जम्मादेवी विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण, शिक्षा सुधारमा लायन्स क्लबको सक्रियता

 केशव राज खनाल

तनहुँ, जेठ १३ गते
श्री जम्मादेवी प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो लुगा र खेल सामाग्री वितरण गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ, इन्द्रायणी खुसिबुले सो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीलगायत न्यानो कपडा वितरण गरेको हो । यस विद्यालयका विद्यार्थी मध्ये अधिकांश विद्यार्थी आदिवासी समुदायका रहेको र अति न्यून आय भएका छन् ।

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमका बिच लायन्स क्लब इन्द्रायणीका अध्यक्ष अमरराज सुवाल, लायन्स क्लबका अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, डिस्ट्रिक्ट गभर्नर निरा बज्राचार्य कार्यक्रम चार्टर प्रेसिडेन्ट सागर डङ्गोल, संयोजक दीपक महर्जन आदिले आँबुखैरनी गाउँपालिकाका वडा नं. ४ का वडा अध्यक्ष मिलन भुजेल, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापा प्रधान अध्यापिका वीर माया गुरुङ आदिको रोहवरमा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

लायन्स क्लब अफ खुसिबुका अध्यक्ष अमरराज सुवालले आफ्नो आमदानीको केही हिस्सा आवश्यक रहेका क्षेत्रमा खर्चने उद्देश्य रहेकाले शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिनुभयो । उहाँले शैक्षिक वातावरण सुधार र बालबालिकाको सर्वाङ्गीण विकासका लागि योजना बनाई उक्त कार्यक्रम अघि बढेको जानकारी दिनुभयो । साथै समाजको आवश्यकता अनुसार नै आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष सुवालको भनाइ छ ।

आगामी दिनमा पालिकाको शिक्षाको गुणस्तर बढाउने र पूर्वाधार विकासमा लाग्ने प्रतिबद्धता जाहेर गर्दै लायन्स क्लबलाई विद्यालय र बालबालिकालाई गरेको सहयोग प्रति आँबुखैरनी गाउँपालिकाका वडा नं. ४ का वडा अध्यक्ष मिलन भुजेलले आभार व्यक्त गर्नुभयो । विद्यालयको अवस्था सुधार गर्न लागि परेको जानकारी दिनुभयो ।

कार्यक्रममा लायन्स क्लबका अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले शिक्षाको सुधारमा लायन्स क्लबले निरन्तर कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । सुगम स्थानमा रहे पनि दुर्गमको अनुभव हुने यस विद्यालयका विद्यार्थीका लागि यो सहयोगले सानो इँटा थप्ने बताउनु भयो । शिक्षा क्षेत्रको लागि लायन्स क्लब अफ खुसीबुले उदाहरणीय कार्य गरेको जानकारी दिनु भयो ।

कार्यक्रममा निरा बज्राचार्य, दीपक महर्जन, जिल्ला शिक्षा समितिका सदस्य नेत्र गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापा,  लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पालिका शिक्षा विभागका सदस्य, अभिभावकका साथै लायन्स क्लबका विभिन्न तहका पदाधिरीहरूको उपस्थिति रहेको थियो ।


SHARE THIS