उज्यालो मृत्यु देखेका पुडासैनीको समृद्धिको हुटहुटी

डा. गोपाल पोखरेल

उज्यालोमै आफ्नो मृत्यु देखेका लेखक अश्विनकुमार पुडासैनीको “समृद्धिको हुटहुटी” नामक पुस्तकमा के छैन होला ? पाठकले जे चाहन्छन्, जस्तो भावी नेपाल होस् भनी चित्र कोर्छन्, त्यही नै भेट्टाउँछन् यो पुस्तकभित्र । लेखक पुडासैनी आफै मृत्युद्वारनजिक पुग्दाको प्रस्तुत्ति हो यो । उनी परिकल्पनामा चुर्लुम्म डुबेका छन् ।

उनका १०१ शीर्षकका हुटहुटीका पाइलालाई सरसरती बाचन गर्दा लाग्छ हामीले यसैअनुसार कर्म ग¥यो भने निकट भविष्यमै यो देश अवश्य पनि पृथ्वीकै एक अब्बल भूस्वर्ग हुने छ । यसको लागि यहाँ नपुग केही हुने छैन । केबल आवश्यकता भने पर्नेछ, “हामी सबैले पालन गर्नुपर्ने कठोर अनुशासन, अठोट, लगन, परिश्रम र इमान्दारिता ।”

वर्तमान देशका विभिन्न तह, तप्का, क्षेत्र, पेशामा आवद्ध एवं मार्गचित्र कोर्नेहरूको लागि तथा भावी दिनमा मातृभूमिको नवीन सुसंरचनामा जोडिने कर्णधार युवाहरूको निमित्त पनि हुटहुटीका १२४ पृष्ठहरू पल्टाउनु उपयोगी हुनेछ । पाना पल्टाउँदा समय खेर गएको महसुस हुने छैन ।

एक दिनको केही घण्टाको वसाइमा पुस्तक पढेर सकिन्छ । आठ दर्जन शीर्ष टाउकाहरू पठन गर्दा उज्यालो मृत्यु, जिउँदैमा देख्न चाहेको समृद्धि सपना, सबै नेपालीको आफ्नै घर, विकासको शहर रहरको गाउँ, सबै नेपालीलाई भोजन, उत्तर–दक्षिण छ वटा हाइवे, सम्पदा संरक्षण, नदी सभ्यता, सांस्कृतिक लघु संग्रहालय आदि कुनैले भावुक बनाउँछन् भने कुनै रोचक महसुस हुन्छन् ।

कसैले यो भन्दा वढी पनि गर्न सकिन्थ्यो कि भनी अपेक्षा गर्नु अस्वाभाविक नहोला । यद्यपि पुस्तकको शैली नवीन र सरल छ जसलाई बढी भावनात्मक बनाउन नाम कमाएका कपी–इडिटर शरच्चन्द्र वस्तीको भूमिका उच्च रहेको आभास हुन्छ ।

आशा गरौं, कुनैबेला त्यस्तो दिन आउन सकोस् र शीर्षक उप–शीर्षकमा विभाजित पुस्तकमा छरिएका प्रस्तुतिले सफल रूप धारण गरून् । लेखक जीवित छँदै समृद्धि देख्न सके उनी धन्यवादका सशक्त पात्र नै हुनेछन् । पछिको कालखण्डमा पनि उनको सपनाको तस्बिरले पूर्णता पाएमा संस्मरणमा आइरहने छन् ।

वि.सं. २०८० मा दिव्या देउराली प्रकाशन, काठमाडौबाट प्रकाशित यो पुस्तकको मूल्य ३७५ रुपियाँ  राखिएको छ । पठनीय कृति प्रकाशित भएकोमा शुभेच्छा ।


SHARE THIS