सेयर बजार साढे १८ सयको विन्दुभन्दा तल

काठमाडौं । सुधार टिक्न नसकेपछि सेयर बजार साढे १८ सयको विन्दुभन्दा तल ओर्लेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ४५.२५ अंकले ओरालो लागेर १८४८.२८ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ७.०९ अंकले ओरालो लागेर ३६२.०९ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा पाचौं दिनको नेप्से २.३९ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि १.९१ प्रतिशतले ओरालो लागेको छ ।

लामो समयपछि मङ्गलबार एकाएक हरियाली भएको सेयर बजार फेरी ओरालो बाटोमा लागेको छ । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजार १९ औं कारोबार दिनमा सुधारिएको थियो । लगातार १८ कारोबार दिनसम्म ओरालो लागिरहेको बजार साताको तेस्रो दिन ४० अंकले सुधारिएको थियो । मङ्गलबार सुधारिए पनि बुधबार र बिहीबार पुन सेयर बजार ओरालो लयमा लागेको छ ।

बिहीबार दिनभर २३७ कम्पनीहरुको ५० लाख आठ हजार ७७१ कित्ता सेयर ३३ हजार ४६० पटक खरिदबिक्री हुँदा एक अर्ब ४९ करोड ९७ लाख नौ हजार ६३५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार नौ करोड ५३ लाख रुपियाँभन्दा बढीको सेयर कारोबार भएर कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमश: लक्ष्मी बैंक र नबिल बैंक परेका छन् ।

बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जलविद्युत उपसमूहको परिसूचक ४.११ प्रतिशतले ओरालो लागेको पाचौं दिन विकास बैंक उपसमूहको परिसूचक ३.७९ प्रतिशत, लगानी उपसमूह ३.५२ प्रतिशत, वित्त ३.४८ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS