साढे १३ सयको विन्दु पार गर्दै सेयर बजार, कारोबार दुई अर्ब नजिक


काठमाडौँ । सेयर बजारले साढे १३ सयको विन्दु पार गरेको छ । साताको पहिलो दिनको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ ।  अघिल्लो साता सामान्य गिरावट भएर बन्द भएको सेयर बजार मापक नेप्से परिसूचक यस दिन भने झण्डै २० अंकले उकालो लागेको छ । यस दिनको कारोबार रकममा पनि सुधार आएर दुई अर्ब नजिक पुगेको छ ।
आइतबार सेयर बजार मापक नेप्से परिसूचक १९.९७ अंकले उकालो लागेर १३६३.९७ को विन्दुमा पुगेर रोकिएको छ भने क वर्गका कम्पनी मापक सेन्सेटिभ इण्डेक्स १.५८ अंकले उकालो लागेर २८५.८२ को विन्दुमा रोकिएको छ । समग्रमा यस दिनको नेप्से १.४४ प्रतिशत र सेन्सेटिभ इण्डेक्स पनि ०.५६ प्रतिशतले उकालो लागेको छ ।
अघिल्लो साताको शुरुदेखि नै उकालो लाग्दै आएको सेयर बजार अन्तिम कारोबार दिनमा भने ओरालो लागेर बन्द भएको थियो । यद्यपि, कारोबार रकम भने अन्य दिनको तुलनामा बढेको थियो ।  बिहीबार सेयर बजार मापक नेप्से १.३९ अंकले ओरालो लागेर १३४४.५९को विन्दुमा पुगेर रोकिएको थियो भने  क वर्गका कम्पनी मापक सेन्सेटिभ इण्डेक्स १.३२ अंकले ओरालो लागेर २८४.२४ को विन्दुमा रोकिएको रोकिएको थियो । कारोबारको शुरुमा १३५४.६६ विन्दुमा पुगेको बजार बन्द हुँदाको समयमा भने घट्न पुगेको थियो ।

आइतबार १७६ कम्पनीको ४१ लाख पाँच हजार १३४ कित्ता सेयर कारोबार १८ हजार ८८५ पटक खरिदबिक्री हुँदा कुल एक अर्ब ९७ करोड ८१ लाख ७०१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २० करोडले बढी हो ।
अघिल्लो दिन १७२ कम्पनीका ३७ लाख २० हजार ९२ कित्ता सेयर कारोबार हुँदा कुल एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार ७४६ रुपियाँको कारोबार भएको थियो ।
वित्त, अन्य र म्युचुअल फण्ड बाहेक सबै सूचक उकालो लागेको आइतबार बीमा उपसमूहहरुको परिसूचक सबैभन्दा बढीले उकालो लागेको छ । निर्जीवन बीमाको परिसूचक ६.७२ प्रतिशत र जीवन बीमाको ५.२२ प्रतिशतले उकालो लागेको छ । उत्पादन र लघुवित्त उपसमूहको परिसूचक दुई  प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने व्यापार एक प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
अघिल्लो दिनको कारोबारमा आएका १२ उपसमूहमध्ये सात उपसमूहका परिसूचक बढेर कारोबार भएका थिए भने पाँच उपसमूहका परिसूचक ओरालो लागेर बन्द भएका थिए ।
सबैभन्दा बढी जीवन बीमा उपसमूहको परिसूचक १०२.७४ अंकले बढेको सो दिन निर्जीवन बीमा उपसमूह ५५.९२, उत्पादन तथा प्रशोधन ३८.६६, लघुवित्त २९.५४, व्यापार समूह २३.८९ अंकले पछ्याएको थियो । त्यस्तै होटल उपसमूह ३१.४३, बैङ्किङ उपसमूह ८.९४, विकास बैङ्क ८.६२, जलविद्युतउप समूह ३.४७ र म्युचल फण्ड ०.०५ अंकले ओरालो लागेका थिए ।
पाँच कम्पनीहरुको शेयरमूल्य नौ प्रतिशतभन्दा बढी उकालो लागेको आइतबार राधि विद्युत कम्पनीको शेयरमूल्य ९.४९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ९.४६, ङादी ग्रुपको ९.२४ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको ९.२३ र राष्ट्रिय बीमा कम्पनीको ९.१० प्रतिशतले उकालो लागेको छ ।
करिब दुई अर्बको कारोबार हुँदा हिमालयन डिष्टिलरी र शिवम सिमेन्टको सर्वाधिक शेयर खरिदबिक्री भएको छ । यस दिन १८ करोड बराबरको शेयर खरिदबिक्री भएर हिमालयन डिष्टिलरी र शिवम् सिमेन्ट्सको १३ करोड बराबरको शेयर खरिदबिक्री भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको पनि करिब साढे नौ करोडको शेयर कारोबार भएको छ ।

SHARE THIS