घितोपत्र बोर्डको अध्यक्षका लागि अन्तरवार्ता स्थगित

काठमाडौँ । शुक्रबार तय गरिएको नेपाल घितोपत्र बोर्डको अध्यक्षका लागि अन्तरवार्ता र प्रस्तुतिकरण स्थगित भएको छ ।

बोेर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिका अध्यक्ष अस्वस्थ भएपछि शुक्रबार पूर्वनिर्धारीत कार्यक्रम स्थगित गरिएको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सिफारिस समितिका संयोजक प्रा.डा. शिवराज अधिकारी अस्वस्थ भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।

बोर्डको अध्यक्ष पदका लागि आवेदकमध्ये सक्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले शुक्रबार बिहान व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तवार्ता दिने कार्यक्रम तय भएको थियो । समितिले शुक्रबार बिहान ८ बजे अन्तवार्ता र प्रतुतिकरणका लागि कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र नवराज अधिकारीलाई बोलाएको थियो । सक्षिप्त सूचीमा समावेश भएका सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तवार्ता दिइसक्नुभएको छ ।

बोर्डका तत्कालिन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएसँगै २०८० पुस २० गतेबाट बोर्ड नेतृत्वविहीन छ ।


SHARE THIS