बीमा सेवा प्राप्त गर्न नसक्नेलाई सरकारले निःशुल्क स्वास्थ्य बीमा गरिदिने



काठमाडौँ । चरम गरिबीको रेखामुनि रहेका जनतालाई सरकारले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफैले योगदान गरेर बीमा सेवा प्राप्त गर्न नसक्ने समुहलाई सरकारले निःशुल्क स्वास्थ्य बीमा सुविधा दिने बताउनुभयो । राष्ट्रिय बीमा संस्थानको ५३ औं वर्ष प्रवेशको अवसरमा आइतबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले निःशुल्क गरेपछि साढे १६ लाख परिवारका ७५ लाख नागरिक बीमाको दायरामा आउने बताउनुभयो ।
बीमाको दायरा बढाउँदा साना, सीमान्तकृत र चरम गरिबीको रेखामुनी रहेकालाई पनि समेट्ने गरी लाग्न उहाँको आग्रह थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका डा. खतिवडाले बीमाका जोखिमलाई विविधिकरण गर्न पुर्नबीमाको जोखिमलाई पनि विविधकरण गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
सरकारले सामाजिक सुरक्षाको दायरा फराकिलो पार्न बीमाको पहुँच विस्तार हुने गरी बीमा सेवा प्रदायक निकायहरुको संस्थागत र प्रणालीगत सुधार गर्ने, घुम्ती बीमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उहाँले बताउनुभयो ।
बीमा सेवा प्रदायक संस्थाको व्यापक विस्तारका कारण पछिल्ला वर्षहरुमा बीमा सेवाको उल्लेख्य विस्तार भएको भन्दै उहाँले भन्नुभयो – ‘यसको बाबजुद हालसम्म नेपालको कुल जनसंख्याको २२ प्रतिशत जनतामा मात्र बीमाको पहुँच पुगेको परिप्रेक्षमा संस्थानको भूमिका अझ प्रभावकारी हुँदै जानुपर्ने देख्दछु ।’
संस्थानले संकलन गरेको बीमकको लगानीयोग्य रकमलाई सुरक्षित तथा प्रतिफलमुखी क्षेत्रमा लगानी प्रवाह गर्न सकिएमा यसले मुलुकको पूँजी बजार विकासतमार्फत आर्थिक विकासमा थप योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले नेपालको बीमा बजारमा दक्ष जनशक्तिको उत्पादन र विकासमा संस्थानको योगदानको कदर गर्दै संस्थानले आफनो वित्तीय विवरणको पारदर्शितामार्फत स्वस्थ्य व्यवसायिकताको मार्ग पहिल्याउन सक्नुपर्ने बताउनुभयो ।
संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कंडेलले नेपालको सबभन्दा पुरानो एक मात्र सरकारी बीमकको रुपमा संस्थानले  गौरबमय इतिहास बोकेको भन्दै एकै चौमासिकमा तीन गुना बिमा प्रिमियम जम्मा गर्न सफल भएको जनकारी दिनुभयो । प्रबिधियुक्त सेवाको शुरुवात नयाँ सफ्टवेयर र बीमा एप्सको प्रयोगबाट शुरु गरिएको भन्दै उहाँले भन्नुभयो – ‘यसलाइ आगामी बर्षमा तिब्र बिस्तार गरिने छ । केही बर्षयता देखि रोकिएको लेखा परीक्षण बीमा समितिबाट स्वीकृत गर्ने पक्रिया अघि बढाउने संकेत  देखिसकेको छ । आगामी बर्षको शुरुवातमै बिमांकीय मुल्यांकन स्विकृती प्राप्त हुना साथ  बाँकि रहेका साधारण सभाहरु सम्पन्न गर्ने छौं ।’
बजारमा प्रचलित अरु केहि बिमा प्रड्क्टहरु लन्च गर्ने र भएका केहि प्रोडक्टलाई अप्ग्रेड गर्दै जाने संस्थाको लक्ष्य रहेको जानकारी दिंदै उहाँले भन्नुभयो – ‘एकिकृत बिमा सफ्टवेयर जडान गर्ने, जनशक्तिको बृद्धि गर्ने, बांकी रहेको आर्थिक बर्षहरुको लेखा परिक्षण यथाशिघ्र सम्पन्न गरी यसको सेवा बिस्तारलाई आक्रमक रुपमा अघि बढाइ संस्थानलाई आजको प्रतिस्पर्धि बीमा बजारमा अग्रणी स्थानमा प्रमुख हिस्सेदारको रुपमा स्थापित गर्नु नै हाम्रो प्रमुख लक्ष्य रहेको  छ ।’
संस्थानका प्रशासक कविप्रसाद पाठकले चालु आ.ब. को प्रथम अर्ध वार्षिकको अन्त्यसम्ममा जीवन बीमा प्रदायकहरुको जीवन बीमा कोषमा रहेको दुई खर्ब ६५ अर्ब ७१ करोड मध्ये संस्थानको कोषमा २५ अर्ब ९६ करोड रहेको बताउनुभयो । सो अवधिमा संकलित बीमाशुल्क ४७ अर्ब छ करोडमध्ये संस्थानको पाँच अर्ब ६९ करोड रहेको भन्दै उहाँले भन्नुभयो – ‘यसरी हेर्दा कूल बीमाकोष र बीमाशुल्क संकलनमा संस्थानको हिस्सा क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ । त्यस्तै गरी संस्थानमा कूल बीमालेख संख्या संख्या छ लाख ८९ हजार रहेको छ ।’
विगतमा आठ वटा मात्र शाखा त्यो पनि निष्कृय अवस्थामा रहेकोमा हाल १४ वटा शाखा कार्यालय मार्फत व्यवसाय शुरु गरी सबै कार्यालयबाट बीमालेख जारी गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । यसै आ.ब. भित्रै थप १० वटा शाखा कार्यालयहरु स्थापना गरी २४ वटा पु¥याइने भन्दै प्रशासक पाठकले भन्नुभयो – ‘यस अवधिमा व्यवसाय विस्तारको अभिन्न अंग रहेको अभिकर्ताको संख्या उल्लेख्य रुपमा बृद्धि भएको छ । ग्राहकको माग बमोजिम पूरक करारको रुपमा दोहोरो दुर्घटना लाभलाई बृद्धि गरी ५० लाख पु¥याएको छ जानकारी दिंदै प्रशासक पाठकले भन्नुभयो – ‘घातक रोग  सुविधा स्वीकृतिको लागि बीमा समितिमा पठाइएको छ । त्यसै गरी नयाँ बीमा योजना सञ्चालनको लागि बीमाङ्कीकोमा पठाइएको छ ।’
कार्यक्रममा संस्थानमा आ.ब.२०७५÷७६ मा आर्जित बीमा शुल्कको आधारमा उत्कृष्ट १० जना अभिकर्तालाई पदक सहित प्रशंसापत्रद्धारा सम्मान गरिएको छ । सम्मानित हुने अभिकर्ताहरुमा मनकुमारी निरौला, सकुना अधिकारी शिवाकोटी,  बद्रिप्रसाद उप्रेती, शान्ति महर्जन, बुद्धिप्रसाद गौतम, राजन रिमाल, बीरेन्द्रबहादुर शंकर, लिलाबहादुर श्रेष्ठ, बुद्धिप्रसाद रेग्मी, सुभद्रा अधिकारी, कान्छा थापा क्षेत्री र टंकबहादुर राई हुनुहुन्छ ।

SHARE THIS