यसपाली दशैंमा नयाँ नोट नपाइने, सुकिला नोटले काम चलाउने तयारी

काठमाडौँ । हरेक वर्ष दशैंका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले यसपाली सुकिला नोटले काम चलाउने भएको छ ।

दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको राष्ट्र बैंकले नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन । दशैंको मनोविज्ञान नै नयाँ नोटसँग जोडिएको हुँदा सर्वसाधारणलाई केही असजिलो लाग्ने भए पनि विस्तारै सामान्य अवस्था आउने राष्ट्र बैंकको अपेक्षा रहेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्ने यस्तो निर्णय गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिनुभयो । यस पटक दसैंमा नयाँ नोट वितरण नहुने भन्दै पोखरेलले आवश्यक हुनेलाई  बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दसैंमा दिने बताउनुभयो ।

दसैंमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने प्रवक्ता पोखरेलले बताउनुभयो । ठूलो लागत लगाएर छापेको नयाँ नोट दसैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरेको छ । यसकारण दसैंमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेका छौं ।’

दसैं तिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिंदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।

दशैंमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैंकले नयाँ नोट बन्द गर्न लागेको हो । सामान्यतया नोटको दर अनुसार तीन देखि चार वर्ष नोटको आयु हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार पाँच वर्षको औषत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपियाँ वर्षेनी खर्च हुँदै आएको छ ।


SHARE THIS