काठमाडौं । युनाइटेड टेलिकम कम्पनी (यूटीएल) ले आठ वर्ष अल्झाइदिएको गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क निर्माण गर्ने काम नेपाल टेलिकमले पाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गण्डकी तथा लुम्बिनी प्रदेशमा अप्टिकल फाइवर नेटवर्क मार्फत सूचना महामार्ग निर्माण गर्ने जिम्मा नेपाल टेलिकमलाई दिएको हो । दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले यसको लागि टेलिकमसँग सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।
प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी र नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सविना मास्के मानन्धरले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणले २०७४ वैशाख २५ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी दुई अर्ब एक करोड रुपियाँमा यूटीएललाई दुई वटा प्रदेशमा अप्टिकल फाइबर विछाउने जिम्मा दिएको थियो । तर, यूटीएलले कामै गर्न नसकेको र उसको लाइसेन्ससमेत खारेजीमा परेका कारण नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि उक्त कम्पनीले पाएको यो परियोजना अब नेपाल टेलिकमले बनाउने जिम्मेवारी पाएको हो ।
ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी गण्डकी तथा लुम्बिनी प्रदेशमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले ब्याकबोन नेटवर्क निर्माण गर्नेछ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जिम्मेबार तरिकाले सो परियोजनाको काम गर्न र समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।
प्राधिकरणका अध्यक्ष भण्डारीले यसअघि अन्य कम्पनीहरुलाई उक्त प्रदेशमा ब्याकबोन नेटवर्क निर्माणको जिम्मा दिइएकोमा लामो समयसम्म परियोजना शुरु नै गर्न नसकेपछि अहिले टेलिकमलाई दिइएको बताउनुभयो ।
सरकारले दिएको निर्देशन अनुसार दुई अर्ब एक करोड रुपियाँ लागत अनुमान रहेको परियोजना टेलिकमलाई दिइएको हो । कम्पनीले यहि आर्थिक वर्षभित्र काम शुरु गर्ने उहाँले बताउनुभयो ।
प्राधिकरणका अध्यक्ष भण्डारीका अनुसार परियोजनाले उक्त प्रदेशका १९४ स्थानीय तहसम्म नै ब्याकबोन नेटवर्क पुग्नेछ । यसको लागि ४८ कोरको एडीएसएस २६ ओटा डीडब्लुडीएम र ४० जीबीपीएसका राउटरहरु राखिनेछन् ।
परियोजना तीन वर्षमा पुरा गर्ने लक्ष्य राखिएको प्राधिकरण अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी कार्यक्रममा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देश सविना मास्के प्रधानले परियोजनाले थप जिम्मेबारी बढेको बताउनुभयो । दुबै प्रदेशका २३ जिल्लामा यसले कभरेजका साथै गुणस्तरीय दूरसञ्चार सेवा पु¥याउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले तोकिएको समयमा र तोकिएको गुणस्तरअनुसार काम गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै उहाँले परियोजनाहरू समयमै सम्पन्न गर्न गराउन अनुगमन संयन्त्रलाई चुस्त बनाई प्रस्तावित आयोजना तोकिएको गुणस्तर बमोजिम तोकिएको समय भित्र सम्पन्न गर्न निर्देशन दिनुभयो ।
परियोजनाले गण्डकी प्रदेश र लुम्बिनी प्रदेश अन्तरगत मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग तथा उत्तर–दक्षिण राजमार्गमा अप्टिकल फाइवर नेटवर्क मार्फत सूचना महामार्ग निर्माण तथा सञ्चालन गर्नेछ ।
समझदारी पत्रमा हस्ताक्षर भएको मितिबाट लागू हुने गरी ९० दिनभित्र नेपाल टेलिकमले विस्तृत आयोजना प्रतिवेदन दूरसञ्चार प्राधिकरण समक्ष पेश गर्नुपर्ने र १२० दिनभित्र यस आयोजना कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता गरिने गरी समझदारी पत्रमा उल्लेख गरिएको छ ।
आयोजनाबाट करिब १,९०० कि. मि. लम्बाईको नयाँ अप्टिकल फाइवर नेटवर्क निर्माण तथा सञ्चालन हुनेछ । सेवा प्रदायकहरुबीच उक्त पूर्वाधारको सहप्रयोग समेत हुने गरी सूचना महामार्ग सञ्चालन हुनेछ ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका १९४ स्थानीय पालिकामा उच्च क्षमताको सूचना महामार्ग निर्माण भई डिजिटल खाडल कम हुने तथा सर्वसुलभ र भरपर्दो रुपमा दूरसञ्चार एवं सूचना प्रविधि सेवा उपलब्ध हुने विश्वास लिइएको प्राधिकरणले जनाएको छ ।