अर्थतन्त्रको समस्या समाधान जीवन मरणको लडाइँ हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्नु जीवन मरणको लडाइँ रहेको बताउनुभएको छ । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेका नेपाली अर्थतन्त्रको अबको बाटो विषयक कन्फरेन्स तथा सेजन अवार्ड २०७९ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले अर्थतन्त्रको  सुधारलाई प्रमुख एजेण्डा बनाएको बताउनुभयो ।

“मैले पहिलो र दोस्रो कार्यकाल संविधान कार्यान्वयनमा केन्द्रित हुनुपथ्र्यो गरे पनि त्यसो गरेपनि,” उहाँले भन्नुभयो,  “निर्वाचन अभियान चलाउँदा पनि अबको समय आर्थिक उन्नती र विकास नै हो भनेको थिएँ । त्यसका निम्ती सुशासन अपरिहार्य छ ।”

उहाँले समाजिक न्याय सुशासन र समृद्धिको बाटोमा देशलाइ डो¥याउने अभिभारा रहेको भन्दै जनतासँग गरेको बाचा संकल्प निष्ठापूर्वक अघि सारेको बताउनुभयो । नेपाली अर्थतन्त्रलाइ सुधार्ने कुरा सजिलो नभएको भन्दै राष्ट्रिय अन्तराष्ट्रिय चुनौतीहरुको समाना गर्नु परेको उहाँले बताउनुभयो ।

पछिल्लो दुई महिना अर्थतन्त्रमा सुधार देखिएका छ तर यो स्थायी खालको नभएको उहाँको स्वीकारोक्ती रहेको थियो । अबको आर्थिक विकासलाई लागि कृषिलाई नै प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले आर्थिक विधेयकहरुलाई उच्च प्राथमिकतामा राखेको बताउँदै   देशलाई आर्थिक निकास दिन विधेयकलाई प्राथमिकतामा राखेको बताउनुभयो ।  उनले आर्थिक विकासको लागि कृषिलाई प्राथमिकता दिनुपर्ने भन्दै उहाँले भन्नुभयो – “हिजो नेपालीहरु आत्मनिर्भर थिए । खाद्यान्नमा आत्मनिर्भर भएर निर्यात गर्थे तर अहिले आफुसँग भएको सकारात्मक शक्ति पहिचान नगर्दा परनिर्भर हुनुपरेको छ ।”

निराश हुनुपर्ने अवस्था नभएको भन्दै उहाँले भन्नुभयो – “गत वर्ष श्रीलंका जस्तै हुन लाग्यो भने पनि अहिले त्यस्तो अवस्था छैन ।” दाहालले सरकारको न्यूनतम साझा कार्यक्रममा पनि अब मुलुकले लिनुपर्ने बाटोको विषय उल्लेख गरेको बताउनुभयो ।


SHARE THIS