पाँच लघुवित्त कम्पनीसहित छ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिनको सेयर बजार ९ अंकले सुधारिएको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ९.०२ अंकले उकालो लाग्दा आइतबारको सेयर बजार १३४०.२९ अंकमा पुगेर अडिएको छ । यस दिनको सेन्सेटिभ इन्डेक्स पनि ०.९३ अंकले उकालो लागेर २८१.४२ मा पुगेको छ ।
पहिलो दिन १७९ कम्पनीको १६ हजार ८२६ पटकको कारोबारमा एक अर्ब ११ करोड १० लाख रुपियाँ बराबरको २६ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
पाँच लघुवित्त कम्पनीसहित छ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको यस दिन  सूर्योदय, स्वरोजगार, गणपति, मिथिला र एनआईसी एशिया लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यसैगरी, यस दिन मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आइतबार नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी अगाडि रहेको छ । यी दुबै कम्पनीहरुको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
आइतबार सात कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९९ प्रतिशत कमाएका छन् । यस संस्थाको सेयर मूल्य प्रतिकित्ता ९६९ रुपियाँ रहेको छ ।
त्यस्तै, स्वरोजगार लघुवित्त विकास बैंकको ९.९८, गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.९४, मिथिला लघुवित्त वित्तीय संस्थाको ९.९३, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ९.८९, मञ्जुश्री फाइनान्सको ९.७२ र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.३२ प्रतिशतले बढेको छ ।
पहिलो दिनको बजारमा १२ समूह कारोबारमा आएकोमा सात वटा समूह उकालो लागेका छन् भने पाँच समूह ओरालो लागेका छन् । यस दिन सबैभन्दा बढी जीवन बीमा समूहको सूचक १९७.२४ अंकले उकालो लागेको छ भने होटल समूह ५३.२२ अंकले ओरालो लागेको छ ।
लघुवित्त ८२, उत्पादन र प्रशोधन १७.३५, अन्य ७.७८, ट्रेडिङ १.०६ अंकले उकालो लागेका छन् । यसैगरी विकास बैंक ४.०१, बैंकिङ १.१४, हाइड्रोपावर ०.३८, म्युचुअल फण्ड ०.०१ अंकले ओरालो लागेका छन् ।

SHARE THIS