काठमाडौं । भिजन स्टिल एण्ड आल्मोनियम स्टक्चर प्रा.लि.को सिंहदरवार भित्र रहेको गृहमन्त्रालयको कार्यक्षेत्रमा लडेर घाइते भई उपचारार्थ रहेका गोर्खा जिल्ला, सिरनचोक ५ रित गाउँका मनिष गुरुङलाई ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले आर्थिक सहयोग गरेको छ ।
घाइते गुरुङलाई ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको आयोजनामा गोकर्ण जगडोल शहिद तथा निजामती पार्कमा भएको बृहत वनभोज एवं सांस्कृतिक कार्यक्रमबाट सहयोग गरिएको हो ।
लडेर ढाडको पुरै भाग नचल्ने भए पछि गुरुङलाई औषधि उपचारमा समेत आर्थिक अभाव भएपछि ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पश्चिमक्षेत्रका अध्यक्ष सैलेश ठकुरीको पहलमा सहयोगको लागि आह्वान गरिएको थियो ।
कार्यक्रम स्थलमा सहयोगार्थ राखिएको सहयोग बाकसमा जम्मा भएको एक लाख १० हजार रुपियाँ नगद महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले बिरामी मनिष गुरुङ लाई हस्तान्तरण गर्नु भएको हो ।
अनौपचारीक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुभएका महासंघका केन्द्रिय सदस्य राजेश श्रेष्ठले संघ संस्थामा लाग्दा के हुन्छ र भन्ने व्यवसायीहरुलाई मनिष गुरुङको उदाहारण दिदैं भन्नुभयो – “यस्तो अवस्था भोलिका दिनमा तपाई हाम्रोमा पनि पर्न सक्छ ,यस्तो अवस्थामा सहयोग जुटाउनु संघ संस्था बिना असम्भव छ । संघ संस्थाले कसैको घरमा आएर भात पकाएर दिन सक्दैन ,काम खोजेर दिन सक्दैन तर अप्ठ्यारो परेको अवस्थामा साथ र सहयोग गर्न सक्छ ।”
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यता एवं महासंघका वस्तुगत उपाध्यक्ष तथा वनभोज कार्यक्रम आयोजक समितिका संयोजक रुपेन्द्र बानिया (शिव) को सभापतित्वमा सम्पन्न कार्यक्रम महासंघका महासचिव विवेकदास श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा महासंघ अन्तरगत रहेका प्रदेश समिति, जिल्ला समिति, क्षेत्रीय समिति, एरिया समितिका पदाधिकारी तथा सदस्य एवं चार सय भन्दा बढी व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित विभिन्न समितिका पदाधिकारी तथा सदस्य एवं व्यवसायीहरुलाई महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठले स्वागत गर्नु भएको थियो । स्वागत मन्तव्य राख्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले महासंघलाई एक ढिक्का बनाउन यस्ता कार्यक्रमहरुले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं अन्तरगत पुर्व क्षेत्रको एरियाहरुको प्रतिनिधित्व गर्दै कपन एरियाका अध्यक्ष भेषराज श्रेष्ठ र पश्चिम क्षेत्रको एरियाहरुको प्रतिनिधित्व गर्दै बालाजु, खुसीबु, चःमती, ढल्को एरियाको अध्यक्ष राजकुमार खड्काले मनतव्य राख्नु भएको थियो ।
कार्यक्रममा पुर्व क्षेत्रका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरी, काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्य, ललितपुर जिल्लाका महासचिव शिव सुनुवार, भक्तपुर जिल्ला अध्यक्ष, काभ्रेपलान्चोक जिल्ला अध्यक्ष, वागमती प्रदेश संयोजक डि आर पौडेल, महासंघका सल्लाहाकार संयोजक निरन्जनकुमार श्रेष्ठले मनतव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले ग्रील तथा स्टील व्यवसायलाई सम्मानजनक व्यवसाय बनाउन महासंघले खेल्नुपर्ने भुमिका माथि टिप्पणी गर्नु भएको थियो । औपचारीक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष ठुलोबाबु श्रेष्ठले गुण र दोषको आधारमा एवं कार्यसम्पादन मुल्याङ्कन गरेर जाँदा सबैको लक्ष्य भनेको महासंघमा पुग्नु भएकोले आजैबाट महासंघलाई बलियो बनाउन लाग्नुपर्ने बताउनु भयो ।
हार्डवेयर आफैले मिस्त्री राखेर काम गर्न थालेको विषय उठेपछि विगतमा ग्रील व्यवसायीहरुले विभिन्न कम्पनी, रोलिङ मिलमा समेत ताला लगाएको नबिर्सन चेतावनी समेत दिनुभयो । अध्यक्ष श्रेष्ठले आफु नेतृत्वमा आएपछि महासंघलाई अगाडी बढाउन महत्वपुर्ण कार्य भएको बताउनुभयो ।
श्रेष्ठले महासंघको भवन निर्माणको लागि आवश्यक पहलकदमी लिने देखि सरकारी निकायहरुसँग समन्वय र प्रदेश गठनसम्मका कार्यहरु भएका बताउनुभयो ।