकास बैंक १३.४६ र अन्य समूह १.३५ अंकले उकालो लागेको छ । यता जीवन बीमा समूह सर्वाधिक २७८.८१ अंकले ओरालो लागेको छ भने निर्जीवन बीमा २४३.१४, ट्रेडिङ १२४.७७, उत्पादन र प्रशोधन ८९.२९, होटल ८४.४९, हाइड्रोपावर २१.४३, माइक्रोफाइनान्स ४.८८, फाइनान्स ४.१७, म्युचुअल फण्ड ०.२७ अंकले ओरालो लागेका छन् ।

सिटिजन म्युचुअल फण्डको इकाइमुल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको आइतबार जानकी फाइनान्सको सेयरमूल्य ९.२१ प्रतिशत, प्रभु बैंकको ६.७१ प्रतिशत, नविल बैंकको ६.६३ प्रतिशत र अजोड इन्स्योरेन्सको ४.८० प्रतिशतले बढेको छ ।

माउन्टेन हाइड्रोको सेयरमूल्य सबैभन्दा धेरै ८.९३ प्रतिशतले ओरालो लागेको पहिलो दिन साल्ट ट्रेडिङ कर्पोरेशनको ६.०९ प्रतिशत, पोखरा फाइनान्सको ६.०७ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ५.५२ प्रतिशतले ओरालो लागेको छ ।



आइतबार कारोबारमा आएका ९८ वटा कम्पनीको सेयरमूल्य ओरालो लागेको छ भने ६२ वटाको बढेको छ । १२ वटा कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन् ।

आइतबार ५७ करोड ९१ लाख रुपियाँ बराबरको सेयर कारोबार भएर नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा धेरै कारोबार गर्नेको सूचीमा अगाडि रहेको छ भने नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ५६ लाख, नेपाल दुरसञ्चार कम्पनीको २७ करोड ५५ लाख र हिमालयन डिस्टिलरीको २६ करोड ५३ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

बैंकमा बचतको ब्याजदर दुई प्रतिशतमा झर्दा कोरोना संक्रमणका कारण लगानीकका अन्य क्षेत्रमा आएको संकुचनले पनि शेयर बजारमा पैसा थुपार्ने प्रवृत्ति बढेको छ । अन्य क्षेत्रमा आएको पैसाका कारण तथा लगानीकर्तामा खरिदबिक्रीमा देखिएको अत्याधिक उत्साहले यसअघिको उच्चतम बिन्दु १८८१ तोड्ने आंकलन गरिँदैछ । उच्च बिन्दुमा समेत लगानीकर्ताहरुले खरीद चाप बढाइरहेका छन् ।

बैंकिङ प्रणालीमा लगानीयोग्य प्रयाप्त तरलता रकम रहेकाले अल्पकालीन लगानीकर्ताले प्रोफिट बुक गरेर ९ उपसमूहका सूचक घट्दा पनि शेयर बजारका सूचकले भने टेवा पाइरहेको छ । बढ्दो बजारमा एउटा समूहबाट नाफा बुक गरी अर्को समूहतिर सर्ने प्रवृत्ति पनि बजारमा देखिएको छ । सर्वसाधारणसँगै संस्थागत लगानीकर्ताहरुको आकर्षण बढ्दा कारोबार पनि बढ्न थालेको हो ।

यद्यपी मनि पार्किङ गर्न शेयर बजार भित्रिएका लगानीकर्ताले शेयर बजारबाट बाहिरिएको खण्डमा भने सूचक बढेसँगै शेयर बजारमा जोखिम पनि बढेको छ ।


SHARE THIS