कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिः आर्थिक स्थायित्व कायम राख्ने राष्ट्र बैंकको प्रतिबद्धता

गीता पौडेल
काठमाडौं । कोभिड–१९ को संक्रमण न्यूनीकरणका लागि लागू गरिएको घरमै बस्नुपर्ने व्यवस्थाले अर्थतन्त्रमा पारेको प्रभावलाई राष्ट्र बैकले सूक्ष्म ढङ्गले अध्ययन गरिरहेको छ ।
राष्ट्र बैक स्थापनाको ६४ औं वर्ष पूरा गरी ६५ औं वर्षमा प्रवेश गरेको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले मुलुकको पर्यटन, उद्योग, व्यापार, व्यवसाय तथा वित्तीय क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै राष्ट्र बैंकबाट सम्बन्धित सबैलाई सहज हुनेगरी केही राहत कार्यक्रमहरू घोषणा गरी कार्यान्वयनमा ल्याई सकेको बताउनुभयो ।
कोभिड–१९ बाट प्रभावित क्षेत्र तथा वर्गप्रति संवेदनशील रही जिम्मेवारीबोधका साथ राष्ट्र बैंकले वित्तीय क्षेत्रबाट समेत राहत सहुलियत प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले केही सहुलियत तथा छुटहरू प्रदान गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । सामाजिक दूरी कायम गर्न घरमै बस्नुपर्ने भएका कारण ऋणीहरूलाई कर्जा भुक्तानीमा हुनसक्ने असहजतालाई मध्यनजर गर्दै २०७६ चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक÷त्रैमासिक किस्ताहरूको भुक्तानी अवधि तीन महिनाले बढाइएको र समयमै भुक्तानी गर्ने ऋणीहरूलाई मासिक÷त्रैमासिक ब्याज रकममा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको निरन्तरतामार्फत् आर्थिक गतिविधि चलायमान होस् भन्ने उद्देश्यले राष्ट्र बैंकबाट नियामकीय छुटसम्बन्धी विभिन्न निर्देशनहरू जारी गरिएको उहाँले बताउनुभयो । यसअन्तर्गत अनिवार्य नगद मौज्दात तथा बैंक दर कटौती गर्ने, ब्याजदर करिडरका दरहरूमा समायोजन गर्ने, कन्ट्रीसाइक्लिकल क्यापिटल बफर सम्बन्धी व्यवस्था स्थगन गर्ने, चैत महिनामा नवीकरण गर्नुपर्ने कर्जाहरू नवीकरण नभएको आधारमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्न अनिवार्य नगरिने, कोभिड–१९ को उपचारका लागि सेवा विस्तार गर्न चाहने स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई प्रवाह गरिने कर्जालाई प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न दिइने जस्ता व्यवस्थाहरू समावेश गरिएका छन् ।
कोभिड–१९ को फैलिदो संक्रमणको असहज परिस्थितिबाट पर्यटन, उद्योग, व्यापार, व्यवसाय लगायतका क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्दै आर्थिक गतिशीलता बढाउन राष्ट्र बैंकमा रहेको ५० अर्ब रुपियाँको पुनरकर्जा कोषलाई ६० अर्बको बनाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र  बैंकबाट प्रदान गरिने पुनरकर्जा सुविधामा कोभिड–१९ बाट प्रभावित साना तथा मझौला उद्यमीलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ भने चालू पुँजी प्रकृतिका अल्पकालीन कर्जाहरूको भुक्तानी अवधि ६० दिनसम्म थप हुने व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगारमा जाने अनुमति लिई जान नपाएका व्यक्तिहरूलाई राहत दिन विशेष व्यवस्था गरिएको छ जसअनुसार त्यस्ता व्यक्तिहरूले सहुलियतपूर्ण कर्जा लिई उद्योग व्यवसाय सञ्चालन गर्न चाहेमा संक्रमणको जोखिम समाप्त भएपछि निवदेन दिएको सात दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
संघ र प्रदेशमा स्थापना भएका कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा वित्तीय क्षेत्रबाट समेत सहयोग पुगोस् भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरूले त्यस्ता कोषहरूमा गरेको योगदान रकमलाई सामाजिक उत्तरदायित्व खर्चअन्तर्गत गणना गर्न पाउने व्यवस्था मिलाइएको गर्भनर अधिकारीले बताउनुभयो ।
स्वास्थ्योपचारसम्बन्धी वस्तु तथा उपकरण, औषधी, खाद्यान्नलगायत अत्यावश्यक मालवस्तु पैठारी तथा विक्री वितरणका लागि माग हुने कर्जा शीघ्र प्रक्रियाबाट उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी कोभिड–१९ सँग सम्बन्धित अत्यावश्यक औषधीजन्य सामग्री तथा स्वास्थ्य उपकरणको आयातलाई सहज बनाउन यस बैंकबाट प्रदान हुँदै आएको विदेशी विनिमय सटही सुविधालाई सहज बनाइएको छ ।
प्रतिकूल परिस्थितिमा बढीभन्दा बढी सेवाग्राहीले विद्युतीय माध्यमबाट बैंकिङ सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाइएको छ भने विद्युतीय कारोबार गर्दा २०७७ असार मसान्तसम्म कुनै पनि सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
अहिले समय चुनौतिपूर्ण रहेको भन्दै उहाँले भन्नुभयो – ‘बैंकिङ व्यवस्थाको तरलताको मुख्य स्रोत रेमिट्यान्स नै हो । यसमा हाम्रा एसेसमेन्टहरु लाग्ने छन् । हाम्रो अर्को ठूलो दबाब बाह्य क्षेत्रसँग छ । रेमिट्यान्स चैतदेखि घटिरहेको छ । श्रम बजारमा ठूलो समस्या  छ । स्वास्थ्य संकट र आर्थिक संकट एकै पटक व्यहोर्नुपर्दा विश्वभर नै ठुूलो सन्त्रास मच्चिएको छ । सन् २०२० मा विश्व अर्थतन्त्र तीन प्रतिशतले संकुचन हुने प्रक्षेपण अन्तराष्ट्रिय मुद्र कोषले गरिसकेको छ । विगत तीन वर्ष लगातार उच्च आर्थिक बृद्घिको बाटोमा हिंडेको नेपालका लागि पनि असहज अवस्था उत्पन्न भएको छ । पन्ध्रौं योजनाको अन्त्यसम्म दोहोरो अंककाृ आर्थिक बृद्घि हासिल गर्ने लक्ष्यमा धक्का लागेको छ । हाम्रा उपभोग, उत्पादन र पूर्वाधार निर्माणका कामहरु प्रभावित भएका छन् । विशेषगरी मजदुर वर्ग, साना व्यवसायी र पर्यटन क्षेत्रमा कोभिड १९ बाट सिर्जित संकटको प्रभाव गहिरो छ ।’
राहतका लागि राष्ट्र बैंकले दुई चरणको सर्कुलर ल्याएको जानकारी दिंदै गर्भनर अधिकारीले भन्नुभयो –‘न्यूनतम आवश्यकताहरु नै हामीले सम्बोधन गरेका छौं । यो दीर्घकालिन समाधान होइन । तत्कालिनअवस्थालाई फुकाउने अवस्था हो । स्वास्थ्यका हिसाबले सबै तनावमा छौं । थप बैंकको किस्ता तिर्ने विषयमा तनाव नहोस । जसले सक्दैन उसले पर तिरेपनि हुन्छ । यसबाट उहाँहरुले एक खालको राहत महसुस गर्नुहुन्छ । वित्तीय तनावबाट बाहिर निस्कनुहुन्छ भनेर यसरी सारिराख्दा बैंकिङ क्षेत्रलाई अर्को भार पर्छ । त्यसलाई न्यूनीकरण गर्नका लागि सीआरआर रेट न्यूनीकरण, रिफाइनान्सिङका मापनहरुलाई सबै कुरा यही पर्याप्त त छैन । आजकोे असहज अवस्थामा नेपाल राष्ट बैंकले आफ्नो मौद्रिक एवं वित्तीय औजार परिचालन गरी अर्थतन्त्रका सबै सरोकारवालामा विश्वास जगाई राख्ने वातावरण बनाएको छ भोली अवस्था सामान्य हुनासाथ सजिलै व्यवसायमा फर्किने अवसर हामीले तर्जुमा गरको आजका नीतिले प्रदान गरेको छ । वास्तवमा तरलता सहज बनाउने ब्याजदरमा केही कमी गर्ने र भालु पूँजी कर्जामा लचिलो हुने भन्ने व्यवस्थाले उद्यमी एवम व्यवसायीको मनोबल उच्च बनाइरहेको छ । कोभिड १९ को संक्रमणको त्रास सकिनासाथ समाजका सबै पेशा र वर्गका व्यक्तिलाई आफ्नो व्यवसायमा सहजै फर्किने अवस्था हाम्रा हाम्रा नीतिले बनाइदिएका छन् । व्यापार व्यवसाय बन्द गरेर घरभित्रै बस्नुपरेको अवस्थामा बैंकको ऋणको किस्ता भुक्तानी गर्नुपर्ने वाध्यता हामीले सिर्जना हुन दिएका छैनौं । असारभन्दा अगाडि केही प्याकेज व्यवस्था गर्छौं ।’
कोभिड–१९ को संक्रमणको प्रतिकुलताका कारण बैंकको वार्षिकोत्सवको औपचारिक समारोह आयोजना गर्न नसकिएतापनि सो अवसरमा विगत एक वर्षमा भए गरेका महत्वपूर्ण कार्यहरू उहाँले सार्वजनिक गर्नु भएको हो ।

SHARE THIS