अन्तिम दिनको सेयर बजारमा सुधार, बोर्ड र लगानीकर्ताकाबीच सहमति

काठमाडौं । लगातार ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको सेयर बजारले साताको अन्तिम दिन भने सुधारको बाटोमा लागेर बन्द भएको छ ।

शुक्रबार पनि अघिल्ला दिन जस्तै कारोबारको सुरुवात गिरावटबाट भएपनि नियामक निकाय नेपाल धितोपत्र बोर्ड र लगानीकर्ताकाबीच सहमति भएसँगै नेप्सेले बढोत्तरीको लाइन समाएको थियो ।

शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक १३.७८ अंकले उकालो लागेर १८६२.०६ को विन्दुमा पुुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि २.८१ अंकले उकालो लागेर ३६४.९० को विन्दुुमा पुुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.७५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.७८ प्रतिशतले उकालो लागेको छ ।

सुधार टिक्न नसकेपछि सेयर बजार साढे १८ सयको विन्दुभन्दा तल ओर्लेको थियो । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ४५.२५ अंकले ओरालो लागेर १८४८.२८ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ७.०९ अंकले ओरालो लागेर ३६२.०९ को विन्दुमा पुगेर रोकिएको थियो । लामो समयपछि मङ्गलबार एकाएक हरियाली भएको सेयर बजार फेरी ओरालो बाटोमा लागेको थियो  ।

पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजार १९ औं कारोबार दिनमा सुधारिएको थियो । लगातार १८ कारोबार दिनसम्म ओरालो लागिरहेको बजार साताको तेस्रो दिन ४० अंकले सुधारिएको थियो । मङ्गलबार सुधारिए पनि बुधबार र बिहीबार पुन सेयर बजार ओरालो लयमा लागेको थियो ।

शुक्रबार दिनभर २२३ कम्पनीहरुको ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर २२ हजार ८७४ पटक खरिदबिक्री हुँदा एक अर्ब १५ करोड १२ लाख आठ हजार ३१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३४ करोड रुपियाँले कमी हो ।

बिहीबार दिनभर २३७ कम्पनीहरुको ५० लाख आठ हजार ७७१ कित्ता सेयर ३३ हजार ४६० पटक खरिदबिक्री हुँदा एक अर्ब ४९ करोड ९७ लाख नौ हजार ६३५ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

शुक्रबार आठ करोड ६३ लाख रुपियाँभन्दा बढीको सेयर खरीद बिक्री भएर कुमारी बैंक सर्वाधिक सेयर खरीदबिक्री गर्नेमध्ये अग्रणी भएको छ । यस्तै कारोबार रकमका आधारमा ङादी ग्रुप पावर र लक्ष्मी बैंक क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । ङादी ग्रुप पावरको छ करोड ३१ लाख रुपियाँ बराबरको कारोबार भएको बजारमा लक्ष्मी बैंकको चार करोड ७६ लाख रुपियाँको कारोबार भएको हो ।

हिमालयन डिस्टिलरीको तीन करोड ४८ लाख रुपियाँ, नागरिक लगानी कोषको तीन करोड सात लाख रुपियाँ, अरुण भ्याली हाइड्रोपावरको दुुई करोड ९२ लाख रुपियाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनको दुुई  करोड ६६ लाख रुपियाँ, सिद्धार्थ बैंकको दुुई करोड ५३ लाख रुपियाँ, नबिल बैंकको दुुई करोड ३८ लाख रुपियाँ र नेशनल हाइड्रोपावरको दुुई करोड ३८ लाख रुपियाँ बढीको कारोबार भएको छ ।

शुक्रबार कारोबारमा आएका १३ वटा उपसमुुहमध्ये म्युचुअल फन्डबाहेक बाँकी सबै १२ वटाको सूूचक उकालो लागेको छ । वित्त समूह सर्वाधिक १.९१ प्रतिशतले उकालो लागेको अन्तिम दिन विकास बैंक समूह १.८८, निर्जीवन बीमा समूहमा १.७३ प्रतिशत, जीवन बीमा १.४९, जलविद्युत १.१९, होटेल तथा पर्यटन १.०७, अन्य ०.९०, लघुवित्त ०.८०, उत्पादन तथा प्रशोधन ०.६५, लगानी ०.४५, व्यापार ०.२१ र बैंकिङ उपसमूहमा ०.१८ प्रतिशतको बढेको छ । म्युचुअल फन्ड भने ०.६७ प्रतिशतले ओरालो लागेको छ ।

अनशन तोडियो

पूँजी बजार सुधार र विस्तारका लागि गठित संघर्ष समितिले राखेका माग पूरा गर्न बोर्डले कार्यान्वयन समितिले बनाएसँगै अनसनरत कोइरालाले दशौं दिनमा अनसन तोड्नुुभएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर उहाँले शुक्रबार अनशन तोड्नुुभएको हो ।

पुँजी बजार सुधार र विस्तारका लागि भन्दै यसअघि दुई पटक अनशन बसिसकेका कोइराला असार १ गतेदेखि तेस्रो पटक अनसनमा बस्नुुभएको थियो ।

पुँजी बजारको विकास र विस्तारका लागि चाहिने ५८ बुँदे मागमा उल्लेख भई सरकार आफैँले गर्छु भनेको कामहरु साढे तीन वर्ष बितिसक्दा पनि पूरा नगरेको भन्दै कोइराला आमरण अनसन बस्नुुभएको थियो । बोर्ड र कोइरालाबीच १९ बुँदे सम्झौता भएको छ ।

लगानीकर्ताको स्वागत

सेयर लगानीकर्ताका तीन संगठनहरूले लगानीकर्ताको माग सम्बोधन गर्न धितोपत्र बोर्डले गठन गरेको कार्यान्वयन समितिको स्वागत गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले विज्ञप्ति जारी गर्दै समिति गठनको स्वागत गरेका हुन् ।

लगानीकर्ताका आधिकारिक संघ संगठनका प्रतिनिधि रहने गरी बोर्डले जायज मागहरूलाई सम्बोधन गर्दै कार्यान्वयन समिति गठन गरेको भन्दै लगानीकर्ताहरूको मागहरूका सम्बन्धमा यथाशीघ्र काम कार्यवाही अगाडि बढाउने प्रतिबद्धता जनाएको प्रति लगानीकर्ताका संगठनहरूले हार्दिक आभार व्यक्त गरेको छन् ।

पूँजी बजार सुधार र विस्तारका लागि गठित संघर्ष समितिले राखेका माग पूरा गर्न बोर्डले लगानीकर्ताको तर्फबाट तीन र बोर्डको तर्फबाट दुई गरी पाँच जना सदस्य रहने गरी कार्यान्वयन समितिले बनाएको थियो ।

समितिमा बोर्डको तर्फबाट कार्यवाहक कार्यकारी निर्देशक विनय देव आचार्य र मुक्ति नाथ श्रेष्ठ तथा लगानीकर्ताहरूको तर्फबाट पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला, रोहन कार्की र एसपी चौलागाईँ रहनुुभएको छ ।


SHARE THIS