कृषि क्षेत्रको नेतृत्वदायी बैंकको रुपमा स्थापित गर्न कृषि विकास बैंकलाई सुझाव

काठमाडौँ । सरकारी स्वामित्वको वाणिज्य बैंक कृषि विकास बैंक आफ्नो स्थापनाको ५५ औं वर्ष पुरा गरी ५६ औं वर्षमा प्रवेश गरेको छ ।

बैंकको शनिबार राजधानीमा आयोजित ५६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री विष्णु पौडेलले सर्वसाधारणको घर आँगनको बैंकका रुपमा चिनाउँदै आएको कृषि विकास बैंकले कृषि क्षेत्रको नेतृत्वदायी बैंकको रुपमा स्थापित गर्न सक्नुपर्ने बताउनुभयो ।

नाम र स्थापनाकालको उद्देश्य जस्तै कृषि क्षेत्रको अगुवा बैंकको रुपमा स्थापित भएर कृषि क्षेत्रको उत्पादकत्व, लगानी, रोजगारी बृद्धिमा मुख्य भूमिका खेल्न उहाँले आग्रह गर्नुभयो ।

मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ र सहयोग आवश्यक रहेको बताउँदै उहाँले अर्थ मन्त्रालय मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन, आर्थिक मितव्ययिता, खर्च कटौती, सुविधा कटौती गर्ने अवस्थामा रहेको बताउनुभयो । बजेटको मध्यावधि समीक्षा गर्ने बेलामा समेत राजस्व संकलनमा चालु आर्थिक वर्षको लक्ष्य भेट्याउन नसकिएको भन्दै उहाँले गत आर्थिक वर्षमा यही समयमा भएको राजस्व संकलन बराबरको समेत हुन नसकेको बताउनुभयो ।

मुलुकले अन्तराष्ट्रिय सहयोग चाहे त्यो ऋण होला चाहे त्यो अनुदान होस त्यसको परिचालनका सन्दर्भमा समेत समस्या रहेको उहाँले बताउनुभयो । खर्चको सामथ्र्यको कुरा गर्दा पनि साधरण खर्च अप्टिमम लिमिटमा रहेको भन्दै अर्थमन्त्री पौडेलले भन्नुभयो – ‘‘पुँजीगत खर्च को कुरा गर्दा अहिले पनि १४–१५ प्रतिशतको हाराहारीमा मात्रै रहेका छौं । बजेटको मध्यावधि समीक्षा गर्ने बिन्दुमा आइपुग्दा समेत १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु अर्थतन्त्र सुधारको लागि चुनौती हो ।’’

पछिल्लो समय कृषि क्षेत्रको लगानी घट्दै गइरहेको र अरु क्षेत्रको लगानी बढ्दै गइरहेको अवस्थामा क्रमशः सुधार आवश्यक रहेको छ ।

व्यवसायिक दक्षताको आधारमा अग्रणी बैंक बन्ने अठोटलाई साँचो अर्थमा बदल्न प्रभावकारी नेतृत्व र नतिजा दिन सक्ने पात्र छनोट हुनुपर्ने भन्दै उहाँले बैंक सञ्चालनको लागि सक्षम पात्रको छनोट गर्ने क्रममा सरकारले बाधा होइन सहयोग र सहजीकरण गर्ने बताउनुभयो ।

नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले बैङ्कले कृषिलाई पहिलो प्राथमिकता दिएर नै आफ्नो बैङ्किङ व्यवसाय सञ्चालन गरेको भन्दै कृषकहरुको लागि आवश्यक कर्जा व्यवस्थापनका साथै कृषि तालिममार्फत कृषकको क्षमता अभिबृद्घि गर्दा कृषि उत्पादकत्व बढ्ने र समग्र अर्थतन्त्रको विकास र विस्तारमा योगदान पुग्ने बताउनुभयो ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेका कार्यक्रमहरुको कार्यान्वयनमा समेत सहयोग पु¥याउँदै आएको र भविष्यमा समेत निरन्तरता हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । बैंकले कृषिमा लगानीमा मात्रै नभएर कृषिमा तालिमका कुराहरुलाई पनि अगाडि बढाएर नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्नुभयो ।

बैंक सञ्चालक समितिका अध्यक्ष रमेश दुवाडीले बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति निर्देशन तथा प्राथमिकतालाई समेत मध्यनजर राख्दै निर्दिष्ट जिम्मेवारी बहन गरी प्रतिष्पर्धात्मक बजारमा दक्ष जनशक्ति उच्च प्रविधिका साथ ग्राहकको सन्तुष्टिलाई आफ्नो लक्ष्य बनाई वित्तीय क्षेत्रमा गरिएका सफल अभ्यास र वित्तीय औजारहरुको माध्यमबाट आधुनिक र उन्नत सेवा प्रदान गर्न अग्रसर रहेको बताउनुभयो ।

बैंकका निमित्त प्रमुख कार्यकारी निर्देशक प्रताप सुवेदीले अत्याधुनिक वाणिज्य बैंकिङ सेवालाई सहरदेखि ग्रामिण क्षेत्रका सर्वसाधारणको घरदैलोमा आधुनिक प्रविधि मार्फत जाड्ने कार्य गरी सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाईं हाम्रो घरआँगनको बैंकको अनुभूति दिन बैंक सधै क्रियाशील रहेको बताउनुभयो ।

हाल बैंकको कुल अधिकृत पुँजी २५ अर्ब रुपियाँ र जारी तथा चुक्ता पुँजी १८ अर्ब ६२ करोड रुपियाँ रहेको छ । यसमध्ये साधारण चुक्ता पुँजी १३ अर्ब १८ करोड रुपियाँ रहेको छ जसमा नेपाल सरकारको हिस्सा ५१ प्रतिशत र करिब तीन लाख सर्वसाधारण सेयरधनीको हिस्सा ४९ प्रतिशत रहेको छ ।

कार्यक्रममा बैंकका उत्कृष्ट शाखा, कर्मचारी तथा ग्राहकहरुलाई सम्मान गरिएको थियो ।


SHARE THIS