अमेरिकाको नयाँ राष्ट्रपतिका लागि जो बाइडेनको पल्लाभारी हुँदै, ट्रम्पको सम्भावना ट-यो

काठमाडौं । अन्तत शक्ति सम्पन्न राष्ट्र अमेरिकामा जारी मतगणनाबाट अबको राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदबार जो बाइडेनको पल्लाभारी हुँदै गएको छ ।

पछिल्लो नतिजाको विश्लेषण गर्दा अमेरिकामा अबको राष्ट्रपति बाइडेन हुने निश्चित भएको छ भने बहालवाला राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको सम्भावना टरेको छ ।

डोनाल्ड ट्रम्पको प्रभाव मानिएको पेन्सलभेनिया राज्यमा नै बाइडेनले अग्रता लिएपछि ट्रम्पको सम्भावना लगभग सकिएको छ । २० इलेक्टोरल मत रहेको पेन्सलभेनियामा बाइडेनले हाल पाँच हजार छ सय मतको अग्रता लिएका हुन् ।

यस्तै गणना जारी रहेका जर्जिया, एरिजोना र नेभाडा राज्यमा पनि बाइडेनको अग्रता कायमै छ भने  हाल नर्थ क्यारोलाइनामा मात्र ट्रम्प अगाडि छन् ।

हुलाकमार्फत पोष्ट गरिएका भोट गणना सुरु भएपछि जर्जिया र पेन्सिलभेनियामा वाइडेनले अग्रता लिएका हुन् । नतिजा हेर्दा उनलाई ठूलो अन्तरमा निर्वाचन जित्न मद्दत पनि पु¥याएको छ ।

अमेरिकामा राष्ट्रपति हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ । हालसम्मको नतिजा अनुसार बाइडेनले २६४ इलेक्टोरल भोट प्राप्त गरेका छन् भने ट्रम्पले २१४ भोट । बाइडेनलाई राष्ट्रपति निर्वाचित हुन मात्र छ इलेक्टोरल मत आवश्यक छ ।

बाइडेनले पहिला देखिनै अग्रता लिइरहेका एरिजोना र नेभेडामा मात्रै विजय हासिल गर्दा पनि २७० इलेक्टोरल भोट पु¥याएर राष्ट्रपति हुनसक्ने अवस्था थियो तर, उनले जर्जिया र पेन्सिलभेनियामा पनि अग्रता लिए पछि विजयको अन्तर निकै फराकिलो हुने अवस्था सिर्जना भएको छ ।

बाइडेनले अग्रता लिइरहेका सबै राज्यमा विजय प्राप्त गर्दा उनको इलेक्टोरल मत ३०६ पुग्ने देखिएको छ ट्रम्पले अहिले अग्रता लिइरहेका नर्थ क्यारोलिना र अलास्कामा विजय गर्दा २३२ मा सीमित हुनेछन् ।

राष्ट्रपति ट्रम्पले विहीबार आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालत गएर भएपनि यो निर्णय उल्टाउने बताएका थिए तर पेन्सिलभेनिया र जर्जियामा पनि हारे ट्रम्प थप कदम नउठाउने मुडमा रहेको विश्लेषण गर्न थालिएको छ ।

हुलाकमार्फत आएका मतहरु बढी डेमोक्रेटिक पार्टीका भएकोले अहिले अग्रता लिइरहेका ठाउँहरुमा वाइडेन हार्ने सम्भावना पनि न्यून छ । तथापि पेन्सिलभेनियामा एक लाखभन्दा बढी मत गणना बाँकी नै छ ।

जर्जियामा बाइडेन १०९७ मतले अगाडि छन् । १६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएका थिए । तर, यसपटक नतिजा फरक देखियो ।

जर्जियाको विजयलाई डेमोक्रेटिक पार्टीहरुले निकै ठूलो उपलब्धिको रुपमा लिएका छन् जहां विल क्लिन्टनपछि डेमोक्रेटिक उम्मेदबारले जित हासिल गरेका थिएनन् ।

यो निर्वाचनमार्फत जो वाइडेनले अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गर्ने भएका छन् भने पहिलो पटक अश्वेत महिलालाई उपराष्ट्रपति बनाएर इतिहास रच्ने भएका छन् ।

यता राष्ट्रपति डोनल्ड ट्रम्पको निर्वाचन अभियान समूहले विज्ञप्ति प्रकाशित गरेर निर्वाचन समाप्त नभएको बताएको छ ।

जो बाइडन बिजेता भएको प्रक्षेपण चार राज्यमा अन्तिम नभएको नतिजामा आधारित भएको  अभियानका वकिल म्याट मोर्गनले बताएका छन् ।

मोर्गनले बिनाप्रमाण जोर्जिआमा मतपत्रहरू ‘गलत तरिकाले ल्याइएको’ र पेन्सिल्भेनियामा पर्यवेक्षणहरूलाई ‘अर्थपूर्ण पहुँच’ नदिइएको दाबी गरेका छन् । मोर्गनले सञ्चारमाध्यमले आएको एरिजोनामा बाइडनले जित्ने प्रक्षेपणको खण्डन गर्दै नेभाडामा गलत रूपमा हजारौँ मतदान गरिएको दाबी गरेका छन् ।


SHARE THIS