पानी नआउँदा पनि लाखौं रुपियाँ महसुल तिर्न परेकोमा सरोकारवालाहरुको चिन्ता

ललितपुर । बहुचर्चित मेलम्चीको पानी पूर्ण क्षमतामा नआएको र पानी नआउँदा पनि लाखौं रुपियाँ महसुल तिर्न परेको भन्दै यसका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

ललितपुर महानगरपालिका वडा न ९ शंखमूलस्थित देवनगर टोलमा आयोजित मेलम्ची खानेपानी सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।

टोलका स्थानीयवासीहरुले अझै पनि मेलम्चीको पानी पूर्ण क्षमतामा नआएको र कत्तिको घरमा बसौं देखि पानी नआएको तर पानीको महसुल हजारौंदेखि लाखौंसम्म जरीवाना सहित तिर्नुपर्ने बाध्यता रहेको गुनासो अन्तरक्रियामा बोल्ने अधिकांशले उठाएका थिए ।

महानगरका अधिकांश क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति भएको अवस्थामा पनि वडा न ९ का विभिन्न स्थान अझ विशेष गरी देवनगर टोलमा पानीको आपुर्ति हुन सकिरहेको थिएन ।

सोही समस्याको समाधानलाइ प्रमुख उद्देश्य बनाई देवनगर टोल विकास संस्थाद्वारा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड तथा मेलम्ची आयोजनामा निरन्तर डेलिगेशन मार्फत दबाबको कार्य जारी राखेको छ ।

यस संस्थाका खानेपानी उपसमितिका संयोजक सिद्धार्थ कन्दङ्वाका अनुसार समस्या खोतल्दै जाने क्रममा मेलम्ची खानेपानि पाइपलाइन विस्तारका बेला धेरै त्रुटीहरुले गर्दा मेलम्ची प्रतिनिधिलाई धेरै ठाउँमा पुनः काम गरी मर्मत सम्भार गर्नुपर्ने अवस्था आएको छ ।

दबाबका लागि ललित महर्जनको नेतृत्वमा मेलम्ची खानेपानी उपत्यका संघर्स समिति गठन गरि विभिन्न स्थानीय निकायहरुसँग समन्वय गर्दै थप विरोधका कार्यक्रमहरु पनि गरिएको कन्दंगवाले जानकारी गराउनु भयो ।

संघर्स समितिका सदस्य लगायत ऐतिहासिक ढुंगेधारा तथा पोखरी संरक्षण संघका अध्यक्ष सुशील श्रेष्ठको उपस्थितमा आयोजित अन्तरक्रियामा ऐतिहासिक पानीका स्रोतको महत्व साथै देवनगर टोलबासीको प्रश्नहरु माथि छलफल भएको थियो ।

सो अवसरमा पानी जस्तो अति आवश्यक कुरा आपूर्ति सुरु हुन नपाउँदै बन्द हुने समाचार सुनिन थालेको भन्दै सहभागीहरुले बा¥है मासे वैकल्पिक रुपमा भएपनि पानी आपुर्तिको व्यवस्था गर्न संघर्स समिति मार्फत काठमाडौँ उपत्यका खानेपानी लिमिटेड तथा मेलम्ची आयोजनालाई दबाब दिनपनि टोलबासीले माग गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा ११० जना भन्दा बढीको उपस्थिति रहेको थियो । पानीको दीर्घकालीन समाधान नहुँदासम्म संघर्स जारी राखिने संघर्ष समितिका अध्यक्ष ललित महर्जनले जानकारी दिनुभयो ।






SHARE THIS