भेषराज बेल्बासे / गोरखापत्र
काठमाडौँ । नेपालमा एटीएम मेसिन सञ्चालनमा ल्याइएको २५ वर्ष भएको छ । २०५२ मा हिमालयन बैङ्कले एटीएम बुथ सञ्चालन गरी नेपालको बैङ्किङ क्षेत्रमा डिजिटल युगको नयाँ अध्याय थपेको थियो तर कार्डको प्रयोग भने त्यसअघि नै नबिल बैङ्कले २०४७ मा नै थालेको थियो ।
एटीएम ल्याइएको सुरुवाती वर्षमा यसको कारोबार नगन्य थियो । प्रयोगकर्तामा ज्ञान पनि थिएन तर त्यो विस्तार भई सन् २०१८ मा प्रतिएक लाख जनसङ्ख्याका लागि करिब १३।७८ एटीएम मेसिन रहेका छन् । सन् २०११ मा यो सङ्ख्या प्रतिलाखका लागि करिब ७।३ थियो । सन् २०१९ डिसेम्बरसम्म ६८ लाख १९ हजार ६०२ डेबिट कार्ड प्रयोगमा रहेका थिए ।
नेपाल राष्ट्र बैङ्कका अनुसार कुल ७५३ स्थानीय तहमध्ये २०७७ असारसम्म ७४७ तहमा वाणिज्य बैङ्कहरूका शाखा विस्तार भएका छन् । ७४७ स्थानीय निकायमध्ये प्रायः सबैमा बैङ्कसँगै एटीएमको पनि पहुँच पुगेको छ ।
हाल प्रायः सबै वाणिज्य बैङ्क मात्र नभई सहकारीले समेत एटीएमबाट ग्राहकलाई सेवा दिन थालेका छन् । एटीएमको प्रयोग व्यापक रहँदा यसको कारोबार बढेको पाइएको छ । हाल नेपालमा तीन हजार ९५० एटीएम मेसिन रहेका छन् ।
कोरोनाका कारण भएको बन्दाबन्दीका कारण बैङ्कहरूले डिजिटल भुक्तानीलाई प्राथमिकता दिँदा यी एटीएमबाट एक महिनामा ५४ अर्ब ७६ करोड ६३ लाख रुपियाँसम्म निकालिएको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार गत असार महिनामा मात्रै ६३ लाख दुई हजारपटकको कारोबारमार्फत एटीएम मेसिनबाटै ५४ अर्ब ७६ करोड ६३ लाख रुपियाँ निकालिएको छ । जुन अघिल्लो महिना ९जेठ०भन्दा १४ अर्ब रुपियाँले बढी हो । जेठ महिनामा ४६ लाख ६३ हजारपटकको कारोबारबाट ४० अर्ब २७ करोड ७० लाख रुपियाँ निकालिएको थियो ।
राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार वैशाखमा ३४ लाख ८९ हजार कारोबार सङ्ख्याबाट २७ अर्ब ८४ करोड ७० लाख रुपियाँ निकालिएको थियो ।
पछिल्लो समय चेकबुक लिएर बैङ्कका शाखामा लाइन बस्नुपर्ने झन्झटले गर्दा एटीएम कार्डका प्रयोक्ता बढ्दै गएका कारण एटीएममार्फत हुने कारोबार बढ्दो क्रममा छ । पछिल्लो विषम परिस्थितिमा मानिसहरू बैङ्कमा चेक साट्न जाने अवस्था नभएका कारण एटीएमको प्रयोग बढेको हो ।
त्यसैलाई ध्यानमा राखी नेपाल राष्ट्र बैङ्कले जुनसुकै बैङ्कको कार्डबाट जुनसुकै बैङ्कको एटीएम प्रयोग गर्न सकिने र त्यसमा कुनै शुल्क नलाग्ने व्यवस्था मिलाएको छ । त्यसअनुरूप बैङ्कको काउन्टरसम्म पुग्ने, लाइन बस्नेभन्दा पनि टोल छिमेक र पायक परेको ठाउँमा एटीएमबाट पैसा निकाल्ने क्रम बढेको हो ।
राष्ट्र बैङ्कले पछिल्लो समयमा ग्राहकलाई डिजिटल बैङ्किङमार्फत कारोबार गर्न भनिरहेको छ । राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेल भन्नुहुन्छ, “एटीएम अत्यावश्यक पर्दा रकम झिक्ने माध्यम हो, यसबाटै लाखौँ लाख रुपियाँ झिकेर कारोबार गर्ने होइन । धेरै रकमको कारोबार गर्नुपर्दा विद्युतीय माध्यमबाट गर्न नै आग्रह गर्दै आएका छौँ । ”
विद्युतीय कारोबार सुनिश्चित गरी सम्भव भएसम्म ग्राहकलाई त्यसतर्फ प्रोत्साहन गर्न पनि राष्ट्र बैङ्कले भनेको छ । साथै राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता गरी आफ्ना ग्राहकलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गराउन पनि बैङ्कहरूलाई निर्देशन दिएको छ ।
सुविधा नभए कारबाही
ग्राहकको सजिलोका लागि सञ्चालनमा ल्याइएका एटीएम बुथबाट मानिसले सुविधाभन्दा झन्झट झेलिरहेको गुनासो आयो भने राष्ट्र बैङ्कले कडाइ गर्ने जनाएको छ । जारी निषेधाज्ञामा पनि नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवा नरोक्न तथा एटीएममा प्रशस्त नगद राख्न निर्देशन दिएको छ ।
बैङ्कहरूलाई एटीएम मेसिनमा पर्याप्त नगद राख्न र त्यसको निगरानीको व्यवस्था मिलाउन पनि राष्ट्र बैङ्कको निर्देशन छ । राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेल एटीएम नचलेको तथा पैसा नदिएको पाइएमा राष्ट्र बैङ्कले तुरुन्तै एक्सन लिने बताउनुहुन्छ । एटीएममा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन राष्ट्र बैङ्कले सर्कुलरमार्फत निर्देशन दिएको छ ।
कोरोनाबाट बच्दै कसरी प्रयोग गर्ने
एटीएम बुथको ढोका खुलै राखेर कारोबार गर्ने
कारोबार गर्नुअघि र पछि सेनिटाइजरले हात सफा गर्ने
अरूले नदेख्ने गरी शरीरले छोपेर पिन नम्बर थिच्ने
एटीएमका केही तथ्य
२०५२ मा हिमालयन बैङ्कको पहिलो एटीएम सुरु
सोलुखुम्बुको खुम्जुङ उपत्यकामा रहेको सिद्धार्थ बैङ्कको एटीएम नेपालमै सबैभन्दा उचाइको एटीएम
एटीएम मेसिनमा नेपाली र अङ्ग्रेजी भाषा छनोटको व्यवस्था
गोरखापत्रबाट