धितोपत्र दलाल व्यवसायबाट हालसम्म दुई हजार भन्दा बढी ग्राहक हामीसँग जोडिएका छन्

महेश्वरलाल श्रेष्ठ

बजारमा साना लगानीकर्ताको बाहुल्यता र संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको, संस्थागत लगानीकर्ताको अभाव पूर्ति गर्ने, अध्ययन र अनुसन्धान मार्फत गरिने सुझबुझपूर्ण लगानीबाट पूँजीबजारमा गतिशीलता आई बजारको विकास तथा स्थायित्वमा भुमिका खेल्ने अपेक्षा सहित आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यमा पूँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलर सञ्चालनमा ल्याउने नेपाल सरकारको रणनीति अनुरुप नेपाल सरकारको अधिकाँश लगानी रहेका संस्थाहरु नागरिक लगानी कोष, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड र नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको अगुवाइमा यस कम्पनी मिति २०७६ माघ २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।

यद्यपी दर्ता पश्चात नियामक निकायबाट अनुमति प्राप्त गरी कार्यसञ्चालन गर्न झण्डै एक वर्ष लागेको अवस्था थियो । आज हामी यहाँ एक गौरवशाली क्षणमा एकत्रित भएका छौं । हाम्रो कम्पनीको ‘‘पाँचौं वार्षिकोत्सव’’ पाँच वर्ष अघि, हामीले एक सपना, केही उत्साह र एक नयाँ यात्रा सुरु गरेका थियौं । आज, हामी यो मुकाममा पुगेका छौं र यो हाम्रो सामूहिक प्रयास, अभिनवता, र लगनशीलताको प्रमाण हो ।

स्थापना तथा कार्यसञ्चालनको पाँच बर्ष पार गरिरहँदा यस घडीमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ्ग, महालेखापरीक्षकको कार्यालय, कम्पनीको सञ्चालक समितिको मार्गनिर्देशन तथा कर्मचारीहरुको अथक मेहनत, ग्राहक वर्गको साथ र सहयोगले यहाँसम्म आइपुग्न सफल भएका छौं । कृष्ण टावरमा रहेको सानो कार्यालय तथा केही सीमित संख्यामा रहेका कर्मचारीबाट सुरु गरिएको कार्यसञ्चालन आजको दिन आइपुग्दा यस नागरिक लगानी कोषको विशाल भवनबाट तथा एक्काइस जना कर्मचारीबाट आफ्ना सेवाहरु प्रभावकारी रुपमा प्रदान गर्न सक्ने भएका छांै ।

यो वार्षिकोत्सव केबल हामीले हासिल गरेका उपलब्धिहरू मनाउने मौका मात्र होइन, बरु हामीले पार गरेका संघर्षहरू, गरेका निर्णयहरू, र कम्पनीका संचालकज्यूहरु तथा कर्मचारी साथीहरुले देखाएको समर्पणलाई सम्मान गर्ने अवसर पनि हो। हाम्रा संचालकज्यूहरुको समय सापेक्ष मार्ग निर्देशन कर्मचारीहरूको मेहनत, ग्राहकहरूको विश्वास, र अन्य सम्वद्ध पक्षहरूको अटूट समर्थनको कारणले यो सबै सम्भव भएको हो ।

हामीले अहिलेसम्म जति पनि उपलब्धी हासिल गरेका छौं, त्यसलाई एक सुरुवात मात्र मानी भविष्यमा हामीले आफ्ना उद्देश्यहरुलाई कायम राख्दै, नवीनतम प्रविधीको प्रयोग एवं सम्बद्ध पक्षहरुबीच सहकार्य तथा टीम वर्कको माध्यमबाट एकअर्कालाई साथ दिँदै अझ ठूला लक्ष्यहरू प्राप्त गर्न प्रयासरत रहनेछौं ।

समयक्रमसङ्गै धितोपत्र व्यापारी (स्टक डिलर) को रुपका कार्यसञ्चालन गरिरहेकोमा नियामक निकायबाट अनुमति प्राप्त गरी आ.व. २०७९÷८० बाट धितोपत्र दलाल सेवा सुरु गर्न सफल भएका थियांै । धितोपत्र दलाल व्यवसायबाट हालसम्म दुई हजार भन्दा बढी ग्राहक हामीसँग जोडिएका छन् भने समग्र बजारमा हुने कारोबारमा औषतमा करिब तीन प्रतिशतको हाराहारीमा उपस्थिति बनाउन सकेका छौं । त्यसैगरी पुँजीबजार सम्बद्ध हरेक सेवाहरु एकै छानाबाट उपलब्ध गराउने उद्देश्य अनुरुप आ.व. २०८०÷८१ बाट निक्षेप सदस्यको अनुमति प्राप्त गरी हालसम्म करिब ११ सय ग्राहकलाई सेवा प्रदान गर्न सफल भएका छांै ।

लगानीकर्तालाई पुँजीबजारका सेवा लिन अनाश्यक झन्झटबाट मुक्त गरी सरल तथा सहज सेवा प्रवाह गर्ने उद्देश्यले केन्द्रीकृत विद्युतीय पहिचान प्रणाली (केवाइसी) को अनुमति लिई सञ्चालनमा ल्याएका छांै । त्यसैगरी, पुँजीबजारको विकास तथा विस्तारमा सरकारले लिएको लक्ष्यमा सहयोग गर्न तथा पुँजीबजारसँग सम्बन्धित सेवाका लागि मुद्रा बजारको निर्भरता कम गर्ने उद्देश्यले मार्जिन कारोबार सुविधा समेत उपलब्ध गराउन आ.व. २०८०÷८१ मा अनुमति लिइएको छ । मार्जिन कारोबार सुविधा उपलब्ध गराउन कार्यविधि स्वीकृत गर्नुपर्ने व्यवस्था बमोजिम स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पेश गरिसकेका छांै । कार्यविधि स्वीकृत पश्चात आवश्यक प्राविधिक काम सम्पन्न गरी यथाशीघ्र उक्त सेवा सञ्चालनमा ल्याउन कटिबद्ध रहेको व्यहोरा यहाँहरुलाई अवगत गराउन चाहन्छांै । आफै अध्ययन अनुसन्धान गरी लगानी गर्न सक्षम लगानीकर्ताहरुलाई कारोबार प्रणालीको सुविधा उपलब्ध रहेकोमा ज्ञान नभएका वा समय दिन नसक्ने तर धितोपत्र बजारमा लगानीको सम्भावना खोजिरहनु भएका सम्भावित लगानीकर्ताका लागि निकट भविष्यमा लगानी परामर्श तथा पोर्टफोलियो व्यवस्थापन सेवा समेत सञ्चालनमा ल्याउने कम्पनिको योजना रहेको छ ।

अन्त्यमा, स्थापनाको पाँचौ वर्ष पुरा गरिरहँदा हालसम्म कम्पनी बामे सरिरहेको अवस्थामा छ । हाल सेवाहरुको दायरा विस्तारमा मात्रै ध्यान दिइएकोमा आगामी दिनमा कार्यक्षेत्र पनि विस्तार गर्ने गरी अघि बढ्ने कुरामा प्रतिवद्ध रहेका छौं । कम्पनी सामु पनि विभिन्न चुनौतीहरु रहेतापनि सञ्चालक समितिबाट निर्धारण गरिएका नीति तथा लक्ष्यहरु हासिल गर्न, हामीसँग जोडिनु भएका ग्राहक महानुभावहरुलाई पुँजी बजारमा उपलब्ध सेवाहरुलाई नवीनतम प्रविधिको प्रयोग गर्दै सरल र सहज सेवा प्रदान गर्न सदैव अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्दै यस कम्पनीको उत्तरोत्तर प्रगतिका लागि यहाँहरुबाट प्राप्त साथ सहयोगका लागि यहाँहरु सबैमा म लगायत कम्पनीको तर्फबाट आभार प्रकट गर्न चाहन्छु । साथै, कम्पनीका निर्धारित लक्ष्यहरुलाई अझ प्रभावकारी रुपमा हासिल गरी नेपालको पुँजी बजारमा एक अब्बल संस्थाको रुपमा स्थापित गर्नको लागि यहाँहरुबाट सदा झै रचनात्मक सल्लाह सुझाव, साथ सहयोग एवं मार्गदर्शनको अपेक्षा गर्दछु ।

(नागरिक स्टक डिलर कम्पनी लिमिटेडको पाँचौ बार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठद्वारा प्रस्तुत स्वागत मन्तव्यमा आधारीत)


SHARE THIS