वाणिज्य बैंकहरुको संख्या २४ मा झर्दै, ठूलो बैंक ‘ग्लोबल आईएमई बीओके’

काठमाडौँ । मर्जरकै इतिहासमा पहिलो ठूलो बैंक बनेको ग्लोबल आइएमईले पुरानो रेकर्डलाई फेरी पनि यथावत राख्ने भएको छ । बैंक अफ काठमाण्डूसँग मर्जरको सम्झौता गरेको ग्लोबल आईएमईले ठूलो बैंकको ताज बचाइराख्ने भएको हो ।

मर्जर पश्चात् बन्ने ‘ग्लोबल आईएमई बीओके’ ले कूल पुँजी ५२.२९ अर्ब, चुक्ता पूँजी ३४.४१ अर्ब, कूल निक्षेप ३८४ अर्ब, कूल कर्जा ३८० अर्ब सहित नेपालको सबैभन्दा ठूलो बैंक हुने भएको छ ।

एक साता अघिमात्र नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले देशकै ठूलो बैंक बन्ने गरी सम्झौता गरेका थिए भने हाल सबैभन्दा ठूलो बैंकका रूपमा चिनिएको ग्लोबलले बीओकेसँग सम्झौता गरेर ठूलो बैंकको ताज जोगाउने भएको छ ।

मर्जरका लागि ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।मर्जर पश्चात् बन्ने नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित पाँच जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुई जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

ग्लोबल आइएमई र बीओकेको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट सिफारीस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १:१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।

एकै ठाउँमा २१ वटा

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा अहिलेसम्म पाँच वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा छ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

दुबै बैंकले जेष्ठ मसान्तसम्म छ अर्ब रुपियाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, तीन वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुने भएको छ ।

दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी बृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताउँदै ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधै पहिलो हुने गरेको बताउनुभयो । मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मर्ज हुनु प्राकृतिक प्रकृया भएको भन्दै मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताउनुभयो ।

‘नेपाल इन्भेष्टमेण्ट मेगा’ दोस्रो ठूलो

एक साता अगाडि आफैमा ठूला वाणिज्य बैंकहरु मेगा बैंक लिमिटेड र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले एक आपसमा मर्जर हुने भएपछि अहिलेसम्मकै दोस्रो ठूलो वाणिज्य बैक बन्ने भएको छ । मर्जर पछि ‘नेपाल इन्भेष्टमेण्ट मेगा’ बैंकको नामबाट एकीकृत कारोबार गर्ने गरी दुबै बैंकहरुले मर्जर सम्झौता गरेका थिए । मर्जर पछि बन्ने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक साढे ३४ अर्ब चुक्ता पूँजी पुगेको छ ।

हिमालयनसँग टुट्यो, मेगासँग जोडियो

मर्जरका लागि सम्झौता भएदेखि नै मतभेद र विवाद देखिएको नेपाल इन्भेस्टमेन्ट बंैक र हिमालयन बैैंकबीचको मर्जर प्रक्रिया टुटेपछि पुन: इन्भेस्टमेन्ट र मेगाको मर्जर अगाडि बढेको हो । मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको आठ महिनापछि इन्भेस्टमेन्ट र हिमालयन बैंकको मर्जर प्रक्रिया टुुटेको थियो । हिमालयन बैंकको साधारण सभाले इन्भेस्टमेन्ट बैंकसँग मर्जरको विशेष प्रस्ताव अस्वीकृत गरेको हो । दुबै बंैकले गत वैशाखमा नै मर्जरमा जाने सैद्धान्तिक सहमति गरेका थिए । दुबै बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरिसकेको थियो ।

दुबै बैंकले गरेको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए)मा कर्मचारी सञ्चय कोषलगायत करिब ३६ प्रतिशत सेयरधनीको चित्त बुझेको थिएन ।

असारभित्र नगए सुविधा खोसिने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असारभित्र मर्जरका लागि प्रक्रिया थाल्न वाणिज्य बैंकहरुका अध्यक्ष र सञ्चालकलाई निर्देशन दिंदै तोकिएको अवधिभित्र मर्जर अगाडि नबढाए घोषणा गरिएका कुनै पनि सुविधा उपलब्ध नगराउने बताउँदै आउनुभएको छ ।

उहाँले २७ बैंकका अध्यक्ष र सञ्चालकलाई बोलाएरै तोकिएको अवधिमा मर्जरमा गए घोषणा गरिएको सुविधा उपलब्ध हुने अन्यथा नहुने बताउनुभएको थियो । गभर्नर अधिकारीले आफ्नो पहिलो मौद्रिक नीतिमै मर्जरलाई प्राथमिकतामा राख्नुभएको थियो ।

झण्डै ५० प्रतिशत संख्या घटाउन सुझाव

मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैंक आवश्यक नभएको एक सर्भेक्षणबाट गरिएको एक अध्ययले निश्कर्ष निकालेको छ ।

नियामक निकाय नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैंक आवश्यक नभएको देखाएको हो । वाणिज्य बैंकहरुको संख्या घटाउन मर्जरमा जोड दिँदै आएको राष्ट्र बैंकले झण्डै दुई महिनाअगाडि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक तथा विज्ञ गरेर २३० जनामा सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणमा ५० प्रतिशतभन्दा धेरैले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक भए पुग्ने राय दिएका थिए । उनीहरुले अहिलेको अवस्थामा नेपालमा १५ वटा भन्दा धेरै वाणिज्य बैंक नचाहिने राय दिएका हुन ।

यस्तै पाँच प्रतिशतले पाँच देखि १० वटा बैंक हुनुपर्ने राए दिएका थिए भने १५ प्रतिशतले १६ देखि २० वटा बैंक चाहिने बताएका थिए । बाँकीले भने २० देखि २५ बैंक हुनुपर्ने राय दिएका थिए ।

सर्वेक्षणमा सहभागीमध्ये ५७ प्रतिशतले इनसेन्टिभ दिएर मर्जर गर्नु पर्नेमा बताएका थिए भने २० प्रतिशतले फोर्स मर्जर गर्नुपर्ने बताएका थिए । ६१ प्रतिशतले मर्जरले कमजोर र बलिया बैंक तथा वित्तीय संस्थाबीच मर्जर गर्नुपर्नेमा जोड दिएका थिए ।

संख्या २४ वटामा झर्दै

हाल २७ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु अहिलेसम्मको मर्जर प्रक्रियामा रहेका बैंकको मर्जर सम्पन्न भएसँगै २४ वटामा झर्ने भएको छ । यसैपनि वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७९ वैशाख मसान्तसम्म कुल २४३ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १७७ संस्थाहरुको इजाजत खारेज हुन गई ६६ संस्था कायम भएको छ ।

नबिल र एनबी पनि अगाडि बढ्दै

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्विजिसन गर्नेसम्बन्धी प्रक्रिया अगाडि बढाइसकेको छ । दुबै बैंकबीच एक्विजिसनसम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भइसकेको छ । दुबै बैंकले संयुक्त मर्जर/एक्विजिसनसम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिस गरेबमोजिम पुुस २९ गते बिहीबार सम्पन्न दुबै बैंकको सञ्चालक समितिको संयुक्त बैठकबाट उक्त एक्विजिसन (प्राप्ति)सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए ।

नबिलले एनबी बैंकलाई प्राप्ति गर्न भएको समझदारीपत्रअनुसार एनबीको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात कायम भएको दुबै बैंकले जनाएका छन् । नबिलले एनबी बैंक प्राप्ति कार्य पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । एनबी बैंकलाई प्राप्तिपश्चात् नबिल बैंकको प्राथमिक पुँजी ४३ अर्ब र चुक्ता पुँजी २२.५ अर्ब रुपियाँ पुग्नेछ ।

अन्य बैंकहरु पनि दौडमा

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफू मर्जरमा सहभागी नहुने राष्ट्र बैंकलाई बताइसकेको छ । यता  इन्भेष्टमेण्ट बैंकसँग डिमर्जर गरेर अर्को पाटनरको खोजीमा रहेको हिमालयन बैंकले आठ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी भएको सिभिल बैंकसँग छलफल गर्दैछ भने साधारणसभाबाटै मर्जरलाई प्राथमिकतामा राखेका अन्य बैंकहरु पनि सुहाउँदो पार्टनरको खोजीमा रहेको बताइन्छ ।

अहिले अधिकांश बैंकहरु मर्जरको लागि पाटर्नर खोजिरहेका छन् । ठूला बैंकहरुले धमाधम मर्जर गर्न थालेपछि साना बैंकहरु पनि दवाव महशुस गर्दै मर्जरको तयारी गरिरहेका छन् ।

प्रभु, माछापुच्छ्रे, सेञ्चुरी कमर्सियल, सनराइज बैंक, सिटिजन्स इन्टरेनेशनल, कुमारी, सिद्धार्थलगायतका बैंकहरु पनि मर्जरका लागि राम्रो पार्टनरसँगको छलफलमा छन् । सेञ्चुरी बैंकसँग छलफलमा रहेको माछापुच्छ्रे्र बैंक फेरी प्रभु बैंकसँग छलफलमा रहेको छ ।


SHARE THIS