सेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार, नयाँ रेकर्ड कायम


काठमाडौँ । सेयर बजारमा आइतबार अहिलेसम्मकै उच्च कारोबार भएको छ । नेपालको सेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्बभन्दा बढीको कारोवार भएको छ ।
पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको सेयर बजारले साताको पहिलो दिन साढे तीन अर्बभन्दा बढीको कारोबार भएर पछिल्लो नयाँ रेकर्ड कायम गरेको हो ।
आइतबार १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता सेयरको ३० हजार ४५६ पटक खरिदबिक्री हुँदा कुल तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८२ करोड रुपियाँले बढी हो ।
यद्यपि कारोबारका हिसाबले यो दोस्रो रेकर्ड हो । अघिल्लो साताको अन्तिम दिन पनि दुई अर्ब ७८ करोड ५० लाख रुपियाँ भन्दा बढीको सेयर खरिदबिक्री भएर त्यो दिनसम्मको नयाँ रेकर्ड कायम भएर बन्द भएको थियो । त्यस अघि पनि दुई अर्ब ६८ करोडभन्दा बढीको कारोबार भएर पनि नयाँ रेकर्ड कायम गरेको थियो ।
फागुन ५ गते सोमबार भएको कारोबार रकम तीन वर्षमा धेरै थियो । यसअघि २०७३ साउन ११ गते हालसम्मकै सर्र्वािधक दुई अर्ब ७५ करोड ३७ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिनपश्चात एकै दिनमा भएको फाग्ुन ५ गतेको  कारोबार  धेरै थियो । सो दिन नेप्से परिसूचक पनि १८६६.५० विन्दुमा पुगेको थियो । जे होस औपचारिक रुपमा सेयर बजारकै करिब तीन दशकको इतिहासमा आइतबारको  कारोबार उच्चतम विन्दु हो ।
सेयर बजारमा आइतबार कारोबार रकमसँगै कारोबार संख्या र खरिदबिक्री भएको सेयरको संख्याको आधारमा पनि नयाँ रेकर्ड कामय भएको हो ।
आइतबारको कारोबार रकमसँगै सेयर बजार मापक नेप्से परिसूचक पनि दुई वर्षयताकै उच्च विन्दु अर्थात १५ सयभन्दा माथि लागेको छ । पहिलो दिन नेप्से परिसूचक ६९.५६ अंकले उकालो लागेर १५०४.१४ को विन्दुमा पुगेर रोकिएको छ भने क वर्गका कम्पनी मापक सेन्सेटिभ इण्डेक्स १७.०७ अंकले उकालो लागेर ३१७.५० को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा यस दिनको नेप्से ४.८५ प्रतिशत र सेन्सेटिभ इण्डेक्स पनि ५.६८ प्रतिशतले उकालो लागेको छ ।

लगानीकर्ताको मनोबल बढ्यो
पछिल्ला दिनमा बैंकहरुले सेयर लगानीकर्ताका लागि गरेको ऋणको व्यवस्था, नियमनकारी निकायहरुको सकारात्मक कदम जस्ता कुराले लगानीकर्ताको मनोबल बढेको बताउनुहुन्छ सेयर विश्लेषक पविन्द्र आचार्य । चाइनाबाट सामान आयात गरेर व्यापार गर्ने व्यापारी त्यहाँ देखिएको कोरोना भाइरसको कारण भएको पैसा सेयर बजारमा लगानी गर्न थालेका कारण पनि पछिल्ला दिनमा सेयर कारोबार रकम बढेको विश्लेषण उहाँको छ ।
आइतबार लगानीकर्ताको आकर्षण बैंकिङ क्षेत्रमा देखिएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको भन्दै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार भन्नुहुन्छ – ‘बजार विस्तारै बढ्छ भन्ने लागेको थियो । तर आइतबारको बृद्घि अचानक हो । आश्चर्य भने होइन । अब सेयर बजारको भविष्य उज्जवल छ ।’ ७० अंकले नेप्से बढ्नु र ३६० करोड रुपियाँको कारोबार समग्र सेयर बजारकै लागि ऐतिहासिक क्षण भएको भन्दै उहाँले बैंकिङ क्षेत्रको सेयर मूल्य एकदमै कम भएका बेला लगानी गर्ने मौकालाई सदुपयोग गर्दै लगानीकर्ता बैंकिङ क्षेत्रमा तानिएको विश्लेषण गर्नुहुन्छ ।
अबको सेयर बजारमा सामान्य करेक्सन भए पनि धेरै अन्तरले नघट्ने भन्दै उहाँले नयाँ लगानीकर्तालाई बजारमा प्रवेश गर्दा थप सजग हुनुपर्ने सुझाव दिनुहुन्छ । बजार बढेका बेला नयाँ लगानीकर्ता हौसिएर प्रवेश गर्नेभन्दा पनि सुझबुझपूर्ण तरिकाले प्रवेश गर्नुपर्ने भनाई उहाँ राख्नुहुन्छ ।
अघिल्लो साताको सुरुदेखि नै उकालो बाटो पछ्याएको सेयर बजार साताको अन्तिम कारोबारका दिनमा पनि दोहोरो अंकले सुधारिएको थियो ।
सेयर बजार मापक नेप्से २९.३२ अंकले उकालो लागेर १४३४.५७ को विन्दुमा पुगेको थियो । त्यस्तै क वर्गका कम्पनी मापक सेन्सेटिभ इण्डेक्स पनि ४.५० अंकले उकालो लागेर ३००.४४ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा नेप्से २.०९ प्रतिशत र सेन्सेटिभ इण्डेक्स १.५२ प्रतिशतले उकालो लागेको थियो ।
बैंकिङ, व्यापार उपसमूहसँगै आइतबार कारोबारमा आएका १२ वटै उपसमूहमा हरियाली छाएको छ । यस दिन बैंकिङ ८६.०१, ट्रेडिङ ७३.११, होटल ११.७७, विकास बैंक ८४.५९, हाइड्रोपावर ३३.७५, फाइनान्स २२.५६, निर्जीवन बीमा १३९.८५, उत्पादन र प्रशोधन ३८.६२, अन्य २४.६३, माइक्रोफाइनान्स ५४.८९, जीवन बीमा १९२.३६ र म्युचुअल फण्ड ०.२८ अंकले उकालो लागेका छन् ।
अघिल्लो साताको अन्तिम दिन बिहीबार कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहका परिसूचक बढेर बन्द भएका थिए भने व्यापार र म्युचुअल फण्ड उपसमूह भने क्रमशः १.१ र ०.३९ प्रतिशतले घटेका थिए ।
यस दिन सबैभन्दा बढी जिवन बीमा समूह ३८५.३९ अंकले, निर्जीवन बीमा उपसमूह ३७४.०१ अंकले उकालो लागेको थियो । त्यस्तै लघुवित्त उपसमूह १५९.३२ अंक, उत्पादन तथा प्रशोधन उपसमूह ९७.२६ अंकले बृद्धि भएका थिए । होटल समूह ४९.२७ अंक, बैङ्किङ समूह ७.९ अंक, विकास बैङ्क १०.०४ अंक, जलविद्युत उपसमूह १३.९२ अंकले उकालो लागेर कारोबार भएका थिए ।
कारोबार र नेप्से परिसूचक उच्च अंकले उकालो लागेसँगै आइतबार नौ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । फस्र्ट माइक्रोफाइनान्स, एनएमबि बैंक, स्वदेशी लघुवित्त, कालिका लघुवित्त र मेगा बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको यस दिन आरएसडिसी लघुवित्त, एभरेष्ट बैंकको परिवर्तिय अग्राधिकार शेयर, नेपाल एसबिआई बैंक र आईसीएफसी फाइनान्सको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको हो ।
आइतबार चार वटा कम्पनीको कारोबार रकम १० करोडभन्दा माथि लागेको छ । एनएमबि बैंकको कारोबार रकम १२ करोड ५६ लाख २१ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको आइतबार  नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र हिमालयन डिष्टिलरीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
यता समूहगत हिसाबले वाणिज्य बैंकहरुको सबैभन्दा धेरै शेयर खरिदबिक्री भएको यस दिन वाणिज्य बैंकहरुको मात्रै एक अर्ब २६ करोड १३ लाख रुपियाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, लघुवित्त कम्पनीहरुको यस दिन ६६ करोड ९१ लाख रुपियाँभन्दा बढीको शेयर खरिदबिक्री  भएको छ ।

SHARE THIS