एउटा किसानको जिविकोपार्जन कृषिबाट नभएसम्म कृषिको दिगो विकास हुँदैन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले किसानको सुनिश्चित बचत नभएसम्म कृषिको दिगो विकास नहुने बताउनुभएको छ ।

कृषि मन्त्रालय अन्तरर्गतका कृषि विभाग र खाद्यका लागि कृषि अभियानले आइतबार संयुक्त रुपमा आयोजना गरेको ४० औं विश्व खाद्य दिवसको कार्यक्रममा मन्त्री भुसालले एउटा किसानको जिविकोपार्जन कृषिबाट नभएसम्म कृषिको दिगो विकास नहुने बताउनुभयो ।

‘बचतको अर्थ किसानलाई धेरै फाइदा दिनुपर्छ भनेको होइन तर उसको जीवनधान्न सक्ने हुनुपर्छ,’ मन्त्री भुसालले भन्नुभयो, ‘कृषिले उसको जीवन धानेर भने उसले कृषि पेशा छोड्छ र अन्यत्र मोडिन्छ । यसले कृषि पेशा सुनिश्चित हुँदैन ।’

खाद्य दिवस मनाइरहँदा विश्वका अर्बो मानिसहरू किन खाद्य संकटको वरिपरी रहेका छन् भन्ने कृरा विर्सन नहुने मन्त्री भुसालले बताउनुभयो । दिगो कृषि प्रणाली अपनाउन किसानको बचत सुनिश्ति गर्ने गरी मन्त्रालयको काम गरिरहेको उहाँको भनाइ छ ।

‘हामीले किसानको तथ्यांक लिने, कृषि नीति, ऐन, नियमाबली बनाउँदै छौं, यो पक्कै पनि किसानको हितमा हुनेछ भन्ने छ,’ उहाँले भन्नुभयो । उहाँले कृषिलाई ४० वर्षको अवधिमा धेरै मेहनतको साथ विगारेको बताउँदै विदेशीबाट प्राप्त सहयोगले गर्दा कृषिमा आफ्नोपना नदेखिएको बताउनुभयो । कृषिमा ३० वर्षसम्म विदेशीहरुको सहयोग रह्यो, जसमा विदेशका थुप्रै नीति र योजनाहरु लागु भयो जो कही राम्रो पनि गरेको छ कहि त्यति राम्रो गरेको छैन, उहाँले भन्नुभयो, कृषिलाई आफ्नो इतिहास, परम्परा र सँस्कृति अनुसार कृषिलाई दिगो बनाउनुपर्छ ।’

कृषकले बाटोमा दुध किन फ्याल्छन्, किन टमाटर फ्याल्छन् यो गहिरो अध्ययनको विषय रहेको बताउँदै उहाँले अंक वृद्धि तथा नाफा कमाउन सोचले मान्छेको अबमूल्यन हुन थालेको बताउनुभयो । मान्छेले नाफा कमाउन मात्र सोच्छन्, वृद्धिका लागि मात्र सोच्छन् जसले गर्दा मान्छेको अवमूल्यन भएको उहाँले बाउनुभयो ।

कार्यक्रममा कृषि विभागका महानिर्देशक डा.गोविन्द शर्माले कृषिलाई बाचय राख्न चुनौती रहेको बताउनुभयो । आत्मनिर्भर हुने तरिकाले कृषि प्रणालीको विकास गरी यसमा रोजगारी सृर्जना गर्नुपर्ने बताउँदै उहाँले रैथाने बालीलाई प्रमोट गरी पोषिलो खानेकुराको उत्पादन बढाउँदै लैजान पर्ने बताउनुभयो । सप्ताहव्यापी रूपमा मनाइने ४० औं विश्व खाद्य दिवस कार्यक्रम आजबाट सुरू भएको छ । यस वर्षको नारा हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ रहेको छ ।

कृषि विभागका महानिर्देशक डा.गोविन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले अब खाद्य स्वच्छता मात्र होइन पोषिलो खानामा पनि जोडदिनुपर्ने बताउनुभयो । अब खाद्यान्न उत्पादनमा मात्र जोड नदिएर पोसिलो खाद्यान्नको उत्पादन कसरी हुन्छ त्यस कुरामा पनि ध्यान दिनुपर्ने कुरा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, जसलाई हामी खाद्यान्न दिन्छौ त्यो स्वच्छ र पोषिलो हुनेपर्छ अनि मात्र दिगो कृषि सफल हुन्छ ।’ कृषिमा दिगो विकासका लागि किसानको वचत सुनिश्चित हुनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो ।

खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले कोरोनाका कारण कृषिलाई हेर्ने दृष्टिमा फरक परेको बताउनुभयो । कोरोनाका कारण कृषि उत्पादनमा कमी आउने बताउँदै उहाँले यसलाई अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । खाद्य सुरक्षाका लागि रसायनिक मल, विषादीलाई नियन्त्रण गर्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो । उहाँले कोरोनाले गर्दा कृषि क्षेत्रमा निकै प्रभाव पारेको छ तर यसलाई कृषि विकासका लागि अवसरको रुपमा पनि लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कृषि अभियन्ता सोनाम साथी, राष्ट्रिय भूमी अधिकार मञ्चका सरस्वती सुव्वा लगायतले आआफ्नो धारणा राखेका थिए । यो दिवस विभिन्न कार्यक्रम गरि ३० गतेसम्म मनाइने छ ।

सञ्चारमाध्यमा कृषि समाचारको बृद्धि हुँदै

सञ्चार माध्यममा कृषिका समाचारको स्थान बढाउँदै लैजानुपर्ने सरोकारवालाहरूले बताएका छन् । ४० औं विश्व खाद्य दिवसको अवसरमा आयोजना गरिएको कृषि सञ्चार र खाद्य सवाल कार्यक्रममा सरोकारवालाहरूले सो कुरा बताएका हुन् ।

कृषि विभाग र खाद्यका लागि कृषि अभियानले शनिवार आयोजना गरेको तथा एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज) ले संयोजन गरेको कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले कृषिमा पत्रकारहरुको आकर्षण बढाउनुपर्ने कुरामा जोड दिएका थिए । पहिलेको तुलनामा सञ्चार माध्यममा अहिले कृषिलाई स्थान दिन थालेको वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीले बताउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘पहिले पहिले कृषिका विषय त्यति उठ्दैन थिए, अहिले उठ्न थालेका छन् ।’ उहाँकाअनुसार २०१५ मा गोरखापत्रको सप्लिमेन्ट आर्थिक नेपाल म्यागजिनले पहिलो पटक कृषिको विषयलाई उठाएको थियो ।’ २०२२ सालमा रेडियोले कृषिलाई प्राथमिकता दिएपछि कृषि पत्रकारिताको आधाभूत स्तम्भ तयार भएको बताउँदै उहाँले २०४८ सालमा नेपाल टेलिभिजनले पनि स्लट नै छुट्याएर कृषि कार्यक्रमलाई ठाउँ दिएको बताउनुभयो ।

निजी क्षेत्रका अखबारहरू आएपछि भने कृषिले राम्रो स्थाान पाउन थालेको उहाँले बताउनुभयो । ‘त्यतिखेर एउटा पत्रिकामा व्यवसायिक केरा खेतीको बारेमा समाचार आएको थियो त्यसपछि मान्छेलाई केरा खेती गर्ने कुरा पनि समाचार बन्दो रहेछ भन्ने लागेको थियो,’ उहाँले आफ्नो अनुभव सुनाउनु भयो । पत्रकारहरूले परम्परागत सूचना स्रोतमा नलागि नवीन स्रोतको खोजी गरी समाचार लेख्न उहाँले आग्रह गर्नुभयो ।

मन्त्रालयलको तथ्यांकको मात्र समाचार नलेखी अहिले युवाहरूले गरेको कृषि प्रणालीको विषयमा समाचार लेख्नु पर्ने सुझाव दिदै उहाँले पछिल्लो समय सञ्चार माध्यमले कृषिलाई दिएको स्थान बढाउँदै लैजानु पर्ने धारणा राख्नुभयो । हलोखबरका सञ्चालक मनोज श्रेष्ठले अहिले कृषकहरू प्रविधि मैत्री बनेको बताउनुभयो । ‘पहिले जस्तो किसानलाई मल कहाँ किन्ने, बीउ कहाँ पाइन्छ भन्ने चिन्ता छैन । किसानहरू आफैले पेज बनाएका छन्, त्यहाँ आफूलाई चाहेको सामान बारे सोध्छन् । र त्यहीबाट बजार पनि लिएका छन्,’ उहाँले भन्नुभयो ।

समुदायको वर्गीकरण नै खानेकुराबाट भएकोले रैथाने बाली जोगाइराख्नु अहिलेको आवश्यकता भएको रैथाने बाली विज्ञ केदार शर्माले बताउनुभयो । पूर्वदेखी पश्चिमसम्म पाइने रैथाने बालीका विषयमा सञ्चारमाध्यममा स्थान दिन उहाँले आग्रह गर्नुभयो । ‘हाम्रोमा ठाउँ पिच्छे खानेकुरामा विविधता छ, यसको प्रचार प्रसारमा मिडियाको पनि भूमिका हुन्छ,’ उहाँले भन्नुभयो ।

अहिलेको कृषिको निकायलाई नवीनता दिनुपर्ने कृषि विज्ञ कृष्ण पौडेलले बताउनुभयो । ‘कृषि प्रसार, कृषि विश्व विद्यालय अहिले काम लगाग्ने भएका छन्, यसलाई नवीनता दिनुपर्छ,’ उहाँले भन्नुभयो ‘कृषि पढेका विद्यार्थीको  कृषिमा भन्दा पनि जागिर खानमा बढी ध्यान गएको छ, त्यसैले कृषि विश्व विद्यालयको कुनै काम छैन ।


SHARE THIS