कोरोना भाइरसको उपचारमा सहयोगीसिद्ध हुन थाल्यो होमियोप्याथी औषधी

गीता पौडेल
कोरोना संक्रमणको बढ्दो पारोसँगै यतिबेला ओझेलमा परेको होमियोप्याथी उपचार पद्घतिको चर्चा पनि चुलिएको छ । आज विश्व नै यही महामारीसँग जुधिरहेका बेला यसको प्रभावकारी उपचार र खोप विकास हुन सकिरहेको छैन । संकटको यो बेला धेरैको ध्यान होमियोप्याथीक औषधितर्फ ह्वात्तै बढेको छ ।
कोभिड–१९ विरुद्धको खोप बनाउन विश्वका विभिन्न देशमा प्रयास भइरहेका छन् । अमेरिका, बेलायत, चीनमा यस्ता खोप बनाएर परीक्षणको क्रममा रहेका बताइएको छ । जहाँ समस्या त्यहाँ समाधान भनेझैँ कोरोनाको संक्रमणसँगै यसको उत्पत्ति, कारण, प्रवृत्ति तथा असरबारे विभिन्न कोणबाट अध्ययन भइरहेको छ । वर्तमान युगलाई अध्ययन, अनुसन्धान, सूचना तथा ‘फिडब्याक’ को युग मानिन्छ । कुनै पनि समस्याको कारण र प्रभावबारे अध्ययन गरी त्यसको रोकथाम गर्न सकिने भएकाले कोरोनाको वैज्ञानिक तथा सामाजिक कारणमाथि विभिन्न कोणबाट अध्ययन हुँदैछन् । पछिल्ला शताब्दीमा सबै सामाजिक घटनाको कारण तथा प्रभावको अध्ययन गरी परिणामबारे निष्कर्षमा पुग्न सकिनेमा विश्व विश्वस्त हुँदै आएको सन्दर्भमा कोरानामाथि वैज्ञानिक, चिकित्सकीय तथा सामाजिक अध्ययनलाई विज्ञहरूले उच्च महत्व दिएका छन् । नेपालमा स्वास्थ्य अनुसन्धान परिषद्को संयोजनमा विभिन्न संस्था तथा व्यक्तिले कोरोनामाथि विभिन्न पक्षबाट अनुसन्धान गरिरहेका छन् । यस्ता दर्जनौँ अध्ययनबाट विश्व एउटा निष्कर्षमा त पुग्ला नै ।
तर विश्वव्यापी रुपमा नै आफ्नो अस्तित्व पुनः उजागर गर्न थालेको होमियोप्याथी औषधी कोरोना भाइरसको उपचारमा पनि सहयोगीसिद्ध हुन थालेपछि यसतर्फको आकर्षण बढ्दो छ ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पनि पनि वैकल्पिक चिकित्सा दिशानिर्देश र नेपालमा कोभिड १९ को होमियोप्याथिक उपचार पद्धतिको प्रोटोकलसमेत तयार पारेपछि यसप्रति झै आकर्षण बढ्न थालेको हो ।
नेपाल राष्ट्रिय मारवाडी परिषद, मारवाडी सेवा समिति नेपाल र नेपाल होमियोप्याथिक हेल्थ अर्गानाइजेशनको सहकार्यमा कोरोना भाइरस नियन्त्रणमा सहयोगीसिद्ध ठानिएको होमियोप्याथिक औषधि निःशुल्क वितरण गरिरहेका छन् । सरकारी स्वामित्वको पशुपति होमियोप्याथीलगायतका अरु निजी क्लिनिकहरुले पनि यसको वितरण गरिरहेका छन् ।
नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले सरकारले नेपालमा कोभिड–१९ को होमियोप्याथिक उपचार पद्धतिको समेत प्रोटोकल तयार पारेपछि सरकारको प्रोटोकल अनुसार होमियोप्याथिक औषधि कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई नै वितरण गरिरहेको बताउनुहुन्छ । यो औषधी बाँड्न शुरु गरेको २७ दिन भएको जानकारी दिंदै मित्तल भन्नुहुन्छ – ‘२१ लाख मानिसलाई बाँडि सकियो, हाम्रो लक्ष्य जति सक्दो धेरै जनालाई बाँड्ने हो ।’
भारतमा धेरैले प्रयोग गरिसकेको जानकारी दिंदै उहाँ भन्नुहुन्छ – ‘भारतका शहरहरुमा अहिले यो औषधि लिन मानिसहरु घण्टौं लाईन बस्छन् । स्थानीय निकायका वडा वडामा वितरणका लागि दिएका छौं भने ठाउँ ठाउँ हामीले आफै पनि वितरण गरिरहेका छौं । उपत्याका बाहिर करिब ४० जिल्लामा औषधी गइसक्यो, यो औषधीको माग बढ्दो छ त्यसको आपूर्तिका लागि हामी तयार छौं ।’
‘आर्सेनिक अल्बम ३० सी’ को होमियोप्याथिक औषधि दुई गोली बिहान खाली पेटमा तीन दिनसम्म र त्यसपछि दुई गोली प्रत्येक हप्तामा आवश्यकता अनुसार महामारी नियन्त्रण नहुँदासम्म प्रयोग गर्न सकिने अध्यक्ष मितलले बताउनुभयो । होमियोप्याथी औषधि कोरोना भाइरस रोकथाममा निकै प्रभावशाली हुने विश्वास उहाँको छ ।
त्यसो त कोरोना भाइरस (कोभिड–१९) जस्ता सरुवा रोग र महामारीविरुद्ध होमियोपेथिक उपचार पनि प्रभावकारी रहन सक्ने चिकित्सकहरूकै सुुझाव छ । नेपाल होमियोप्याथीक एसोसिएसन प्रदेश ३ का अध्यक्ष एस के न्यौपानेका अनुसार होमियोप्याथीको आफ्नै उपचार पद्धति र त्यसले सरुवा रोगमा पनि काम गर्छ ।
कोरोना भाइरसको आक्रमण भएपछिको लक्षणलाई लिएर खाइनुपर्ने औषधि होमियोप्याथीमा रहेको उहाँको दाबी छ । उहाँका अनुसार अहिले रोग प्रतिरोधात्मक औषधि बाँडिएको छ । बिरामीको लक्षण अनुसार होमियोपेथिकमा ८–१० खालका औषधि प्रयोगमा आइरहेको र औषधीबाट सर्वसाधारणले लाभ लिइरहेको उहाँ बताउनुहुन्छ ।
रोगले आक्रमण गरेका व्यक्ति फरक फरक प्रकृतिको रहने हुँदा यो पद्वतिमा व्यक्ति अनुसार औषधि प्रयोग गरिने भन्दै आर्सेनिकम अल्वम नामक औषधि भने उपचारमा साझा रूपमा प्रयोग भए पनि बिरामीको प्रकुति अनुसार ५–६ थरीका औषधि यो पद्धतिमा रहेको डा. न्यौपाने बताउनुहुन्छ ।
कोरोना भाइरस विरुद्धकै औषधि त छैन । किनकी यो नौलो रोग हो तर रोगमा देखिने लक्षण अनुसार भने होमीयोपेथिकमा उपचार हुने बताउनुहुन्छ स्वास्थ्यकर्मी राधा आचार्य । विरामीसँग आर्सेनिक मेल खायो भने यो पद्धतिमा उपचार सम्भव हुने उहाँको भनाई छ । अहिले सर्वत्र वितरण भइरहेको औषधि रोगप्रतिरोधी क्षमता बढाउने औषधि भएको भन्दै उहाँले यस्ता औषधि यसरी जथाभावी सेवन गर्न नहुने बताउनुहुन्छ ।

होमियोप्याथी र महामारीे नियन्त्रण
प्रकृतिमाथि विज्ञान र प्रविधिको अन्धाधुन्द प्रयोग मात्र ग¥यो भने स्वयं मानवजातीको अस्तित्व नै खतरामा पर्न सक्ने दृष्टान्तहरु कैयौं पटक प्राकृतिक प्रकोपको रुपमा वा महामारीको रुपमा देखिएका छन् । तसर्थ प्राकृतिक नियममा आधारित भई प्रकृतिको नियमलाई पालना गरी जीवनयापन गर्न थाल्नुपर्दछ । यदि समस्याहरु प्रााकृतिक कारणले आउने गर्दछन् भने समाधान पनि प्राकृतिक नियममा नै आधारित भई खोजी गर्न सकेमा सफलता प्राप्त गर्न सकिने दृष्टान्तहरु हामी विभिन्न कालखण्डमा हेर्दै र भोग्दै आइरहेका छौैं ।
अहिले विश्व कोरोना भाइरस संक्रमण महामारीको चपटामा छ । विश्वका सर्वशक्तिमान महशुस गरिरहेका व्यक्ति र राष्ट्रहरु समेत यस समस्याको समाधानको लागि चिन्तित भएका छन् । विभिन्न तरिकाले विभिन्न कोणहरुबाट कोरोना संक्रमणका विकल्पहरु खोजी भइरहेका छन । हामी धेरैले स्विकार गर्न नसकेको प्राकृतिक उपचार अब स्विकार गर्नैपर्ने स्थितिको सिर्जना भएको छ ।
यो चिकित्सा सन् १७९६ मा युरोपबाट विकसित भएपनि हाम्रो पूर्वीय दर्शन वेदमा समेत उल्लेख भएको “समः समं समयतीः” भन्ने प्राकृतिक सिद्धान्तमा पूर्णतः आधारित भई अहिलेको नयाँ विज्ञान र प्रविधिको समेत अधिकतम प्रयोग भएको चिकित्सा होमियोप्याथी हो । यसलाई आयुर्वे्दिक चिकित्सा वा परम्परागत चिकित्सा भनेर समुदायमा भ्रम रहेको पाइएको छ ।
महामारीमा रोग नलागेका व्यक्तिले पनि प्राकृतिक वातावरणमा रहने, आफ्नो शरीरको प्रकृति सुहाउँदो खानपीन, रहनसहन, जीवनशैली अपनाउने र रोगी व्यक्तिले समेत प्राकृतिक औषधी उपचार गराउन सकेमा रोग प्रतिरोध क्षमता विकास गरी त्यस्ता हानिकारक तत्वहरुलाई परास्त गरी लामो र स्वस्थ जीवन जिउन सम्भव छ । यस प्रकारको मानवतावादी कार्यक्रमलाई उपयोगी बनाउन, हरेक समुदायसम्म सहि सन्देशहरु पुर्याउन र महामारीबाट बच्न र बचाउन सरोकारवाला सबै पक्षहरु जिम्मेवार भएर लाग्नु जरुरी छ ।
कोरोना लाग्दैमा मरिन्छ नै भन्ने छैन र कोरोना जस्तै विभिन्न महामारीमा होमियोप्याथिक लगायत विभिन्न रोकथाम र नियन्त्रणका उपायहरु सफल भएका छन् र त्यस्ता साधनहरुलाई संयमतापूवृक अपनाउदा सजिलै कोरोनाको व्यवस्थापन गर्न सकिन्छ भन्ने गरीको मनोवैज्ञानिक उपचार पनि आवश्यक छ ।
कोभिड १९ः होमियोप्याथि
विष काट्न विष नै चाहिन्छ, फलाम काट्न फलाम नै चाहिन्छ, विभिन्न खोपहरु बनाउँदा पनि जे रोगको लागि खोप बनाउने हो त्यहि रोगको प्याथोजिन वा जिवाणु वा विषाणुहरु नै प्रयोगमा ल्याइन्छ । अर्थात् जस्तै टि.बि.को भ्याक्सिन बनाउँदा अरु कहिँ केहि खोज्नै पर्दैन, त्यहि टि.बि.को बेसील्लाई नै प्रयोगमा ल्याउने हो ।
‘‘समस्या जहाँ छ, समाधान पनि त्यहीँबाट खोजिनुपर्छ’’ भन्ने सिद्धान्तमा आधारीत यस उपचारमा केवल रोगको नामको आधारमा मात्रै औषधी नदिई विरामीको विभिन्न रिपोर्टहरुको अध्ययन विश्लेषण गरी चिसोतातो, रुची, अरुची, वंशाणुगत रुपमा आएका प्रवृत्तिहरुको अध्ययन गर्नुका साथै मानसिक, शारीरिक, सामाजिक र संवेगात्मक अवस्थालाई समेत विश्लेषण गरी रोगीसँग अधिकतम समान प्रकृत्तिको औषधी छनौट गरी विरामीलाई सेवन गराइन्छ ।
यसरी, सेवन गराईने औषधीलाई भौतिक विज्ञानले परिभाषित गरेको नेनो पार्टीकल्सको रुपमा अति सुक्ष्म कणमा गएर इलेक्ट्रोन थेउरी जस्तै इनर्जे्टिक फर्ममा शक्तिकृत गरी अति शुक्ष्म विष्लेषण गरेर वा गहिराई सम्म अध्ययन गरेर शरीर, मन र आत्माको तह सम्म काम गर्न सक्ने गरी अति नै गतिशिल बनाइन्छ ।
जसले प्राकृतिक रुपमा जन्मँदै लिएर आएको जीवनशक्ति वा आत्माशक्ति वा आत्मबल वा रोगप्रतिरोध क्षमता विकास गरि प्राकृतिक रुपमा प्राप्त हुने स्वःउपचार प्रक्रियालाई सक्रिय बनाई मन मस्तिष्क र शरीर समेतबाट र वंशाणुगत रुपमा आएका विकारहरुलाई समेत हटाई रोगीलाई सन्चो बनाइन्छ ।
नयाँ औषधीहरु परीक्षण वा प्रमाणीकरण गर्दा अन्य चिकित्सामा जस्तो रोगी व्यक्तिलाई वा जनावरहरु, मुसा, खरायो, भ्यागुतो आदिमा नगरी स्वस्थ मानिसमा प्रयोग वा परिक्षण गरिएको हुन्छ । यसरी स्वस्थ मानिसमा परिक्षण गरिएका औषधीहरुलाई ढुक्कका साथ सेवन गर्न सकिन्छ ।
त्यहि भएर होमियोप्याथिमा साईड ईफेक्ट पनि हुँदैन । र वास्वविक रुपमा रोगीलाई निको बनाउन पनि संभव भएको हो । यसरी प्रयोग गरेर तयार गरिने औषधीहरुलाई एक आपसमा नमिसाईकन अलग(अलग बट्टामा राखिएको हुन्छ ।
यसरी राख्दा हरेक औषधीहरुलाई शक्तिकृत गरी राखिएको हुन्छ ।  आवश्यकता अनुसार होमियोप्याथिक औषधीहरु चलाउँदा जीवनशक्ति वा रोगप्रतिरोधात्मक क्षमतालाई बृद्धि गरि शरीरलाई प्राकृतिक अवस्थामा नै पुनः फर्काउने प्रणालीलाई सक्रिय बनाउँदछ र हामी त्यस्ता लक्षणहरुबाट मुक्त हुन्छौं अर्थात निको हुन्छौं ।
यहि प्रकृयाबाट कोभिड १९ को संक्रमणबाट पनि बच्न र नियन्त्रण गर्न रोग प्रतिरोधात्मक क्षमता विकास गरी होमियोप्याथिक चिकित्साबाट सफलता प्राप्त गर्न सकिन्छ ।
कोभिड १९ को लडाईमा अग्रपंक्तीमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सवारी चालक, प्रशासनिक निकायका कर्मचारीहरु, जनप्रतिनिधिहरु जो जनसम्पर्कमा सधैं रहिरहनु पर्छ, त्यस्तै पत्रकारहरु लगायत संक्रमणको जोखिम बढि भएका त्यस्ता व्यक्ति, परिवार र प्राथमिकताको आधारमा क्रमशः सबैलाई ईम्युन बुस्टर, प्रोफाईलेक्सिस र जिनस एपिडेमिकसहरुको प्रभावकारी वितरण गर्नसकेमा नेपाल सरकारलाई आर्थिक भार कम पर्नको साथै महामारी नियन्त्रण सहज हुनसक्छ ।

होमियोप्याथी के हो ?
होमियोप्याथी शब्द युनानी भाषाको दुई शब्दहरु ‘होमोइस’ यानि सदृश्य र पैथोज ‘पाथोज’ अर्थात रोग ‘सफरिङ’ मिलेर बनेको हो । यसको अर्थ हो सदृश्य रोग चिकित्सा । जसअनुसार जुन औषधीय पदार्थ एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नले जुन प्रकारको रोगका लक्षणहरु उत्पन्न हुन्छ । उही औषधिले त्यस्तै प्रकारका लक्षण युक्त भएका रोगीलाई सुक्ष्म रुपमा सेवन गराउनले आरोग्य प्रदान गर्दछ । यस चिकित्सा विज्ञानको जन्मदाता डा. हैनिमैन एम.डी. हुन् । सन १८०५ मा हैनिमैनले यस सिद्धान्तको खोज गरे र १८९० तिर यसलाई प्रतिपादित गरे । यो प्रकृतिक सिद्धान्त “समानताले समानताको उपचार” मा आधारीत छ । चिकित्सा विज्ञानको रुपमा आज संसारको प्रत्येक मुलुकमा पुगिसकेको छ । विश्व स्वास्थ्य सगंठन (डब्लु.एच.ओ.) को एक सर्भेक्षण अनुसार एलोप्याथी पछि को दोस्रो चिकित्सा पद्धति होमियोप्याथी हो ।
कसरी बनाइन्छ औषधि ?
होमियोप्याथिक चिकित्सामा प्राय गरेर उहि औषधिहरुको प्रयोग गरिन्छ । जुन एलोप्याथी, आयुर्वेदिक तथा युनानी चिकित्सा प्रणाली अन्तगरत प्रयोगमा ल्याइन्छ । फरक यति मात्र छ कि अन्य उपरोक्त चिकित्सा पद्दतिमा औषधिको प्रयोग स्थुलरुप (क्रुडफर्म) मा गरिन्छ भने होमियोप्याथीमा औषधिको प्रयोग अत्यन्त सुक्ष्म रुपमा गरिन्छ । यी चिकित्सा विधिहरुमा वनस्पति, खनिज पदार्थ, पशुहरु तथा रोगजन्य विषबाट तयार गरिएका औषधिहरु प्रयोगमा ल्याइन्छ । यसकारण मुलरुपमा हेर्ने हो भने यी सबै एकै हुन् । तर, औषधि निर्माणको प्रकृयामा भने फरक पर्न जान्छ । होमियोप्याथीमा प्रयोग हुने औषधिहरुको परीक्षण स्वस्थ व्यक्तिहरुमा गरिएको हुन्छ । जनावर या रोगीहरुमा गरिएको हुँदैन । यसको औषधिको कुनै प्रकारको दुष्प्रभाव (साईडईफेक्ट) छैन ।
औषधिले कसरी काम गर्दछ ?
 होमियोप्याथिक औषधिले हामीभित्र अवस्थित रहेको (डिफेन्समेकानिजम्) लाई एक्साईट गरी स्वउपचार प्रकृयालाई क्रियाशील बनाई रोगबाट मुक्तिको पथमा लम्कन सहयोग गर्दछ । एकल औषधि होमियोप्याथीमा रोगीलाई उसको रोग निदान पश्चात एक समयमा एउटा मात्र औषधि दिने प्रावधान रहिआएकोछ । हैनिमैनले आफ्नो अनुभवको आधारमा एक पटकमा एउटाऔषधि दिने विधान निश्चित गरेका थिए । तर, अहिले आएर यसमा पनि पर्याप्त परिवर्तन भइसकेको छ । होमियोप्याथिक चिकित्सकहरु मध्ये केहि त हैनिमैनले देखाएको बाटोमा हिँडिरहेका छन् भने केहिले आफ्नो स्वतन्त्र मार्ग निश्चित गरेका छन् । एक पटकमा आफ्ना रोगीलाई ५–७ वटा औषधिहरुको सेवन गर्न दिने पनि गरिन्छ । जुन होमियोप्याथिक को सिद्धान्त (भावना) विपरीत हो ।
औषधिको न्यून मात्रा
 होमियोप्याथी चिकित्सा विज्ञानको आधारमा रोगीलाई उसको रोग निदान पश्चात दिइने औषधिको मात्रा अति न्यून हुनुपर्छ । ताकि औषधिको कुनै दुष्परिणाम नदेखियोस । होमियोप्याथि यस्तोऊपचार पद्दतिहो जसमा निकै कम औषधिको प्रयोग पश्चात शरीर भित्रै रहेको स्वउपचार प्रकृयालाई क्रियाशील बनाइन्छ र रोगबाट मुक्तिको प्रयास गरिन्छ । रोगीलाई कुनै प्रकारको शारीरिक एवं मानसिक कष्ट नदिइकन प्राकृतिक रुपले रोगबाट मुक्तगरी उसलाई स्वस्थ बनाउँछ ।
व्यक्तिपरक चिकित्सा खास कुरो होमियोप्याथीमा रोगको नामले उपचार गरिंदैन । रोगबाट ग्रस्त व्यक्तिको मानसिक एवं शारीरिक तथा भावनात्मक आदि सबै पक्षको उपचार गर्दछ । जस्तै (निमोनिया) का पाँचजना रोगीहरुको होमियोप्याथीमा एउटै औषधिले ऊपचार गरिँदैन । समष्टिगत लक्षणको आधारमा यी पाँचैजना रोगीहरुलाई भिन्ना–भिन्नै औषधिहरुको व्यवस्था गरिन्छ । किनभने होमियोप्याथीको मुल सिद्धान्त “रोगीको उपचार गर रोगको होइन” भन्ने हो । त्यसैले होमियोप्याथीमा कुनै रोगको नामको आधारमा भन्दापनि रोगीको समष्टिगत लक्षणको आधारमा नै औषधिको व्यवस्था हुन्छ ।

SHARE THIS