सेयर बजारमा सुधारकै निरन्तरता, कारोबार एक अर्बभन्दा तल झर्‍यो

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको दिनदेखि उकालो लागेको सेयर बजार त्यसयताको तेस्रो दिनसम्म पनि सुधारकै बाटोमा लागेको छ ।

बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ८.०३ अंकले उकालो लागेर २२३९.६० को विन्दुमा पुुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.३९ अंकले उकालो लागेर ४३६.४७ को विन्दुमा पुुगेर रोकिएको छ । समग्रमा बिहीबारको नेप्से ०.३६ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले उकालो लागेको छ ।

केही दिनदेखि निरन्तर ओरालो लागेर २२ सयको विन्दुमा पुगेको सेयर बजार साताको दोस्रो दिनदेखि  उकालो लागिरहेको छ ।

बुधबार पनि नेप्से परिसूचक १४.३७ अंकले उकालो लागेर २२३१.५७ विन्दुमा पुगेको थियो भने  सेन्सेटिभ इण्डेक्स पनि २.४२ अंकले उकालो लागेको थियो ।

बिहीबार २२२ कम्पनीहरुको २३ लाख २४ हजार ६६५ कित्ता सेयर १८ हजार ८०८ पटक खरिदबिक्री हुँदा ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १६ करोड रुपियाँले कमी हो ।

बुधबार २६६ कम्पनीहरुको २२ हजार ३१ पटकको कारोबारमा एक अर्ब चार करोड ४६ लाख रुपियाँ बराबरको २६ लाख ९४ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो ।

बुधबार पाँच करोड ४२ लाख रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर कारोबार रकमका आधारमा  मेगा बैंक शीर्ष स्थानमा पुुगेको छ । यस्तै अरुण काबेली पावरको चार करोड चार लाख रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार मेगा बैंकको सेयरमूल्य २२ रुपियाँ ५० पैसा बढेर २४७ रुपियाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । नारायणी डेभलमेन्ट बैंकको ६.२० प्रतिशत बढेको छ भने कुमारी इक्विटी फण्डको मूल्य ५.२६ प्रतिशत बढेको छ ।

गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.४७ प्रतिशतले ओरालो लागेको बिहीबार सिंगटी हाइड्रो इनर्जी, रुरु जलविद्युत परियोजना र माउन्टेन इनर्जीको सेयरमूल्य साढे तीन प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक ओरालो लागेको छ भने बाँकी आठ उपसमूहको परिसूचक उकालो लागेको छ । बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ०.९८ प्रतिशत बढेको बिहीबार अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.८६ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS