परम्परागत पौभा कलाको अनलाइन प्रदर्शनी सुरु

काठमाडौं, जेठ २७। म्युजियम अफ नेपाली आर्ट (मोना) को आयोजनामा परम्परागत पौभा कलाको अनलाइन प्रदर्शनी सुरु भएको छ । अनलाईन प्रदर्शनीमा १५ जना कलाकारका कलाको प्रदर्शनीमा राखिएको हो ।
अग्रज कलाकार प्रेममान चित्रकार, लोक चित्रकार, मुक्तिसिंह थापा, पुर्ण ह्योजु, उदयचरण श्रेष्ठ, राजप्रकाश तुलाधर, समुन्द्रमान सिंह श्रेष्ठ, उजय बज्राचार्य, देवेन्द्र सिंख्वाल, रितेश शाही, सुरेन्द्रमान शाक्य र रवि श्रेष्ठका कलाकृति राखिएको छ । साथै मूर्धन्य कलाकार माणिकमान चित्रकार, आनन्दमुनि शाक्य र सिद्धिमुनि शाक्यका कलाकृति पनि प्रदर्शनीमा समावेश गरिएको छ ।
‘सिर्जना’ (इन्सेप्सन) शीर्षकमा गरिएको यस प्रदर्शनीको उद्देश्य अघिल्लो पुस्ताबाट आर्जन गरेको पौभा कलाको सीप पछिल्लो पुस्तामा हस्तान्तरण गरी आमसमुदायको कल्याणमा संलग्न समस्त ज्ञात अज्ञात सर्जकप्रतिको सम्मान स्वरुप रहेको मोनाका संस्थापक राजन शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शब्दोच्चारण विना नै विनम्रताको उत्प्रेरणा दिनसक्ने यस्ता कलाकारका क्षमता निस्सन्देह महान् छ । यस्ता कलाकारको सम्मान र नेपाली कलाको सम्मानमा प्रदर्शनी आयोजना गरिएको हो ।’
उहाँले यस प्रदर्शनीमार्फत् म्युजियम अफ नेपाली आर्ट (मोना) ले यस्ता ज्ञात तथा अज्ञात, नामकृत तथा नामहीन, विगत तथा वर्तमानका सबै कलाकारप्रति आफ्नो सम्मान अर्पण गर्ने प्रयास गरेको बताउनुभयो ।
सहभागी कलाकार राजप्रकाश तुलाधरले प्रदर्शनीबारे भन्नुभयो, ‘सारा संसार संकटबाट गुज्रिरहेका बेला पनि नेपाली कला विश्वमाझ लैजाने यो प्रयास सुरुवात्का रुपमा लिन सकिन्छ ।’ समय सहज भएका बेला पनि यस प्रकारको अनलाईन प्रदर्शनी जारी राख्न पर्ने उहाँको धारणा छ ।
प्रदर्शनीले नेपाली कलालाई इन्टरनेटको माध्यमबाट संसारभरी पु¥याउन महत्वपूर्ण सघाउँ पुग्ने प्रदर्शनीमा सहभागी अर्का कलाकार समुन्द्रमान सिंह श्रेष्ठले बताउनुभयो । ‘संसारनै ठप्प भएको यो विकराल समयमा पनि कलाकार र कलाकृतिलाई प्रविधिमैत्री बनाई प्रदर्शनी गर्नु निकै सराहनीय कार्य हो ।’
लकडाउनका कारण कलाकृति हेर्ने अवसर नपाएका दर्शक तथा पारखीका लागि प्रदर्शनीले निकै हौसला थप्ने कलाकार उजय बज्राचार्यले बताउनुभयो । उहाँले अनलाइनका माध्यमबाट नै अहिले कला प्रदर्शनी र कार्यक्रम भईरहदाँ हाम्रो देशमा पनि यस प्रकारको प्रयास निकै राम्रो रहेको उजय बताउनुहुन्छ ।
नेपाली समाज, संस्कृति र परम्परालाई कलामार्फत् उन्नत बनाउने विश्वास लिएर नेपाली म्युजियम अफ नेपाली आर्ट (मोना) स्थापना गरिएको संस्थापक शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसले गुमाइएका परम्परा तथा मूल्यमान्यतालाई पुनः जोड्ने र एकीकृत गर्ने, अनि कलाबाट टाढा रही हुर्किएका पुस्तालाई आफ्ना पुर्खाहरू र तिनका गाथाको सम्मानका लागि प्रेरित गर्ने लक्ष्य लिएको छ ।’
शाक्य भन्नुहुन्छ, ‘मोनाले नेपाली कलाको भव्यता र सौन्दर्य संसारका अगाडि प्रस्तुत गर्ने र कलामार्फत् नेपाल अनि नेपाली कला संस्कृतिबारे बुझ्न महत्वपूर्ण भुमिका खेल्नेमा विश्वास छ ।’
शाक्यले आफूहरुको लक्ष्य परम्परागत नेपाली कलालाई विश्वसामु परिचित बनाउनु, कलाकोे अन्वेषण गर्नु र साथमा समसामयिक कलालाई पनि उत्प्रेरित गर्दै प्रवर्धन गर्नु रहेको बताउनुभयो । म्युजियमले हाल सम्म नेपालका चर्चित तथा युवा कलाकार गरि ४९ जनाको कला संकलन गरिसकेको छ ।

SHARE THIS