बैकिङ् क्षेत्रमा नयाँ प्रबिधि र युवा भित्र्याउनुस

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको समग्र वित्तीय र बैंकिङ प्रणाली दक्षिण एशियामै सुदृढ रहेको बताउनुभएको छ ।
उहाँले निष्क्रिय कर्जा पत्याउनै नसक्ने गरी तल झरेकोमा त्यसको प्रशंसा पनि गर्नुभयो । मुलुकको आर्थिक बृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने उल्लेख गर्दै उहाँले भन्नुभयो – ‘अर्थतन्त्र भनेको जहिले पनि उकालो–ओरालो नै हो, यो सधैँ सरल र सिधा बाटोमा हिँड्दैन, हाम्रो भूगोल जस्तै अर्थतन्त्रको प्रवृत्ति हुन्छ ।’ अर्थतन्त्रका यथार्थ सूचकलाई बुझेर छलफल गरियो भने सकारात्मक बाटोमा हिँड्न सकिने उहाँको भनाई थियो ।
कृषि विकास बैंक लिमिटेडको ५३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – ‘नयाँ कर्मचारी आउन नदिँदा संस्थामा कुपोषण हुन्छ, ज्ञान सीप भएका कर्मचारी नल्याए संस्थाको अवस्था के हुन्छ ?’ पुराना कर्मचारी स्वतः प्रमोसनबाट माथि जाने तर युवालाई प्रवेश नगराउनु बैंकिङ क्षेत्रको दुर्भाग्य भएको उहाँको भनाइ थियो ।

मुलुकको बैंकिङ क्षेत्रमा प्रविधिसम्बन्धी ज्ञान भएका युवा पुस्तालाई अवसर दिन आग्रह गर्दै उहाँले बैंक तथा वित्तीय संस्थामा पुरानै कर्मचारीको हाली–मुहाली भएकोले त्यो किसिमको अखडा नबनाउन आग्रह गर्नुभयो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पछिल्लो समय सोचे अनुरुप बैंकले सहुलियत कर्जा वितरण गरेको नदेखिएकोले यसमा गम्भिर हुन आग्रह गर्नुभयो ।
कृषि कर्जा बाहेक तोकिएका अन्य कर्जामा आउने असार मसान्तसम्म प्रत्येक वाणिज्य बैंकले पाँच सय जनालाई कर्जा वितरण गरेको हुनुपर्नेमा जोड दिंदै डेपुटी गर्भनर सिवाकोटीले यसको कार्यान्वयन नगरे आर्थिक जरिवाना गर्ने बताउनुभयो ।
सम्पूर्ण वाणिज्य बैंकहरुले सहुलियतपूर्ण कर्जामा गम्भिर हुन आग्रह गर्दै उहाँले भन्नुभयो – ‘सहुलियतपूर्ण कर्जा नेपाल सरकारले सुरक्षण गरेको अवस्था छ, सुरक्षणवापतको दस्तुर नेपाल सरकारले ७५ प्रतिशत तिरेको छ, कर्जा डुब्यो भने नेपाल सरकारले ग्यारेन्टी पनि गरेको छ, कर्जा वितरण गर्न वाणिज्य बैंकलाई कन्जुस्याईँ किन ?’
बैंकर्स एशोसिएशनका अध्यक्ष भुवन दाहालले बैंकलाई कृषि क्षेत्रमा ठूला आयोजनाका लागि लगानीको नेतृत्व गर्न सुझाव दिनुभयो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालले खुला बजार, निजीकरण र प्रतिस्पर्धाको पछिल्लो चरणमा नेपाल सरकारको ‘बैंक तथा वित्तीय क्षेत्र सुधार कार्यक्रम’ अन्तर्गत बैंकको पुनसंरचनाका लागि एशियाली विकास बैंकको ऋण तथा प्रविधि सहयोगमा २०६३ सालमा कम्पनी ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अन्तर्गत क वर्गको नेपाल राष्ट्र बैंकवाट इजाजत प्राप्त गरी नेपाल सरकारको ५१ पतिशत र सर्वसाधारणको ४९ प्रतिशतको शेयरमा अधिकांश कृषक भएको संचरनामा रही आफ्नो बलियो पूँजी संरचना, प्रविधियुक्त भएर अगाडि बढिरहेको बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकले एक वर्षको बीचमा वित्तीय परिसूचकमा उल्लेख्य सुधार गरेको बताउनुभयो । बैंकको गत वर्षको पुस मसान्त र यो वर्षको पुस मसान्तको तथ्यांक विश्लेषण गर्दा परिसूचकमा उल्लेख्य सुधार भएको देखिएको उहाँको भनाई छ ।
कार्यक्रममा बैंकका पूर्व कार्यकारी अध्यक्ष तथा महाप्रवन्धक श्रीकृष्ण उपाध्याय, पूर्व उपमहाप्रबन्धक शंकरमान श्रेष्ठ, पूर्व उपमहाप्रबन्धक पशुपति मिश्र तथा बैंकका पूर्व विभागीय प्रमुख चन्द्रमान प्रधान, मुकुन्द बहादुर बिष्ट, नरेन्द्र केसी, पूर्व शाखा प्रमुख गीता मिश्र र विजय मल्ललाई सम्मान गरिएको थियो । साथै बैंकमा २५ र २० वर्ष काम गर्ने कर्मचारीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।


SHARE THIS