डिजिटल प्रविधिमा क्षमता अभिबृद्धि सम्बन्धी एक दिने सीप विकास तालिम सम्पन्न

काठमाडौं । लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुलाई डिजिटल प्रविधि मार्फत प्रवद्र्धन गर्ने कार्यको थालनी गरिसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघले एक दिने डिजिटल प्रविधिमा क्षमता अभिबृद्धि सम्बन्धी सीप विकास तालिम काठमाडौंमा आयोजना गरेको छ ।

पहिलो चरणमा महासंघका कर्मचारी सहितका पदाधिकारीहरुका लागि एक दिने डिजिटल प्रविधिमा क्षमता अभिबृद्धि सम्बन्धी सीप विकास तालिम असोज ६ गते बिहीबार काठमाडौंमा आयोजना गरिएको छ ।

तालिममा महासंघको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी, केन्द्रीय महिला उद्यमी समितिका पदाधिकारी र केन्द्रीय कार्यसमितिका पदाधिकारी गरी १७ जनाको सहभागीता रहेको थियो भने यूएनसीडिएफका डिजीटल एण्ड फाइनान्सियल क्यापेबलिटीज एक्सपर्ट डानियल्लेले तालिम प्रदान गर्नु भएको थियो । यस्तै किसिमको डिजिटल प्रविधि क्षमता अभिबृद्धि तालिम अन्य लघु, घरेलु तथा साना उद्यमीहरुलाई समेत अनलाईनमार्फत दोस्रो चरणमा प्रदान गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुलाई डिजिटल प्रविधि मार्फत प्रवद्र्धन गर्ने कार्यको थालनी गरिसकेको महासंघले यस्ता वस्तुहरुलाई अनलाइन प्लेटफर्ममा ल्याउन थालेको हो ।

यसैको निरन्तरता स्वरुप महासंघले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा ई–कमर्स साइट www.msmenepal.com निर्माण गरी अनलाईन मार्फत लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरु किनबेच गर्न सकिने अवस्थाको सिर्जना गरेको छ ।

यसै सन्दर्भमा महासंघले लघु, घरेलु तथा साना उद्यमीहरुमा डिजिटल सीप विकास सम्बन्धी क्षमता अभिबृद्धि गर्ने उद्देश्यले यूएनसीडिएफसँग सहकार्य गरिरहेको छ ।








SHARE THIS