घरेलु तथा साना उद्योग महासंघले हस्तान्तरण ग-यो स्वास्थ्य सामग्री


विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघले प्रदेश नं. १ मा कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दै गएको र नेपालको प्रदेश नं. १ अन्तर्गत उदयपुरमा यसका संक्रमितहरु अधिक देखिएका छन् । यसै परिप्रेक्ष्यमा त्यस जिल्लाका संक्रमितहरुको पहिचान, रोकथाम तथा उपचारका लागि सहयोग गर्ने उद्देश्यले महासंघले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा उदयपुर जिल्लाका त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।
प्रदेश नं. १ सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्राङगणमा हस्तान्तरण गरिएका सामग्रीहरुमा पि.पि.ई, मास्क, सर्जिकल ग्लोब, साबुनलगायत छन् । हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रीय महासचिव डम्बरप्रसाद रेग्मी, केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष शिवा उपाध्याय अन्जु तथा प्रदेश नंं. १ का पदाधिकारी, प्रदेश महिला उद्यमी समितिका सभापति नमिता न्यौपाने, मोरङ, सुनसरी र उदयपुर जिल्लाका अध्यक्षहरु क्रमशः नरेन्द्र हुमागाई, राजेन्द्र केशरी घिमिरे र मधुकर थापालगायतको उपस्थिति रहेको थियो ।

SHARE THIS