३७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स

काठमाडौँ / थप पाँच वटा कम्पनीहरुले ब्रोकर (धितोपत्र दलाल) लाइसेन्स प्राप्त गरेका छन् । नेपाल धितोपत्र बोर्डले थप पाँच कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिएको हो ।

बोर्डको सञ्चालक समितिको बैठकको निर्णय अनुसार रोडसो सेक्यूरिटिज, सजिलो ब्रोकर लिमिटेड, हिमालयन सेक्यूरिटिज, बेनी सेक्यूरिटिज र सनी सेक्यूरिटिजलाई ब्रोकर लाइसेन्स दिएको हो ।

बोर्डले सजिलो ब्रोकर, रोडसो र बेनी सेक्यूरिटिजले सिमित कार्य गर्ने र हिमालयन सेक्यूरिटिज र सनी सेक्यूरिटिजले पूर्ण कार्य गर्ने लाइसेन्स दिएको छ ।

एक साता अगाडि मात्रै बोर्डले थप तीन वटा कम्पनीहरुले ब्रोकर (धितोपत्र दलाल) लाइसेन्स प्रदान  गरेको थियो । बोर्डले जे.वि.एन.एल. सेक्युरिटिज, आर.वि.वि. सेक्युरिटिज र सि.वि.आई.एल. सेक्यूरिटिजले सीमित कार्य गर्ने धितोपत्र दलाल लाइसेन्स दिइसकेको थियो ।

बोर्डले ब्रोकर लाइसेन्सका लागि ४३ कम्पनीहरुलाई आशयपत्र प्रदान गरेको थियो । जसमध्ये बोर्डले ३७ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरी सकेको छ भने अब छ कम्पनीले लाइसेन्स पाउन बाँकी छ । बाँकी छ कम्पनीले पनि तोकिएको मापदण्ड पु¥याएको खण्डमा छिट्टै लाइसेन्स दिने बोर्डले जनाएको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई बोर्डले लाइसेन्स दिदै आएको छ ।

रावा बैंकको सहायक कम्पनीलाई पनि अनुमति

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आर.वि.वि. सेक्युरिटिज कम्पनी लिमिटेडले पनि ब्रोकर लाइसेन्स प्राप्त गरेको छ ।

आर.वि.वि. सेक्युरिटिज कम्पनीलाई धितोपत्र बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ ।

२० करोड रुपियाँ चुक्तापूँजी रहेको सेक्युरिटिज कम्पनीले नेपाल स्टक एक्सचेञ्जको सदस्यता प्राप्त भएपश्चात निकट भविष्यमा नै स्टक ब्रोकरको कारोबार सुरु गर्ने जनाएको छ ।

हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको धितोपत्र दोस्रो बजारको कारोबारलाई ग्रामिण क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि पूँजी बजारको सेवा लिन सकिने विश्वास कम्पनीले लिएको छ ।

यसअघि रावा बैंकले मर्चेन्ट बैंकिङ्ग सम्बन्धी कारोबार गर्नका लागि सहायक कम्पनीको रुपमा आर.वि.वि.मर्चेन्ट बैंकिङ्ग लिमिटेडको स्थापना गरी मर्चेन्ट बैंकिङ्गको सेवा प्रदान गरिरहेको छ ।



SHARE THIS