ओरालो लाग्यो शेयर बजार, कारोबार कमी हुने कम्पनी बढे

काठमाडौं । साताको शुरुदेखि केही सकारात्मक बनेको सेयर बजारमा बुधबार केही ‘करेक्सन’ भएको छ । अघिल्लो दिन १ अर्व  १० करोड भन्दा बढीको कारोबार भएको बजारमा बुधबार पौने एक अर्ब भन्दा पनि कमको व्यापार भएको छ । बजारमा अल्पकालिन कारोबारी हाबी भएको र पुस मसान्त नजिकिएको  कारण यस्तो अवस्था  सिर्जना भएको बजार विश्लेषकहरुको भनाइ छ ।
पुस समन्तभित्र धेरै लगानीकर्तालाई बैङ्कको कर्जा चुक्ता गर्नु पर्ने दवाव बढेकाले  बजार अनपेक्षित  रुपमा तलमाथि भइरहेको बजार विश्लेषकहरुको भनाइ छ ।
अघिल्ला दिनहरुमा दोहोरो अंकले उकालो लागिरहेको बजार बुधवार सेयर बजार मापक नेप्से ७.३२  अंकले ओरालो लागेर १२०९ को विन्दुमा रोकिएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इण्डेक्स पनि १.५० अंकले ओरालो लागेर २६३.३१ अंकमा पुगरेर रोकिएको छ । समग्रमा यस दिन नेप्से ०.६० प्रतिशत र सेन्सेटिभ इण्डेक्स ०.५७ प्रतिशतले ओरालो लागेको छ ।
अघिल्लो दिन मंगलबार सेयर बजारमापक नेप्से १६.२३ अंकले वृद्धि भई १२१६.९२ को विन्दुमा पुगेको थियो भने सेन्सेटिभ इण्डेक्स पनि ४.१३ प्रतिशतले बढेर २६४.८१  विन्दुमा पुगेको थियो ।
बुधबार १७२ कम्पनीका २१ लाख ८५ हजार ३९७ कित्ता सेयर किनबेच भएको छ । यसबाट कूल ७३ करोड आठ लाख ५२ हजार ३४५ रुपियाँको कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा ३७  करोड १८ लाख भन्दा  कम कारोबार हो ।
मंगलबार १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता सेयर किनबेच भएको थियो । यसबाट कूल एक अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ रुपियाँको कारोबार भएको छ ।
बुधबार  वित्तीय, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहका परिसूचक बाहेक अन्य सबै परिसूचक घटेका छन् । बजारलाई सकारात्मक बनाउन सहयोग गर्दै आएको बैङ्किङ उपसमूहको परिसूचक १.०२ र ब्यापार उपसमूह १.१२, निर्जीवन बीमा १.३३ प्रतिशतले ओरालो लागेको छ ।
कारोबारमा वमी अग्रणी
आजको कारोबारको आधारमा सबैभन्दा बढी कारोबार गर्नेमा वमी लघुवित्त वित्तीय संस्था रहेको छ । अन्तिम सेयर मूल्य ८९५ रुपियाँ कायम रहेको संस्थाले सात करोड १५ लाख ८३ हजार ६४२ रुपियाँको कारोबार गरेको छ । त्यसलाई चार करोड २८ लाख रुपियाँ भन्दा बढीको कारोबार गरेर एनआइसी एसियाले पछ्याएको छ । अघिल्लो दिन अग्रस्थान बनाएको माछापुच्छ«े बैङ्क लिमिटेड करीब दुई करोड ३६ लाख रुपियाँको कारोबार गर्दै तेस्रो स्थानमा झरेको छ । त्यस्तै डिप्रोक्स लघुवित्त,  प्रभु बैङ्कले पनि दुई करोड रुपियाँ भन्दा बढीको कारोबार  गरेका छन् ।
सेयर कारोबार संख्याको आधारमा भने माछापुच्छ«े बैङ्क अगाडि रहेको छ । बैङ्कको एक लाख चार हजार २२३ कित्ता सेयर कारोबार भएको छ । त्यस्तै एनआइसी एसिया बैङ्कको ९८ हजार ३२१ कित्ता, प्रभु बैङ्कको ९० हजार ८७९ कित्ता र वमी लघुवित्त वित्तीय संस्थाको ८१ हजार  ३८० कित्ता सेयर कारोबार भएको छ ।
बुधवारको कारोबारबाट बढी कमाउनेमा समताल लघुवित्त वित्तीय संस्था, वमी लघुवित्त वित्तीय संस्था, रिलाइन्स फाइनान्स, माउण्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।
 त्यस्तै बढी गुमाउनेमा लुम्बिनी बिकास बैङ्क, अरुण काबेली पावर लिमिटेड, युनियन हाइड्रोपावर, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थका लगानीकर्ता बढी गुमाउनेमा परेका छन् ।

SHARE THIS