पर्यटन बोर्डका प्रमुखलाई सम्हालिएर बोल्न टानले दियो चेतावनी

काठमाडौं, १४ भाद्र  – नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले पर्वतीय पर्यटन र यससँग आबद्ध पदयात्रा तथा हिमाल आरोहणसम्बन्धी व्यवसायी एवम् मजदुरप्रति लक्षित गर्दै अपशब्द प्रयोग गरेको भन्दै ट्रेकिङ एजेन्सिज् एसोसियन अफ नेपाल (टान)ले आज आइतबार विज्ञप्ति जारी गरी भर्त्सना गरेको छ । गत भाद्र १२ गते शुक्रबार बेलुका बीबीसी नेपाली सेवासँगको  कुराकानीका क्रममा  रेग्मीले  विवादास्पद र तल्लो स्तरको भाषा प्रयोग गरेको टानद्वारा जारी वि ज्ञप्तीमा उल्लेख गरिएको छ ।  

कोभिड–१९ को संक्रमणबाट तहसनहस भएको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी राहात तथा पुनरुत्थानका कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन पर्ने जिम्मेवार निकायका पदाधिकारीबाट व्यक्त यस भनाइको पूर्णरुपले घोर भत्र्सना गर्दै सार्वजनिक रुपमा माफी मागी गल्ती सच्याई अघि बढ्न टानले आग्रह गरेको छ ।

‘पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी र पर्यटन मजदुरलाई अविश्वासनीय तरिकाले हेर्ने, एकदमै तल्लो स्तरको भाषा प्रयोग गर्ने, हेप्ने तथा होच्याउने जस्ता भाषा, प्रस्तुति र शैलीसहित शब्द र भनाइहरु नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवार पदमा रहनुभएका पदाधिकारीबाट व्यक्त भएकोमा टानको गम्भीर ध्यानाकर्षण भएको अवगत गराउँछौं’– विज्ञप्तिमा भनिएको छ, ‘प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीद्वारा व्यक्त भनाई तथा विचारहरुलाई यस संस्था पूर्ण रुपमा घोर भत्र्सना गर्दै खारेज गर्दछ ।’

खासगरी पदयात्रा तथा पर्वतीय पर्यटन संबद्ध व्यवसायीहरु लक्षित प्रश्नको जबाफमा उनले ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रलाई इंगित गर्दै कम्पनीले कम्ती १० जनालाई रोजगारीसम्म नदिएको, आफ्नै परिवार सदस्य दाजुभाई मिलि काम गरेको, ट्याक्स नतिरेको र झोलामा राखेर कम्पनी चलाएको जस्ता पर्वतीय पर्यटन आवद्ध व्यवसायी र मजदुरहरुलाई अपमानजन्य तरिकाले होच्याउदै उनीहरु राहतको लागि अयोग्य रहेको इंगित गरी अन्तरवार्ता दिएकोमा टानले आपत्ति जनाएको छ ।

पर्वतीय पर्यटन क्षेत्रमा आवद्ध प्रत्येक पर्यटक, व्यवसायी र मजदुरसंग जोडिएको टिम्स कार्डबाट उठेको रकमबाट नेपाल पर्यटन बोर्डको बार्षिक बजेटको प्रमुख हिस्सा चल्दै आएको प्रष्ट हुदाँहुदै त्यही पेशामा संलग्न व्यवसायी र मजदुरहरुलाई यसरी होच्याउने शव्द र भनाइप्रति प्रतिक्रिया आउनु दुखद भएको टान अध्यक्ष खुम बहादुर सुवेदीले बताएका छन्।                       

टानद्वारा जारी विज्ञप्ति






SHARE THIS