नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी सम्पन्न

काठमाडौं । “उद्योग गरौं, उद्यमी बनौं, नेपाली उत्पादन प्रयोग गरौं ।” भन्ने नाराका साथ बिहीबारदेखि नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी सम्पन्न भएको छ ।

नागार्जुन नगरपालिका वडा नं. ४ सीतापाइलास्थित ताम्राकार हाउस परिसरमा प्रदर्शनीको समापन समारोहमा बोल्दै पूर्व उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले महिलाहरु समृद्ध बन्न नसकेसम्म देश समृद्ध बन्न नसक्ने बताउनुभयो ।

घरेलु तथा साना उद्योग संघ, काठमाडौं र उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौंको संयुक्त आयोजना तथा नागार्जुन नगरपालिकाको रहकार्य रहेको तीन दिने जिल्लास्तरीय प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रवद्र्धन तथा बिक्री वितरणका लागि राखिएको थियो । प्रर्दशनीमा स्थानीय मौलिकता झल्काउने ४९ वटा स्टल राखिएको थियो ।

समापन समारोहमा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन र विकासका लागि नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो ।

घरेलु तथा साना उद्योग संघ, काठमाडौंका अध्यक्ष सीता कार्कीले उद्यमीहरुलाई प्रवद्र्धन गरेपछिमात्रै नगरपालिका हुँदै देश समृद्ध हुने भन्दै सरकार र पालिकास्तरमा यस्ता कुरालाई ध्यान दिन आग्रह गर्नुभयो ।

पालिकास्तरमा पहिलोपटक आयोजना गरिएको प्रदर्शनीमा व्यवसायी तथा उपभोक्ताहरुको उत्साहजनक सहभागिताले उत्साहित बनाएको भन्दै आगामी दिनमा पनि स्थानीय निकायको सहकार्यमा यस्ता प्रदर्शनीहरुलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

प्रदर्शनीको सह–आयोजकमा काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका तथा घरेलु नगर संघ,  चन्द्रागिरी नगरपालिका तथा घरेलु नगर संघ, टोखा नगरपालिका तथा घरेलु नगर संघ, कागेश्वरी मनोहरा घरेलु नगर संघ रहेका थिए ।

प्रदर्शनीमा काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाबाट उद्योगीहरुले सहभागिता जनाएका थिए ।

समापन समारोहमा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष शोभा गुरुङ, राजेन्द्रमान श्रेष्ठ, उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौंका सञ्चार अधिकृत रामचन्द्र दाहाल, नागार्जुन नगरपालिकाका प्रवक्ता महेश रिमाल, महासंघअन्तरगत नागार्जुन नगर कमिटी प्रमुख उमा आचार्य, संघका उपाध्यक्ष इश्वर बहादुर गुरुङ, सचिव जितेन्द्र कुमार श्रेष्ठ, ताम्राकार हाउसका सञ्चालक विजयरत्न ताम्राकारलगायतले बोल्नुभएको थियो ।


SHARE THIS