नेपाल टेलिकमको नाफामा साढे तीन अर्बले गिरावट

काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा तीन अर्ब ५६ करोड रुपियाँले गिरावट आएको छ ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को चौंथो त्रैमासको वित्तीय विवरणअनुसार सो अवधिमा दुई अर्ब ६६ करोड रुपियाँ नाफा आर्जन गरेको हो । आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासमा टेलिकमको खुद नाफा ६ अर्ब २३ करोड रुपियाँ थियो । यसअनुसार टेलिकमको नाफा ५७.२१ प्रतिशतले घटेको छ ।

टेलिकमको कुल आय र कुल सञ्चालन आयमा पनि गिरावट देखिएको छ । टेलिकमको आम्दानी ८.०३ प्रतिशतले घटेको छ । गत आवको चौथो त्रैमासिकमा कम्पनीले ३८ अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेको छ । जबकि कम्पनीले अघिल्लो आव २०८०/८१ को सोही अवधिमा ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको थियो । अर्थात् कम्पनीको आम्दानी तीन अर्ब ३८ करोड रुपैयाँले घटेको छ ।

गत आवको चौथो त्रैमासिकसम्म टेलिकमको कुल सञ्चालन आय ३४ अर्ब ५३ करोड रुपियाँ रहेकामा अघिल्लो आव २०८०/८१ को सोही अवधिमा ३४ अर्ब ५६ करोड रुपियाँ थियो । कम्पनीको प्रति सेयर आम्दानी १४.८२ रुपियाँ छ ।

टेलिकमका अनुसार ओभर द टप (ओटीटी) एपहरूको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेकाले व्यापारमा धक्का पुगेको छ । विदेशी कलमा संख्या घट्दा टेलिकमको अन्तरआबद्धता आय अघिल्लो आव २०८०/८१ को चौंथो त्रैमासिकसम्मको तुलनामा ४१ करोड ९० लाख रुपैयाँले घटेको छ । ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस÷एसएमएस सेवाबाट हुने आयमा नकारात्मक प्रभाव परिरहेको जनाएको छ ।

कम्पनीले गत वर्ष जीएसएम अनुमति पत्र नवीकरणको लागि २० अर्ब रुपियाँ एकमुष्ठ भुक्तानी गरेको थियो । यस्तै, सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरूको निवृत्तिभरणको लागि अघिल्लो वर्ष २०८०/८१ मा चार अर्ब ९७ करोड रुपियाँ र गत आवको तेस्रो त्रैमासिकसम्म १३ अर्ब १५ करोड रुपियाँ छुटपछि लगानीमा कमी भएको टेलिकमले जनाएको छ ।

यसका साथै बैङ्क तथा वित्तीय संस्थाहरूले दिने ब्याज दर क्रमिक रूपमा घट्दा कम्पनीले ब्याजबाट गर्ने आय अघिल्लो आव २०८०/८१ को चांैथो त्रैमाससम्मको तुलनामा तीन अर्ब सात करोड रुपियाँले घटेको छ । यो ४५.२९ प्रतिशतको गिरावट हो ।


SHARE THIS