राष्ट्र बैंकको १७ औं गर्भनरमा अधिकारी


काठमाडौं । नेपाल राष्ट्र बैंकको १७ औं गर्भनरका रुपमा महाप्रसाद अधिकारी नियुक्त हुनुभएको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नरमा आगामी पाँच वर्षका लागि अधिकारीलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।
गर्भनर नियुक्तिका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि सोमबार नै तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले कामु गभर्नर चिन्तामणि शिवाकोटी, महाप्रसाद अधिकारी र पुर्व सचिव डा. राजन खनाललाई सिफारिस गरेको थियो ।
यसअघि पनि गभर्नरमा सिफारिसमा पर्नुभएका अधिकारीसँगै डा. चिरञ्जिवी नेपाल र गोपाल काफ्ले गभर्नरमा सिफारिस हुनुभएको थियो । अघिल्लो पटक नेपाललाई सरकारले गभर्नर बनाएको थियो । नेपाल पाँच वर्षे कार्यकाल पुरा गरेर चैत ५ गते अवकाश भइसक्नुभएको छ ।
गर्भनर नियुक्तिका लागि सरकारले एक साता अगाडि अर्थमन्त्री डा. युवराज खतिवडाको समितिमा पुर्व गभर्नरका तर्फबाट विजयनाथ भट्टराई र अर्का एक जनामा पूर्व सचिव कृष्णहरि बाँस्कोटालाई राखेर गभर्नर सिफारिस समिति बनाएको थियो ।
समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिहरू मध्येबाट दुईजना छान्नुपर्ने कानुनी व्यवस्था छ । एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी व्यवस्था रहेको छ । समितिले तीन जनाको नाम सिफारिस गरेपछि सरकारले त्यसबाट एक जनालाई गभर्नर नियुक्त गर्नुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार अधिकारीलाई गभर्नर नियुक्त गरिएको हो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहनुभएका अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेसन’ मा सन् १९८९ मा स्नातक तथा भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री हासिल गर्नुभएको छ । सन् २०१० को डिसेम्बरमा डेपुटी गभर्नर नियुक्त भएका उहाँ पाँच वर्ष काम गरेर अवकाश भएपछि लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको थियो ।
नेपाल राष्ट्र बैंकमा तीन दशक काम गरेको अनुभव गरिसक्नुभएका उहाँले राष्ट्र बैंकको विभिन्न विभागमा बसेर काम गरिसक्नुभएको छ । वित्तीय व्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर काम गरेको अनुभव उहाँसँग छ ।
नवनियुक्त गर्भनर अधिकारीले प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर राणासँग सपथ लिएर कार्यभार सम्हाल्नुहुने छ ।

SHARE THIS