ग्रील तथा स्टील व्यवसायीहरुले मलाई विश्वास गरेर ग्रील तथा स्टील व्यवसायी महासंघको अध्यक्ष जस्तो जिम्मेवार पदमा निर्वाचित गराउनु भएको आज दुई वर्ष पुरा भएको छ । सम्पुर्ण मित्रहरुमा हार्दिक आभार व्यक्त गर्न चाहान्छु जसले मलाई यो पदमा बहाली गराउन विशेष भुमिका निर्वाह गर्नु भएको थियो ।
अन्तराष्ट्रिय इतिहासलाई नियाल्ने हो भने निश्चित समुदाय वा विषयलाई उठान गरी त्यसलाई परिपक्व बनाउन संघ संस्थाहरु दर्ता भएर वा नभएर संगठित रुपमा अगाडि बढेर धेरै परिवर्तन र उपलब्धिहरु हासिल गरेको देख्न सकिन्छ ।
हामीले पनि २०५० साल तिरबाट संगठित भएर ग्रील तथा स्टील व्यवसायीहरुलाई संगठित गर्दै ३० औं वर्षको यात्रा तय गर्दा सम्म धेरै उपलब्धीहरु हासिल गरेका छौं ।
ग्रील तथा स्टील व्यवसायीहरुको त्याग र समर्पणबाट हिजो एक अर्कामा बोल्न समेत नचाहने व्यवसायीहरु आज एउटै टेबलमा बसेर वैचारिक विमर्श तथा कार्य सम्पादनमा समेत सहकार्य गर्न तयार भएको अवस्थाले हामीले ल्याएको परिवर्तनको चित्रण गरिरहेको छ ।
महासंघ पनि परिवर्तको लागि आम व्यवसायीहरुको हकहित र उत्थानको लागि हामी कतिसम्म निर्मम हुने र कतिसम्म लचक हुने भन्ने कुरा समयले माग गरे बमोजिम चल्दै आएका छौं ।
नेतृत्व सफल हुने या असफल हुने भन्ने कुरामा उसँग रहेको टिमले कस्तो काम गर्छ, कति जिम्मेवारी वोध गर्छ त्यसले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । नेतृत्वलाई स्थापित गराएर लैजान सके आफु पनि स्थापित भइन्छ र संगठन पनि बलियो हुन्छ भन्ने मान्यतालाई हामी सबैले स्विकार गर्नुपर्ने हुन्छ ।
हामीले समयसापेक्ष रुपमा महासंघलाई अगाडी बढाउन विधान संसोधन कार्यलाई समेत पूर्णता दिएका छौं । ग्रील तथा स्टील व्यवसायी महिला भेला गरेर एक समिति बनाएर अगाडी बढेका थियौं, यसले यो व्यवसायमा महिलाहरुको सहभागितालाई समेत शुनिश्चित गरिदिएको निकै चर्चा चलेको छ, यसलाई हामीले एक महत्वपूर्ण उपलब्धीको रुपमा लिएका छौं ।
महासंघ बलियो हुनको लागि हाम्रो संगठनमा आबद्ध भएका व्यवसायी बलियो हुन जरुरी छ । व्यवसायीहरुको नजिकै रहेर काम गर्ने भनेको इकाई समिति हो त्यसकारणले सबै इकाई समितिहरु हाम्रो संगठनको मेरुदण्ड भएर उभिएका छन् । इकाईहरुको व्यवस्थापन र केहि आधिकार क्षेत्रको दायरा फराकिलो बनाएर लानुपर्ने अवस्था देखिएको थियो । हामीले दुई वर्षको अवधिमा त्यसलाई व्यवहारीक कार्यन्वयनमा जाने प्रयत्न स्वरुप संगठनलाई राज्यको संघिय संरचनामा मेल खाने गरि संगठन पुर्नगठन गर्ने प्रकृया अगाडी बढाई सकेका छांै ।
सबै इकाईहरुको व्यवस्थापन गरि रहेको क्षेत्र तथा जिल्ला समितिहरुलाई समेत क्रियाशील बनाएर महासंघलाई बलियो बनाउन सकिने कुरामा विश्वास गर्दै नेतृत्व विकासका तालिमहरुदेखि निःशुल्क टीटी खोप र आँखा शिविरहरु, फुटबल प्रतियोगिता लगायतका मुल्य बृद्धि विरुद्धका कार्यक्रमहरु सञ्चालन गरेको थियौं । यस कार्यले व्यवसायी व्यवसायी बीचमा भावनात्मक एकता पैदा हुन सफल भएको छ ।
आम व्यवसायी, इकाई समिति क्षेत्र तथा जिल्ला समितिहरुबाट आएका सुझाव सल्लाह तथा रिपोर्टको आधरमा मात्र महासंघले योजना बनाएर अगाडी बढ्ने भएकोले यसै अनुरुप कार्यहरु अगाडी बढी रहेकै छन् ।
हामीले हाम्रो संगठनलाई मजबुत बनाएर अगाडी बढाउँदै लैजाने तथा ग्रील व्यवसायलाई उद्योगको रुपमा विकास गर्ने योजना बनाउनु आजको आवश्यकता थियो त्यसैले अनाधिकृत रुपमा बजार बिगार्न आएका अबैधानिक मिस्त्री तथा व्यवसायीको मेसिन नै कब्जा गरेर कार्बाहिको दायरामा जान बाध्य बनाएका छौं ।
राज्यको करको दायरामा पनि आउन नचाहने हाम्रो संगठनमा पनि जोडीन नचाहाने अवैध ब्यवसायीहरुको हकमा भने हामि निर्मम बन्नैपर्ने अवस्था छ ।
यिनको कारण भएको उपभोक्ता ठगि तथा बजारको अस्थिरताको बिषयमा ठोस नीति बनाएर स्थानिय सरकार र स्थानिय प्रशासन संगको सहकार्यमा कारबाही प्रक्रिया अगाडि बढाउन सबै इकाईहरु कृयाशील नै बनिरहेका छन् ।
हामीले आफ्नो तर्फबाट गर्नुपर्ने सुधारहरु तथा मापदण्ड पुर्याउँदा पनि नेपाल सरकारले हामिलाई दर्ता गर्न आनकान गर्छ भने त्यसको कानुनी तथा व्यवहारीक उपचारको खोजि किन नगर्ने भन्दै हामीले प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री, उद्योग मन्त्री, श्रम मन्त्री तथा माननीय उर्जा तथा जलश्रोत मन्त्रीसँग भेटघाट गरि सात बुँदै ज्ञापन पत्र समेत बुझाएका छांै ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री ज्यूको सहयोगमा यो वर्षदेखि हामीले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठान समिति, राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा हाम्रो व्यवसाय लाई आवश्यकपर्ने विभिन्न तालिमहरु सञ्चालन गर्ने सम्झौता समेत गरेका छौं । त्यसका लागि कार्यक्रमको मोडल तयार गर्न महासंघबाट तोकिएका प्रतिनिधिहरुले विभिन्न विज्ञहरुसँग परामर्श गरिरहनु भएको छ ।
सर्वप्रथम त हामीले आम व्यवसायीहरुलाई संगठनको महत्व, मीसन र भिजनको बारेमा स्प्रष्ट बनाएर एक ढिक्का बनाउन जरुरी छ । हाम्रो संगठनमा नजोडिएका व्यवसायीहरुलाई जोड्न पहल गर्दै हाम्रो संगठनमा जोडिएकाहरुलाई व्यवस्थित गर्न भरपुर प्रयासहरु भइरहेका छन् ।
जस अनुरुप लुम्बिनी प्रदेशमा प्रदेश समिति अगाडि बढिरहेको छ भने बागमती प्रदेशमा समिति गठन गर्न तदर्थ समितिको घोषणा गरिएको छ । त्यस्तै कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशहरुमा महासंघका उपाध्यक्ष ज्यूहरु संयोजक रहने गरि संगठन बनाउने तयारी भइरहेको छ ।
महासंघबाट गर्नुपर्ने विभिन्न कामहरुलाई सहज बनाउन उपाध्यक्ष ज्यूहरुको संयोजनमा उपसमितिहरु बनाई कार्यसम्पादन गरिएको छ । सबै समितिहरुले आ–आफ्नो कार्यहरु अगाडी बढाई रहनु भएको छ ।
हामीले धेरै कामहरु गर्नुपर्ने छ । समयको पावन्दिलाई ख्याल गर्दै आफ्नो कार्यकाल सफल बनाउन सिंगो महासंघको टिम जिल्ला समितिहरु, क्षेत्र समितिहरु तथा इकाई समितिहरु एक ढिक्का भएर उभिनुको विकल्प छैन ।
महासंघको वर्तमान कार्यसमितिलाई सफल बनाउन केही महत्वपूर्ण विषयमा गम्भिर भएर लाग्नुपर्ने अवस्था छ ।
खास गरि हामी स्वरोजगार व्यवसायी भएको कारण हामीलाई अहिलेको आर्थिक मन्दी र मुल्यबृद्धिले निकै प्रभाव पारिरहेको छ । यसको प्रभाव न्यूनीकरण गर्न महासंघले ठोस कार्ययोजना बनाएर अगाडी बढ्नुपर्ने हुन्छ ।
अन्य क्षेत्रगत महासंघ जस्तै हाम्रो महासंघलाई पनि सरकारसँग सहकार्य गरी कार्यक्रमहरु प्राप्त गर्न र हरेक वर्षको बजेटमा हाम्रो संगठनलाई समाहित गराएर विभिन्न किसिमका तालिमको व्यवस्था गरी दक्ष कामदार उत्पादन गर्न हामीले सरकारको उपल्लो निकायमा पहल गरिरहेका छौं ।
केही समय भित्र जग्गा खरिद गरेर वा लिजमै लिएर भएपनि महासंघको आफ्नै भवन बनाउनु पर्छ भनेर उपसमिति गठन गरि कार्यहरु अगाडी बढाई रहेका छौं ।
हार्डवेयर व्यवसाय र ग्रील तथा स्टील व्यवसायको बीचमा नङ र मासुको सम्बन्ध हुनुपर्नेमा पछिल्लो समय केही दरार पैदा भएको महशुस भएको अनुभुति भएकोले यी दुई व्यवसाय बीचको सम्बन्ध सुमधुर बनाउन महासंघले छलफल र अन्तरक्रिया गर्दै अगाडी बढाउने छ । रोलिङ मिल तथा विभिन्न कम्पनीहरुसँग समेत समन्वय गर्दै जाने नीति तय गरिरहेको छ ।
सहकार्य र सम्बन्ध विस्तारको बहानामा गैरकानुनी काम गर्ने छुट कसैलाई पनि हुँदैन तसर्थ गुणस्तर तथा नापतौल विभाग आन्तरिक राजस्व विभाग, स्थानीय सरकार र स्थानीय प्रशासनसँग सहकार्य गरेर बेलाबेलामा महासंघको अनुगमन टोलिले छड्के अनुगमन गर्दै गैरकानुनी कामलाई निरुत्साहित गर्न महासंघ योजनाबद्ध तरिकाले अगाडी बढिरहेको छ ।
हाम्रो व्यवसाय हरेक हिसाबले जोखिमयुक्त व्यवसाय भएकोले कर्मचारीको दक्षताको आधारमा श्रम ऐन बमोजिम सेवा सुविधा सहितको कर्मचारी नियुक्ति, कम्पनी ऐन र नियम बमोजिम जीवन बीमा म्यादि बीमा स्वास्थ्य बीमा, मुल्यमा एकरुपता र अन्य आधरभुत कुराहरु उत्पादनबाट हुने खुद मुनाफाबाट गर्नुपर्ने सामाजिक उत्तरदायित्वलाई समेत संस्थागत गर्दै लैजाने विषयमा महासंघले सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा कार्यक्रहरु बनाउने छ । मुल्य सूची प्रकाशन गरि आम व्यवसायीहरुको व्यवसायमा पुर्याउने कार्य भएको छ ।
आम व्यवसायीहरुको लगानी रहेको सहकारी संस्था तथा हार्डवेयर र कम्पनीहरुलाई माथि उठाउन सबैले सहयोग गर्नुपर्ने अवस्था छ ।
एक व्यवस्थित कार्यविधि बनाई अक्षय कोष या भलाई कोष स्थापना गरेर त्यसबाट सुख दुःखमा आम व्यवसायीहरुलाई साथ दिन सकिने अर्थ संकलन र परिचालनको नीति बनाइने छ ।
अबको कार्यहरुमा मुख्य त महासंघको कार्यालय सञ्चालन चुस्त र दुरुस्त बनाउन सबैले हातमा हात काँधमा काँध राख्नुपर्ने अवस्था छ ।
महासंघको नेतृत्व सफल हुनु भनेको आम व्यवसायी तथा तपाई संगठनका सबै पदाधिकारीहरु सफल हुनु हो । यसलाई मनन् गर्दै सामुहिक नेतृत्वको विकास गर्ने तथा प्रभावशाली उत्तराधिकारी उत्पादन गर्ने कुरामा मैले कहि कतै कुनै कसुर बाँकी राख्ने छैन ।
धन्यवाद जय ग्रील
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक उत्सवको अवसरमा महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठको मन्तव्यमा आधारीत