ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरबीच ऊर्जा सहकार्यका विषयमा छलफल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतका ऊर्जा मन्त्री मनोहरलाल खट्टरलाई स्वागत गर्नुभएको छ । मन्त्री खड्काको निमन्त्रणामा मङ्गलबार बिहान काठमाडौँ अवतरण गर्नुभएका मन्त्री खट्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित नेपाली सेनाको विशिष्ट कक्षमा स्वागत गरिएको हो ।

स्वागत समारोहपश्चात मन्त्री खड्का र खट्टरसहितको प्रतिनिधिमण्डलले संखुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको स्थलगत अवलोकन गर्न प्रस्थान गर्नुभयो ।

मकालु गाउँपालिकास्थित अरुण नदीमा निर्माण भइरहेको यो आयोजना ९०० मेगावाट क्षमताको छ, जसको शिलान्यास वि.सं. २०७५ को वैशाखमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्नुभएको थियो । यो आयोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

मन्त्री खट्टरको आज साँझ काठमाडौँमा आयोजना हुने लम्की–बरेली तथा इनरुवा–पूर्णिया प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतापत्रमा सहभागी हुने कार्यक्रम तय गरिएको छ । यी प्रसारण लाइनहरू दुबै देशको संयुक्त लगानीमा निर्माण गरिने योजना छ ।

भोलिपल्ट खट्टरले मुस्ताङको मुक्तिनाथ मन्दिरको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँ काठमाडौँ फर्किएर पशुपतिनाथको दर्शन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओली तथा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

भारतीय मन्त्री खट्टर बुधबार साँझ नै स्वदेश फर्कने तालिका रहेको छ । यसअघि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई ऊर्जासचिव सुरेश आचार्यले स्वागत गर्नुभएको थियो ।


SHARE THIS