मुलुकको लघु, घरेलु तथा साना उद्योगको विकासमा घरेलु महासंघ र उद्योग विभागबीचको सहकार्यमा जोड

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले उद्योग विभागका नवनियुक्त महानिर्देशक जीवराज भुसाल र पूर्व महानिर्देशक जीवन प्रकाश सिटौलाको सम्मानमा स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहको सभापतित्वमा आयोजित कार्यक्रममा उद्योग विभागका नवनियुक्त महानिर्देशक जीवराज भुसालले मुलुकको लघु, घरेलु तथा साना उद्योगको विकासमा महासंघसँग सहकार्य गर्दै मिलेर कार्य गर्ने बताउनुभयो । यसैगरी पूर्व महानिर्देशक जीवन प्रकाश सिटौलाले विगतमा महासंघसँग सहकार्य गर्दै कार्य गरेकोमा कोभिड–१९ का कारणले योजनावद्ध केही कार्यक्रमहरु गर्न छुटेको बताउनुभयो ।
महासंघका कार्यवाहक अध्यक्ष सिंहले उद्योग विभागसँगको सहकार्यलाई महासंघले सधैं उच्च महत्व दिदै आएको बताउनु हुँदै लघु, घरेलु तथा साना उद्योग विकास कोष मार्फत थुप्रै कार्यक्रमहरु आयोजना गरिएको र भविष्यमा पनि लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका लागि उद्योग विभागसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।
कार्यक्रम सञ्चालन गर्दै महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले विगतका वर्षहरुमा महासंघ र उद्योग विभागले संयुक्त रुपमा औद्योगिक प्रदर्शनी लगायतका कार्यक्रमहरु सफलतापूर्वक आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा महासंघका कोषाध्यक्ष सत्यनारायण प्रजापति, केन्द्रीय महिला उद्यमी समितिका उपाध्यक्ष  रिता अवाल र जानकी प्रधान, ललितपुर जिल्ला अध्यक्ष अष्टमान महर्जन, काभ्रे जिल्ला अध्यक्ष सुवासना श्रेष्ठलगायत उद्यमी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यसैबीच महासंघको प्रतिनिधि मण्डलले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई हलचोकस्थित सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा भेट गरेको छ । महासंघका कार्यबाहक अध्यक्ष सिंहको नेतृत्वमा उपाध्यक्ष अञ्जना ताम्राकार, महासचिव डम्बर प्रसाद रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापति र केन्द्रीय महिला उद्यमी समितिका उपाध्यक्ष रिता अवाल सम्मिलित महासंघको टोलिले सशस्त्र प्रहरी महानिरीक्षक खनालसँगको भेटका अवसरमा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित स्वदेशी बस्तुहरुलाई स्वदेशमै उपयोगका लागि प्रोत्साहन गर्ने वातावरण बनाउनु पर्ने, औद्योगिक सुरक्षा बलको व्यवस्थापन  लगायतका विषयमा छलफल भएको थियो ।


SHARE THIS