कोरोना संक्रमणले अर्थतन्त्र खल्बलिए पनि मुलुकमा भित्रने रेमिट्यान्समा उच्च सुधार

काठमाडौँ । विगत नौ महिनादेखि कोरोना संक्रमणले गर्दा अर्थतन्त्र खल्बलिए पनि मुलुकमा भित्रने रेमिट्यान्समा उच्च सुधार आएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७७/७८ को तीन महिनाको तथ्याङ्क अनुसार तीन महिनामा रेमिट्यान्स आप्रवाह १२.६ प्रतिशतले बृद्धि भई २५८ अर्ब ८६ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले बृद्धि भई दुई अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेकोे थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.९ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर १०.२ प्रतिशतले बृद्धि भई २८६ अर्ब ९१ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले घटेकोे थियो ।

आन्तरिक कर्जा २.८ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कुल आन्तरिक कर्जा २.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा २.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ असोज मसान्तमा यस्तो कर्जा १४.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.४ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ असोज मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १२.४ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालन ४.९ प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २०.९ प्रतिशतले बढेको छ ।

२०७७ असोजमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ९.१ प्रतिशत, ३२.८ प्रतिशत र ४९.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ३३ प्रतिशत र ४७.८ प्रतिशत रहेको थियो ।

२०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३.२ प्रतिशत रहेको छ । २०७६ असोज मसान्तमा यस्तो निक्षेपको अंश ४४.८ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह चार प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पनि चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ११.७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह चार प्रतिशतले र विकास बैंकहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ०.५ प्रतिशतले घटेको छ ।

२०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.४ प्रतिशत र १३.७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा छ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा एक प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३.९ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ३.७ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ९.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.६ प्रतिशतले र मार्जिन प्रकृति कर्जा १७.८ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६.६ प्रतिशतले र हायर पर्चेज कर्जा २.७ प्रतिशतले घटेको छ ।

बचतमा चालु खाता

समीक्षा अवधिमा चालु खाता रु.३४ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ४७ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोड ८२ लाखले बचतमा रहेको छ ।

पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई तीन अर्ब ५६ करोड रुपियाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई दुई अर्ब ९२ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर तीन अर्ब ६८ करोड रुपियाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ९९ करोड रुपियाँ रहेको थियो ।

यस्तै शोधनान्तर स्थिति १०१ अर्ब नौ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१४ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १२ करोड ७८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको छ ।

सञ्चिति ७.८ प्रतिशतले बढ्यो

२०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.९ प्रतिशतले बृद्धि भई २०७७ असोज मसान्तमा १४७० अर्ब २६ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ असोज मसान्तमा ७.८ प्रतिशतले बृद्धि भई १२ अर्ब ५५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा २०७७ असोज मसान्तमा ५.१ प्रतिशतले बृद्धि भई १२८८ अर्ब ५५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा २०७७ असोज मसान्तमा ३.४ प्रतिशतले बृद्धि भई १८१ अर्ब ७१ करोड पुगेको छ । २०७७ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।


SHARE THIS