राष्ट्र बैंकले दुई अर्ब ५० करोड रुपियाँको नागरिक बचतपत्र २०८४ ‘क’ चैत ६ गते निष्काशन गर्न लागेको हो ।
बचतकर्ताले फागुन १० देखि ३० गतेसम्म आवेदन दिन सकिने नागरिक बचतपत्र २०८४ ‘क’ को साँवा भुक्तानी गर्ने अवधि २०८४ चैत ६ गते रहेको छ । यसको ब्याजदर वार्षिक ११.५० प्रतिशत रहेको छ । ब्याज ६÷६ महिनामा प्रदान गरिने छ ।
बचतपत्रका लागि घटिमा १० हजार रुपियाँ र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने छ ।
बचतपत्र लिन स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने, स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनुपर्नेछ । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।
यसको ब्याज भुक्तानी लिने स्थानमा पायक पर्ने बैंक तथा वित्तीय संस्था, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु तोकिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
नागरिक बचतपत्र भनेको के हो ?
नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएको नागरिक बचतपत्र ५ वर्षअवधिको रहेको छ ।