काठमाडौँ । दशैंमा नयाँ नोट खोज्नेहरुलाई मध्यनजर गर्दै असोज १३ गतेदेखि सुकिला नोट वितरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकले दशैंका लागि भनेर असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो ।
दसैंमा माग हुने साना दरका नोट सटहीको लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरूबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । साथै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
हरेक वर्ष दशैंका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैंकले यसपाली सुकिला नोटले काम चलाउने लागेको हो । दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको राष्ट्र बैंकले नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन ।
दशैंको मनोविज्ञान नै नयाँ नोटसँग जोडिएको हुँदा सर्वसाधारणलाई केही असजिलो लाग्ने भए पनि विस्तारै सामान्य अवस्था आउने राष्ट्र बैंकको अपेक्षा रहेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्ने यस्तो निर्णय गरेको राष्ट्र बैंकले जनाएको छ ।
पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने तयारी गरिरहेको राष्ट्र बैंकले नयाँ नोट आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दसैंमा दिने जनाएको हो ।
दसैंमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने बताइएको छ । ठूलो लागत लगाएर छापेको नयाँ नोट दसैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरेको कुरालाई पनि मध्यनजर गर्दै दसैंमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ ।
दसैं तिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिंदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।
दशैंमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैंकले नयाँ नोट बन्द गर्न लागेको हो । सामान्यतया नोटको दर अनुसार तीन देखि चार वर्ष नोटको आयु हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार पाँच वर्षको औषत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपियाँ वर्षेनी खर्च हुँदै आएको छ ।