‘विजनेस रिकभरी’का लागि प्रतिबद्धता भएको लगानी छिटो ल्याउनेः अर्थमन्त्री

 
काठमाडौं । सरकारले लकडाउन क्रमशः खुकुलो बनाउँदै लैजाने गृहकार्य थालेपनि अन्तर्रािष्ट्रय आवागमन खोल्न सक्ने स्थिति नभएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ । उहाँले भन्नुभयो, “व्यावसायिक गतिविधि र भौगोलिक गतिविधिलाई अलि खुकुलो बनाउँदै लैजानेतर्फ सोच्न थालिएको छ । त्यसमा हामीले गृहकार्य थालेका छौँ ।”
सरकारले लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गरी पूर्ववत् हालत (रिकभरी) योजना बनाइरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. खतिवडाले लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको, व्यापार व्यवसाय प्रभावित रहेको अवस्थालाई दृष्टिगत गरी पूर्ववत् अवस्थामा ल्याउने र त्यसभन्दा अगाडि बढ्ने योजनामा बनाइएको बताउनुभयो ।
अर्थ मन्त्रालयमा आइतबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा उहाँले सरकारले रिकभरीको योजना बनाउन थालेको बताउनुभयो ।
‘विजनेस रिकभरी’का लागि प्रतिबद्धता भएको लगानी छिटो ल्याउने, नयाँ लगानीका लागि छिटो स्वीकृति दिने लगानी कार्यान्वयनमा देखिएका समस्या छिटो कार्यान्वयन गर्ने र पैसा बढी परिचालित हुने स्थिति सिर्जना गरी अनुत्पादन खर्चलाई कम गर्ने उहाँको भनाई छ ।
सरकारले दैनिक ज्यालादारी गर्नेलाई राहत दिने व्यवस्था गरेको भए पनि त्यसमा हुने खानेले पनि सुविधा लिएको भन्ने गुनासो पनि आएकाले सत्य तथ्यको खोजी गर्नुपर्ने बताउनुभयो । आन्तरिक रुपमा उत्पादन हुने ऊर्जाको खपत बढाउनका लागि सरकारले विद्युतीय चुल्हो खरीदका लागि अनुदानसमेत दिएको उल्लेख गर्दै उहाँले विद्युत पुगेको क्षेत्रमा थप विद्युत् उपलब्ध गराउन र गुणस्तरीय सेवाका लागि समेत काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
सरकारको कोष त्यति सहज अवस्थामा नभएको स्पष्ट पार्दै उहाँले राजश्वको बृद्धि लक्ष्यको तुलनामा निकै कम भएकाले आन्तरिक स्रोत परिचालन गर्नुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो “राजश्वको स्रोत कम र कोरोनाका कारण खर्चको आवरश्यकता बढेकाले सरकारको आफ्नो ट्रेजरी त्यति सहज अवस्थामा छैन ।”
अर्थमन्त्रीले सरकारले उद्योगी व्यवसायीलाई कर, बैंकिङ सुविधा वा श्रम बजारको माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कोरोनाले समग्र क्षेत्रमा पारेको प्रभावका बारेमा सरकारले अध्ययन गरिरहेको र त्यसमा निजी क्षेत्रसँगको सहकार्यमा पनि होओस् भन्नेमा आफू तयार रहेको उहाँको भनाइ छ । बैंक तथा वित्तीय क्षेत्रलाई धेरै नाफा नखोज्न र उद्योगी व्यवसायीलाई सहुलियत दिनसमेत उहाँले ध्यानाकर्षण गराउनुभयो ।
लकडाउन खुल्ने बित्तिकै आन्तरिक पर्यटन बढ्ने र क्रमशः बाह्य पर्यटनसमेत बढ्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । कोरोना चुनौती मात्र नभई अवसरसमेत रहेको, कृषिमा टुटेको सम्बन्धलाई जोड्ने र विभिन्न क्षेत्रमा विद्युतीय कारोवार तथा प्रणालीको विकासमा समेत सहयोग पुगेको उहाँले बताउनुभयो ।


SHARE THIS