राष्ट्र बैंकको मुद्रास्फीति अपेक्षा सर्वेक्षण : घरजग्गा र हाउजिङ क्षेत्रको मूल्य घट्ने अनुमान

काठमाडौं । घरजग्गा र हाउजिङ क्षेत्रको मूल्य घट्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको मुद्रास्फीति अपेक्षा सर्वेक्षणमा पनि घरजग्गा र हाउजिङ क्षेत्रको मूल्य घट्ने अनुमान गरिएको हो ।

पहिलो त्रैमासमा जस्तै दोस्रो त्रैमासमा पनि आगामी तीन महीना र एक वर्षमा घरजग्गाको मूल्य बढ्छ भनेर अपेक्षा गर्नेहरूको संख्या घटेको छ । २०७९ असोजमा ५३ प्रतिशतले आगामी तीन महिनामा घरजग्गाको मूल्य बढ्ने अनुमान गरेकोमा २०७९ पुसमा ५२ प्रतिशतले मात्रै आगामी तीन महिनामा मूल्य बढ्ने अनुमान गरेका छन् ।

त्यस्तै आगामी तीन महिनामा मूल्य घट्ने अनुमान गर्नेको संख्या भने बढेको छ । असोजमा १५ प्रतिशतले मात्रै आगामी तीन महिनामा घरजग्गाको मूल्य घट्छ भन्ने अनुमान गरेकोमा पुसमा भने करीब १८ प्रतिशतले मूल्य घट्ने अनुमान गरेका छन् ।

आगामी एक वर्षमा घरजग्गाको मूल्य घट्ने अनुमान गर्नेको संख्या पनि बढेको छ । २०७९ असोजमा १८ प्रतिशतले आगामी एक वर्षमा घरजग्गाको मूल्य घट्ने अनुमान गरेकोमा पुसमा २० प्रतिशत भन्दा धेरै सहभागीले आगामी एक वर्षमा मूल्य घट्ने अनुमान गरेका छन् ।

सर्वेक्षण अनुसार तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मूल्यवृद्धि क्रमशः १० प्रतिशत र १२।० प्रतिशत रहने सर्वसाधरणले अनुमान गरेका छन् ।

सर्वेक्षण अनुसार ८४।६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२ दशमलव ३ प्रतिशत उत्तरदाताले आगामी १ वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ ।

खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिना र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा बढेको छ । तर, गैर–खाद्य वस्तु तथा सेवा समूहमा अबको तनि महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा भने असोज, २०७९ को तुलनामा घटेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गर्ने मुद्रा स्फीतिको तथ्याङ्क भने बजारको वास्तविक तथ्याङ्कभन्दा फरक हुने गरेको पाइन्छ ।


SHARE THIS