कोरोना संक्रमित झण्डै ३० लाख, मृत्यु हुने दुई लाख माथि

काठमाडौं । महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणका कारण विश्वभर झण्डै ३० लाख मानिस संक्रमित बनेका छन् भने यसबाट मृत्यु हुनेको संख्या दुई लाखभन्दा माथि लागेको छ ।
कोरोना भाइरस संक्रमणका कारण विश्वभर दुई लाख दुई हजार ८४६ जना मानिसको मृत्यु भएको छ भने २८ लाख ९६ हजार ७४६ मानिस संक्रमित भएका छन् । यसबाट निको भएर घर फर्किनेहरुको संख्या आठ लाख १६ हजार ६८५ पुगेको छ । नेपालमा यसबाट संक्रमित हुनेको संख्या ४९ पुगेको छ भने निको भएका १६ जना छन् ।
कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख ३६ हजार रहेको छ ।
चीनको सरकारी सञ्चार माध्यमका अनुसार कोरोना भाइरसका कारण पहिलो पटक ११ जनवरीमा मानिसको मृत्यु भएको थियो । त्यसपछि अहिलेसम्म यो भाइरस दुई सय १० देशमा फैलिएको छ ।
अमेरिकासहित पाँचवटा देशमा मृतक संख्या २० हजार भन्दा माथि छ । जसमा इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४ र बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।
बेलायती गृहमन्त्री प्रिती पटेलले मृतकको यो संख्या दुखदायी भएको बताएकी छन् । तर बेलायतमा मृतक संख्यामा घरमा र नर्सिङ होममा मृत्यु हुनेको संख्या जोडिएको छैन । त्यसैले मृतक संख्या अझ बढी हुने अनुमान गरिएको छ ।
फ्रान्समा मृतकको कुल संख्यामा केयर होममा मृत्यु हुनेको संख्या पनि जोडिएको छ । त्यहाँ मृतक संख्या अघिल्लो दिनको तुलनामा शनिबार ३ सय ६९ जनाले बढेको छ ।
अहिलेसम्म विश्वभर २८ लाख ६८ हजार पाँच सय ३९ जना संक्रमित फेला परिसकेका छन् । सबैभन्दा बढी अमेरिकामा नौ लाख २४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने स्पेनमा संक्रमितको संख्या दुई लाख २३ हजार नाघेको छ । इटालीमा अहिलेसम्म एक लाख ९५ हजारभन्दा धेरै संक्रमित भएका छन् ।
जर्मनीमा अहिलेसम्म एक लाख नौ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । त्यस्तै अमेरिकामा करिब एक लाख निको भएका छन् भने स्पेनमा पनि ९५ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाटै बेलायतमा ३३ जना नेपालीको मृत्यु
कोरोना भाइरसको संक्रमणबाटै बेलायतमा ३३ जना नेपालीले मृत्युवरण गरेका छन् । सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ ।
दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै विवरण राखेको र शनिबारमात्र सो आँकडा प्राप्त भएको जानकारी दिनुभयो । गोरखा वेलफेयर ट्रष्टमा अधिकृत तहमा कार्यरत ग्यारी घलेले ट्रष्ट भूपू गोरखाहरूका लागि काम गर्ने संस्था भएकाले बेलायतमा कोरोनाबाट निधन भएका केवल भूपू गोरखाको मात्र तथ्याङ्क राख्ने गरेको र दूतावासले सबै नेपालीको राख्ने हुँदा मृत्यु हुनेको सङ्ख्यामा फरक(फरक पाइएको हुन सक्ने बताउनुभयो ।
मृत्यु हुनेको संख्या अझ बढी हुनसक्ने आशङ्का गरिएको छ । मृत्यु हुनेका सबै परिवारले सञ्चारमाध्यमलाई घटनाबारे जानकारी नदिन पनि सक्छन् । परिवारको इच्छाविना अस्पतालले यस्ता घटना सार्वजनिक गर्दैन ।

SHARE THIS