नवनियुक्त गभर्नर अधिकारीद्वारा पद बहाली


काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर महाप्रसाद अधिकारीले मङ्गलबार पद बहाली गर्नुभएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्को सोमबारको निर्णय अनुसार बैंकको रिक्त गर्भनर पदमा नियुक्त हुनुभएका अधिकारीले मङ्गलबारै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिनुभयो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ मा बैंकको गभर्नरले प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।
गभर्नर अधिकारीको पदबहालीपछि बैंक परिसरमा आयोजित एक संक्षिप्त स्वागत कार्यक्रममा नवनियुक्त  गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणका कारण नेपालको अर्थतन्त्रसमेत प्रभावित भएको उल्लेख गर्दै मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्पm लैजान आपूm प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकले विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै उहाँले बैंकको छवि, स्वायत्तता एवम् निष्ठालाई कायम राख्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कोरोना भाइरसको संक्रमणका कारण व्यावसायिक वातावरण प्रभावित भएको अवस्थामा त्यसलाई समुचित सम्बोधन गर्नका निम्ति नेपाल राष्ट्र बैंक तयार रहेको धारणा गभर्नर अधिकारीले राख्नुभयो । कोरोना भाइरसको संक्रमणले परिस्थितिलाई कहाँसम्म पु¥याउँछ भन्ने कुराको कुनै निश्चितता नरहेको र आउने चुनौतीलाई सम्बोधन गर्नको निम्ति नेपाल राष्ट्र बैंकले आवश्यक पहल गर्ने धारणा उहाँले राख्नुभयो ।


नेपाल राष्ट्र बैंकसँग अनुभवी र सक्षम जनशक्ति रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले बैंकका लक्ष्य र उद्देश्य प्राप्तिको निम्ति एकजुट भएर अघि बढ्न कर्मचारीहरुलाई आह्वान समेत गर्नुभयो ।
कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ प्रणालीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम व्यक्तिलाई बैंकले गभर्नरको रुपमा पाएको उल्लेख गर्दै गभर्नर अधिकारीको सफल कार्यकालको निम्ति शुभकामना दिनुभयो । त्यस्तै डेपुटी गभर्नर शिवराज श्रेष्ठले सक्षम, इमान्दार र वित्तीय प्रणालीलाई बुझेको व्यक्तिलाई सरकारले गभर्नर नियुक्त गरेको उल्लेख गर्दै शुभकामना दिनुभयो ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघका कार्यबाहक अध्यक्ष रुद्रप्रसाद तिम्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रेशमराज रेग्मी र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशमबहादुर बल्छौडीले नवनियुक्त गभर्नर अधिकारीलाई सफल कार्यकालको निम्ति शुभकामना दिनुभयो ।
अधिकारी नेपाल राष्ट्र बैंकको सत्रौं गभर्नर हुनुहुन्छ । पूर्वी पहाडको खोटाङमा जन्मिनुभएका अधिकारी वि.सं. २०४२ मा राष्ट्र बैंकको सेवा प्रवेश गर्नुभएको थियो । उहाँ बैंकको उप–निर्देशक, निर्देशक, कार्यकारी निर्देशक हुँदै २०६७ पुसदेखि २०७२ पुससम्म बैंकको डेपुटी गभर्नरको जिम्मेवारीमा रहनुभएको थियो भने गभर्नरमा नियुक्त हुनुपूर्व उहाँ लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । उहाँले सन् १९९३ मा भारतको मद्रासस्थित द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सीको अध्ययन पुरा गर्नुभएको छ ।

SHARE THIS