तारकेश्वर नगरभित्र बसोबास गर्ने १२ हजार बालबालिकाहरुलाई आईपीभी खोप लगाइने

काठमाडौं । नेपाल सरकारको पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम २०८१ जेठ १३ देखि २६ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुने भएको छ ।

२०७३ वैशाख देखि २०७५ असोजसम्म जन्मिएका बच्चाहरुको लागि जेठ १३ देखि २६ गते सम्म पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम सञ्चालन हुँदैछ ।

सोही कार्यक्रम अन्तरगत तारकेश्वर नगरपालिकाभित्र बसोबास गर्ने करिब १२ हजार बालबालिकाहरुलाई आईपीभी खोप लगाउने कार्यक्रम रहेको छ ।

पोलियो विरुद्ध आईपीभी खोप कार्यक्रमका लागि तारकेश्वर नगरपालिका ११ वटै वडामा ५५ वटा खोप केन्द्र रहने छन् ।

उक्त खोप केन्द्रबाट २०७३ वैशाख देखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

खोपका लागि आवश्यक जनशक्ति, जनशक्तिलाई तालिम तथा अभिमुखिकरण, खोप केन्द्र र स्वंसेवकहरुको परिचालनको व्यवस्थापन गरिएको छ ।

तारकेश्वरका वडाहरुमा वडा खोप समन्वय समितिहरु, स्वास्थ्यकर्मीहरु, स्वंयसेविकाहरु, खोप कार्यकर्ताहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई खोपका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकिएको छ ।

आईपीभी खोप सञ्चालनका लागि खोप अभियानको सम्पुर्ण तयारी पुरा भइसकेको नगरवासी समक्ष जानकारी गराउँदै उक्त खोप कार्यक्रममा बालबालिकाहरुलाई सहभागि गराइ सहयोग गरि दिनु हुन तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाह तथा जन स्वास्थ्य निरिक्षक गणेश बहादुर कुँवरले नगरवासीहरुमा हार्दिक अपिल गर्नु भएको छ ।

नेपाल सरकारको पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम २०८१ मा कोही नछुटुन कोही न दोहोरिउन भन्ने उद्देश्यका साथ यो प्रेस विज्ञप्ति जारी गरिएको जनाइएको छ ।


SHARE THIS