काठमाडौँ । ओरालो लाग्ने क्रममा रहेको सेयर बजार २७ सयको विन्दुभन्दा पनि तल ओर्लेको छ । सेयर बजारमापक नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेयता निरन्तर उकालो लागेर तीन हजार नजिक पुगेको बजार फेरी २६ सयको विन्दुमा आएको हो ।
आइतबार नेप्से ५३.६३ अङ्कले ओरालो लागेर २६९५.९३ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ८.९१ अङ्कले ओरालो लागेर ४८०.८८ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको पहिलो दिनको नेप्से १.९५ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स १.८१ प्रतिशतले ओरालो लागेको छ ।
आइतबार ३३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर एक लाख ३० हजार ६३२ पटक खरिद बिव्रmी हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३४९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ७३ करोड रुपियाँले कमी हो ।
आइतबार ५२ करोड ३१ लाख १० हजार ४९२ रुपियाँ बराबरको सेयर कारोबार भएर गुडबील फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३३ करोड ४३ लाख ५१ हजार ७२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबारको सेयर बजारमा कारोबारमा आएको म्युचुअल फण्ड बाहेक बाँकी १२ उपसमूहको परिसूचक ओरालो लागेको छ । फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशतले ओरालो लागेको आइतबार होटल तथा पर्यटन २.९८ प्रतिशत, जलविद्युत २.४० प्रतिशत र बैंकिड २.३४ प्रतिशतले ओरालो लागेको छ ।
आइतबार सुपर माई हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यता तीन कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पहिलो दिन सुपर माई हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन पावरको सेयरमूल्य करिब १० प्रतिशतले उकालो लागेको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य करिब नौ प्रतिशतले उकालो लागेको छ ।
यता पिपुल्स हाइड्रोपावर कम्पनी, माइ खोला हाइड्रोपावर र थ्रि स्टार हाइड्रोपावरको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
केही महिनायता बैंक ब्याजदरमा कमी आइरहेको, बैंकिङ प्रणालीमा अधिक तरलताका साथै नीतिगत र नियमनका दृष्टिले पनि सेयर बजारमैत्री नै रहेकाले बजार लगातार घटिरहनुपर्ने कारण नभएको लगानीकर्ता बताउँछन् ।
सूचीकृत कम्पनीहरुले पनि क्रमशः मुनाफा बढाउँदै जान थालेको र मुलुकको अर्थतन्त्रको सूचक पनि विस्तारै सकारात्मक बाटोमा रहेको लगानीकर्ता बताउँछन् ।