काठमाडौँ । अघिल्लो साता निरन्तर ओरालो लागेर बन्द भएको सेयर बजारले यो साताको पहिलो दिन पनि ओरालै क्रमलाई निरन्तरता दिएको छ ।
सोमबार सेयर बजार मापक नेप्से परिसूचक १२.८९ अंकले ओरालो लागेर २०६५.८२ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.१२ अंकले ओरालो लागेर ४००.३६ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा सोमबारको नेप्से ०.६२ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.७७ प्रतिशतले ओरालो लागेको छ ।
लगातार घटिरहेको सेयर बजार पछिल्लो सात कारोबार दिनमा मात्रै १७३ अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन नेप्से ३३.७६ अंक घटेर २०७८.७० विन्दुमा झरेको थियो । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ७.१८ अंक घटेको थियो भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.८८ अंक घटेको थियो ।
सोमबार २२८ कम्पनीहरुको ४४ लाख नौ हजार ६९१ कित्ता सेयर २५ हजार ९०८ पटक खरिदबिक्री हुँदा एक अर्ब २७ करोड ३३ लख ८५ हजार २७७ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा तीन कराड रुपियाँले कमी हो ।
अघिल्लो दिन २२६ स्टकको २६ हजार ६९३ पटकको कारोबारमा एक अर्ब ३० करोड ७३ लाख रुपियाँ बराबरको ३८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो ।
सोमबार आठ करोड २४ लाख ७७ हजार रुपियाँको सेयर खरीद बिक्री भएर एशियन लाइफ सर्वाधिक कारोबार गर्ने मध्येको अगाडि रहेको छ । एनआईसी एशिया बैंक छ करोड ७७ लाख र नेपाल लाइफको चार करोड ६२ लाखको सेयर कारोबार भयो ।
सोमबार उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्तको सेयरमूल्य १५७.७० रुपियाँ बढेर प्रतिकित्ता १९३२.८० रुपियाँ र बलेफी हाइड्रोपावरको सेयर १६.८० रुपियाँ बढेर १८५.४० रुपियाँ पुगेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.४७ प्रतिशत र मिथिला लघुवित्तको सेयरमूल्य ४.३७ प्रतिशतले बढेको छ ।
मर्जरका कारण एक वर्षदेपखि रोक्का रहेर आजैदेखि कारोबार खुलेको हिमालयन बैंकको सेयरमूल्यमा नकारात्मक सर्किट लागेर ३५८.९० रुपैयाँमा झरेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरमूल्य पनि ९.९९ प्रतिशतले घटेर २६०.५० रुपैयाँमा झरेको छ ।
यसैगरी महुली लघुवित्तको सेयरमूल्य ७.६६ प्रतिशत, मनकामना स्मार्ट लघुवित्त ३.९२ र नेपाल लाइफको सेयर लगानीकर्ताले आजको बजारबाट ३.९२ प्रतिशतका दरले गुमाएका छन् ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये छ वटाको सूचक उकालो लागेको लागेको छ भने बाँकी सात वटाको सूचक ओरालो लागेको छ । जीवन बीमा सर्वाधिक २.०१ प्रतिशतले ओरालो लागेको छ भने बैंकिङ १.३२ प्रतिशतले ओरालो लागेको छ । यता विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र म्युचुअल फण्डको सूचकमा सुधार आएको छ ।
लगानीकर्ता आन्दोलनमा
सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ता आन्दोलित भएका छन् । नेपाल राष्ट्र बैंकले अस्थिर नीति ल्याएका कारण बजारमा अस्थिरता कायम भएको भन्दै लगानीकर्ताहरु अन्दोलित भएका हुन् ।
नियमन निकायहरुले गर्नुपर्ने कामहरु गर्न नसकेको भन्दै उनीहरुले नेपाल धितोपत्र बोर्डमा १९ बुँदे ज्ञापनपत्र बुझाएका छन् । सेयर बजारको लागि सहि नीति नियम लागू गरेर बजारलाई प्रकृतिक रुपमा छाडिनुपर्ने माग उनीहरुले अगाडि सारेका छन् ।
लगानीकर्ताहरुले बुझाएका १९ बुँदा माग मध्ये १३ वटा माग बोर्डबाटै सम्बोधन हुने लगानीकर्ताको भनाई छ । बाँकी मागहरु भने राष्ट्र बैंक र मन्त्रालयसँग समन्वय गरेर माग सम्बोधन गर्न सकिने पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिले जनाएको छ ।
लगानीकर्तासँग कुरा गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले आफ्नो तर्फबाट गर्न सकिने माग पुरा गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुुभयो ।
बोर्ड अध्यक्ष हमालले बजार सुधारका सम्बन्धमा लगानीकर्ताले उठाएका विषय सम्बोधनका लागि पहल गर्ने बताउँदै राष्ट्र बैंकका सम्बन्धमा बोर्डले सम्बोधन गर्न नसक्ने बताउनुुभयो ।
सबै निकायका आ–आफ्नै काम गर्ने प्रकृयाहरु रहेको भन्दै अध्यक्ष हमालले बोर्डका तर्फबाट बजार सुधारका लागि टास्क फोर्स बनाएर काम गर्ने बताउनुुभयो ।